बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफी क्रिकेटअघि बङ्गलादेशलाई शकिबको ‘बलिङ एक्सन’ को चिन्ता

बिहीबार, २५ पुस २०८१, १० : ४४
बिहीबार, २५ पुस २०८१

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सुरु हुने मिति नजिकिँदै जाँदा बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) भने आफ्ना प्रभावशाली बलर शकिब अल हसनको ‘बलिङ एक्सन’ को नतिजाको प्रतीक्षमा रहेको छ । 

च्याम्पियन्स ट्रफी आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदै छ । च्याम्पियन्स ट्रफीअघि बीसीबी आफ्ना दुई अनुभवी खेलाडीको विषयलाई लिएर चिन्तित देखिएको हो । शकिब अल हसनले चेन्नई टेस्टमा गरेको बलिङको शैली शङ्काको घेरामा परेको थियो ।

सोही कारणले अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का विज्ञहरु शकिब अल हसनको बलिङ एक्सनको परीक्षण गरिरहेका छन् । हालसम्म उनको बलिङ एक्सनको नतिजा आएको छैन । च्याम्पियन्स ट्रफीअघि बीसीबीका लागि यो ठुलै चिन्ताको विषय बनेको छ । 

बीसीबीले शकिब अल हसनको बलिङ एक्सनको नतिजा छिट्टै प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ । यसअघि गरिएको परीक्षणमा शकिबको बलिङ एक्सन सही नभएको पाइएको थियो । सोही कारणले उनीमाथि माथिल्लो श्रेणीको घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो ।

शकिबको बलिङ एक्सन सबैभन्दा पहिले इङ्ल्यान्डको काउन्टी प्रतियोगिता खेल्ने क्रममा शङ्काको घेरामा परेको थियो । त्यसपछि भारतविरुद्ध चेन्नईमा खेलिएको टेस्टमा पनि उनको बलिङ एक्सनको विषयलाई लिएर प्रश्न उठेको थियो । त्यसपछि आईसीसीले परीक्षण सुरु गरेको थियो । 

यसका अतिरिक्त, अर्का अनुभवी खेलाडी तामिम इक्वालको विषयले पनि बीसीबीलाई चिन्तित बनाएको छ । तामिम इक्वालले च्याम्पियन्स ट्रफी खेल्ने वा नखेल्ने विषयमा हालसम्म जवाफ दिएका छैनन् । बीसीबी अहिले उनको जवाफको प्रतीक्षामा छ । 

तामिम हाल बङ्गलादेश प्रिमियर लिगमा फच्र्युन बारिशल टोलीको कप्तानको भूमिकामा छन् । हालै बङ्गलादेशी टोलीका मुख्य चयनकर्ता गाजी अशरफ हुसैनले पनि तामिमसँग भेट गरेका थिए । तर, उनले हालसम्म स्पष्ट जवाफ भने फर्काएका छैनन् । 

खासमा, तामिमले सन् २००३ को जुलाईमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । तर, बंगलादेशकी तात्कालिन प्रधानमन्त्री शेख हसिनाको सुझावपछि उनले तत्कालै आफ्नो सन्न्यास फिर्ता पनि लिएका थिए ।

उनले सन्न्यास फिर्ता लिएपछि बङ्गलादेशी क्रिकेटमा आपसी मतभेद पनि सुरु भएको थियो । सोही कारणले उनले कप्तानी पनि छाडेका थिए । आईसीसी एकदिवसीय विश्वकपअघि उनले न्युजिल्यान्डविरुद्ध दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए ।

तर, उनलाई भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपका लागि घोषित टोलीमा भने स्थान दिइएको थिएन । त्यसपछि उनले बङ्गलादेशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् । उनी पछिल्लो समय उनी बीसीबीसँग रुष्ट देखिएका छन् । 

आईसीसीले च्याम्पियन्स ट्रफीमा सहभागी राष्ट्रलाई आफ्नो टोलीको घोषणा गर्न जनवरी १२ तारिखसम्मको समय तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप