उपत्यकामा उत्पादित सागमा अत्यधिक विषादी, जोगिन के गर्ने ?
काठमाडौँ । पछिल्लो समय सागजन्य तरकारीमा समेत विषादीको प्रयोग अत्यधिक हुन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा उत्पादित सागजन्य तरकारीमा विषादीको प्रयोग बढी भेटिएको छ । कालीमाटी तरकारी बजार विकास समितिले दैनिकरुपमा परीक्षण गर्ने रिपोर्टमा रायो, भाजी, जिरी, मार्फा, पाकुचा लगायत सागमा विषादी भेटिएको हो ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले बुधबार (पुस २४ गते) १४ वटा नमुना परीक्षण गर्दा ४ वटा सागजन्य तरकारीको नमुनामा विषादी भेटाएको छ । भक्तपुर क्षेत्रमा उत्पादन गरिएका जिरी र पाकुजा सागमा क्रमशः ८८.८४० प्रतिशत र ५४.८६४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी पाइएको छ ।
यस्तै, काठमाडौँ क्षेत्रमा उत्पादन भएका मार्फा सागमा ८३.६६३ प्रतिशत र भाजी तथा रायोको सागमा ९९.२३३ प्रतिशत अर्गानोफस्फेट विषादी पाइएको छ ।
समितिले पुस २३ गते ती सागहरूमा कार्बामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको जनाएको छ । उक्त सागमा ५५.६१९६ प्रतिशत कार्बामेट र ७५.५५१ प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको थियो ।
यसअघि पुस २२ गते पनि भक्तपुरबाट कालीमाटी तरकारी बजार पुगेको रायोको सागमा ९९.३८०९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो ।
बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी भए खान अयोग्य मानिन्छ ।
तरकारीमा देखिएको विषादीबारे छलफल भइरहेको समितिले दाबी गरेको छ । किसान र प्रयोगशालासँग समन्वय गरी उत्पादकलाई सचेत गराउने समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले बताए । ‘हामीले केन्द्रीय प्रयोगशालासँग समन्वय गरेका छौँ,’ उनले भने, ‘स्थानीयस्तरमा रहेका कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर किसानलाई सचेत गराउँछौँ ।’
पाँच वर्षमा विषादी आयात ४६ प्रतिशतले वृद्धि
महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ ले नेपालमा पाँच वर्षमा विषादी आयात र पञ्जीकरण बढेको देखाएको छ । पछिल्लो पाँच वर्षमा विषादी पञ्जीकरणको संख्या ८६.८३ र आयातको परिमाण ४६.३ प्रतिशतले बढेको छ । यसरी विषादी आयात र पञ्जीकरणमा वृद्धि हुनु भनेको विषादीको प्रयोग बढ्नु नै हो ।
आर्थिक वर्ष २०७५/७६ मा ८ लाख ९ हजार ९३ केजी विषादीको आयातबाट ९५ करोड ६१ लाख ४९ हजार रुपैयाँ बाहिरिएको थियो । २०७६/७७ मा ६ लाख ८१ हजार ६२७ केजीको विषादी आयात भयो । जसमा ७९ करोड ३८ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ८३ हजार ३४३ केजी विषादी आयात हुँदा १ अर्ब ६ करोड १८ लाख २३ हजार रुपैयाँ बाहिरिएको सरकारी तथ्याङ्क छ ।
आव २०७८/७९ मा ११ लाख ३५ हजार ५०४ केजी विषादी मुलुक भित्रिएको छ । जसको लागि १ अर्ब ६२ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै आव २०७९/८० मा ११ लाख ८३ हजार ७ सय ४१ केजी विषादी भित्रिँदा १ अर्ब ६९ करोड ६३ लाख ६१ हजार रुपैयाँ देशबाट बाहिरिएको छ । पछिल्लो केही वर्षको यो प्रवृत्तिले एकातिर विषादीका नाममा ठूलो रकम बाहिर गएको देखिन्छ भने अर्कोतिर जनस्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पारेको छ ।
स्वास्थ्यमा गम्भीर समस्या
विषादी प्रयोग गर्दा बालीनालीका कीरा तथा रोग निर्मूल भएर बालीनाली सप्रिन्छ । तर यसको प्रयोगले मानव स्वास्थ्य र जीवनमा भने व्यापक हानि पुर्याइरहेको छ । जानकारहरूका अनुसार बालीनालीमा हालिने विषादी खानेकुरा, श्वासप्रश्वास, छाला लगायत विभिन्न माध्यमबाट मानिसको शरीरमा पुग्छ । यसको तत्कालै ठुलो असर नदेखिए पनि कालान्तरमा गम्भीर समस्या निम्त्याउने चिकित्सकहरू बताउँछन् ।
क्यान्सर रोगका कारण प्रत्येक दिन ४० जना नेपालीको मृत्यु हुने गरेको छ । यसमध्ये दैनिक १२ देखि १४ जनालाई खानपानकै कारण क्यान्सर हुने विज्ञहरू बताउँछन् । यसमा कृषि उत्पादनमा विषादीको प्रयोगको कारणले हुने क्यान्सर उत्तिकै रहेको चिकित्सकले बताएका छन् ।
जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा विभिन्न रोग बढ्दै जानु विषादीकै असर हो कि भनेर अनुमान लगाउने प्रशस्त स्थान रहेको बताएका छन् । किड्नी फेलियर, मिर्गौलासम्बन्धी रोगहरूमा पनि विषादीको असर हुन सक्ने उनले बताए ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा. कृष्णसागर शर्माले तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी क्यान्सरको कारण हुन सक्ने बताएका छन् । उनले क्यान्सर गराउने विभिन्न कारणमध्ये विषादी पनि एक कारण हुन सक्ने बताए । ‘हामीले सन्तुलित खाना भन्छौँ । विषादी प्रयोग भएका खानालाई सन्तुलित खानामा लिइँदैन । यसमा अर्ग्यानिक खानामात्रै पर्छ,’ उनले भने ।
जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा विभिन्न रोग बढ्दै जानु विषादीकै असर हो कि भनेर अनुमान लगाउने प्रशस्त स्थान रहेको बताएका छन् । किड्नी फेलियर, मिर्गौलासम्बन्धी रोगहरूमा पनि विषादीको असर हुन सक्ने उनले बताए । ‘नेपालमा अहिले किड्नी फेलियरको संख्या बढेको छ,’ उनले भने, ‘त्यसकारण यी रोगमा विषादीको असर छ कि भनेर अध्ययन हुनुपर्छ ।’
डा. वन्तले विषादीयुक्त खाद्यपदार्थ सेवनले दीर्घकालीन असर पार्ने, तर ‘फुड पोइजनिङ’ हुँदा तत्काल असर देखिने बताए । ‘कुनै विषादीको असर लामो समयपछि देखिन्छ । विषादी प्रयोग भएको खाद्यपदार्थ लामो समयसम्म सेवन गरियो भने असर बिस्तारै देखिन सक्छ,’ उनले भने, ‘यस कारण हामीले विषादीबारे सतर्कता अपनाउँदैनौँ, तुरुन्तै असर देखिने भए हामीले सतर्कता अपनाउने थियौँ होला ।’
विषादीका कारणले क्यान्सर, रगतसम्बन्धी रोग हुनसक्ने जनस्वास्थ्यविद् डा. शरद वन्तले बताए । यसका साथै नशा, छाला र श्वासप्रश्वाससँग सम्बन्धित रोग समेत हुन सक्ने उल्लेख गरे । ‘विषादीका बहुआयामिक असर छन्,’ उनी भन्छन्, ‘विषादीको असर लामो समय पर्दा वंशाणुगत रोग बन्ने खतरा रहन्छ अर्थात् अर्को पुस्तालाई समेत प्रभाव पार्ने हुन्छ ।’
सतर्कता कसरी अपनाउने ?
विषादीबाट जोगिनका लागि उत्पादकदेखि उपभोक्ता सबै सतर्कता हुनुपर्ने जानकारहरू बताउँछन् । उत्पादकले सकेसम्म विषादी प्रयोग गर्न नहुने यदि प्रयोग गर्नेपर्ने भएमा हरियो र नीलो लेबल भएको विषादी प्रयोग गर्नुपर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जनाएको छ ।
नेपालले विषादीको असरबारे आफैँले अध्ययन गर्न नसके पनि बाहिरी मुलुकमा भइरहेको अध्ययनका आधारमा सतर्कता अपनाउनु पर्ने डा. वन्तले बताए । उनले भने, ‘बढ्दो विषादीको प्रयोगबाट जोगिन सबै तहका सरकार, उत्पादक, उपभोक्ता सबै सतर्क रहनुपर्ने देखिएको छ ।’
नार्कले विषादी प्रयोगपछि प्रयोग गर्न मिल्ने समयसम्म कुरेर मात्रै बजारमा लैजाने वा उपभोग गर्न सुझाएको छ । उपभोक्ताले विषादी प्रयोग भएको शंका लागेको मनतातो पानीले पखलेर वा नूनपानीमा केही समय तरकारी भिजाएर प्रयोग गनुपर्ने नार्कको सुझाव छ ।
नेपालले विषादीको असरबारे आफैँले अध्ययन गर्न नसके पनि बाहिरी मुलुकमा भइरहेको अध्ययनका आधारमा सतर्कता अपनाउनु पर्ने डा. वन्तले बताए । उनले भने, ‘बढ्दो विषादीको प्रयोगबाट जोगिन सबै तहका सरकार, उत्पादक, उपभोक्ता सबै सतर्क रहनुपर्ने देखिएको छ ।’