बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
जय ट्रफी क्रिकेट प्रतियोगिता

मधेस प्रदेशसँग १२९ रनको अग्रता लिँदै पुलिस क्लबद्वारा पाली समाप्तिको घोषणा

बिहीबार, २५ पुस २०८१, ११ : ०६
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को आफ्नो दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पालीमा मधेश प्रदेशसँग एक सय २९ रनको अग्रता हासिल गरेको छ । प्रतियोगिताको दोस्रो दिन बिहीबार पुलिस क्लबले चार विकेटको नोक्सानीमा दुई सय ५८ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गर्यो । पहिलो पालीमा पुलिस क्लबका ब्याट्सम्यानहरुले ५९ ओभर ब्याटिङ गरे । 

पुलिस क्लबले तीन विकेटको नोक्सानीमा एक सय ७४ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६३ रनको योगदान गरे । उनले ६८ बलको सामना गरी १० चौका पनि हिर्काए ।  अर्का ओपनर दिलीप नाथले पनि ४० रनको योगदान गरे । उनले ७९ बलको सामना गरी चार चौका हिर्काए । कुशल र दिलीपले ओपनिङ विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । कप्तान आरिफ शेख ४० रनमा अविजित रहे ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफले ८१ बलको सामना गरी चार चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान अमित श्रेष्ठ ३५ रन बनाउँदै आउट भए । उनले ४९ बलको सामना गरी पाँच चौका प्रहार गरे ।  यसैगरी, अर्जुन साउदले टोलीको खातामा २२ रन थपे । ‘रिटायर्ड हर्ट’ भई मैदानबाट बाहिरिनुअघि उनले ३० बलमा चार चौका हिर्काए । शंकर रानाले पनि टोलीका लागि अविजित ३१ रनको योगदान गरे । सातौँ नम्बरका ब्याट्सम्यान शंकरले ३३ बलमा तीन छक्का र एक चौका हिर्काए ।

गुलसन झा भने १४ बलमा तीन छक्काको मद्दतले २० रन बनाउदै आउट भए । मधेश प्रदेशका बलर हरिशंकर साहले दुई विकेट लिए । अभिषेक तिवारी र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे । पुलिस क्लबले अतिरिक्त रुपमा पनि सात रन पायो । 
त्यसअघि, मधेश प्रदेश पहिलो पालीमा केवल एक सय २९ रन बनाउँदै अलआउट भएको थियो । मधेश प्रदेशका ब्याट्सम्यानहरु ४२.४ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । वीरगञ्जमा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशका लागि ओपनर ब्याट्सम्यान मयान यादबले उत्कृष्ट अर्धशतकीय पाली खेले । 

मयानले ५९ रन बनाएका थिए । मयानले एक सय दुई बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । १८ वर्षीय मयानले ७९ बलमा दुई छक्का र चार चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनले अघिल्लो खेलमा पनि शतक बनाएका थिए । उनी जारी जय ट्रफीमा शतक बनाउने पहिलो ब्याट्सम्यान हुन् । मयानले बागमती प्रदेशविरुद्धको खेलमा एक सय ६ रन बनाएका थिए । 

पुलिस क्लबविरुद्धको खेलमा मधेश प्रदेशका लागि निरज यादवले पनि २९ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निरजले ३४ बलमा ६ चौका पनि हिर्काए । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित १७ रन थपे । आठौँ नम्बरमा क्रिज समाल्न आएका अभिषेकले २९ बलको सामना गरी चार चौका हिर्काए । मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ब्याट्सम्यानसमेत रहेका कप्तान हरिशंकर साह नौ रन बनाउँदै आउट भएका थिए । 

कप्तान हरिशंकरले १८ बलको सामना गरी दुई चौका पनि हिर्काए । विशाल पटेल ६ रन बनाउँदै आउट भए भने साहिल पटेलले खातासम्म खोल्न सकेनन् । राहुल मण्डल एक र विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त दुई रन बनाउँदै आउट भए ।  रुपेश सिंह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । रञ्जित कुमार पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अफरुद्दिन रैन शून्य रनमै आउट भए । मधेश प्रदेशले अतिरिक्त रुपमा पनि पाँच रन पाएको थियो ।

पुलिस क्लबका बलर गुलसन झाले पाँच विकेट लिए । उनले १३ ओभरमा चार मेडन राख्दै ४० रन खर्चिए । कुशल भुर्तेलले पनि दुई विकेट हात पारे । ललित राजवंशी र श्रवण यादवले पनि एक–एक विकेट लिए ।  प्रतियोगितामा सहभागी चारवटै क्लबले एक–एक खेल खेलिसक्दा १५ अंकसहित बागमती प्रदेश पहिलो, समान अंक जोडेको मधेश प्रदेश दोस्रो र समान अंक हात पारेको पुलिस क्लब तेस्रो स्थानमा छन् । आर्मी क्लब भने १४ अंकसहित चौथो स्थानमा छ । यसअघिको दुबै खेल बराबरीमा सकिए पनि बोनस अंकका कारण आर्मी चौथो स्थानमा रहेको हो ।

नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ ।  फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो । 

जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप