बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म

बिहीबार, २५ पुस २०८१, ०० : १५
बिहीबार, २५ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. राप्रपामा ‘कार्ड पोलिटिक्स’
राजावादी दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजधानीको भृकुटीमण्डपमा ३०३ औँ पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले चाहिँ बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा चियापन कार्यक्रमको आयोजना गरेका छन् । 

२.अदालतमा अन्जला
मोरङको धनपालथान–४, कर्सियामा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुधबार अदालतमा हाजिर हुन पुगेकी सञ्चालक अन्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर बुधबार नै थुनामुक्त भएकी छन् ।

३. अन्योलमा टीआरसी
सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रक्रिया अन्योलमा परेपछि पीडितहरूले राजनीतिक नेतृत्वमाथि प्रश्न उठाएका छन् । द्वन्द्वकालमा पीडित भएकाको परिवारले विस्तृत शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि किन यो प्रक्रिया टुङ्गोमा पुगेन र यसमा कसको दोष हो भन्ने प्रश्न उठाएका हुन् ।

४.सहकार्यको ढोका बन्द 
मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले एकै दिन पुस २१–२३ं केन्द्रीय समिति बैठक सुरु गरेर एकै दिन समापन पनि गरे । एमाले बैठकमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओली र माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्ना राजनीतिक प्रतिवेदन पेस गरे । 

५. दुर्गा प्रसाईंको बयान
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना समर्थक परिचालन गरेर व्यवसायी पवन कुमार गोल्यान र दीपेन्द्र अग्रवाललाई धम्की दिएको आरोप अस्वीकार गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई)का अनुसन्धान अधिकृतहरूसँगको बयानमा उनले सो कुरा अस्वीकार गरेका हुन् । 

६. पाइपलाइन विस्तार
नेपाल आयल निगमले पेट्रोल र मटितेल पनि पाइपलाइनबाट ल्याउने तयारी गरिरहेको छ । हाल डिजेल आयात भइरहेको मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनबाट पेट्रोल र मटितेल पनि ल्याउनका लागि परीक्षण गरिरहेको निगमले जनाएको छ ।

७. जस्टिन ट्रुडोको राजनीतिक जीवन
क्यानडाको उदारवादी पार्टीका नेता एवं प्रधानमन्त्री जस्टिन ट्रुडोले गएको सोमबार पार्टी प्रमुख तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिए । उनको पार्टीले अर्को नेताको नाम छनोट नगर्दासम्म उनी दुवै पदमा कामचलाउ भूमिकामा रहनेछन् । 

८. सहकारी ठगी प्रकरण
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी कास्की अदालतमा विचाराधीन मुद्दामा बिहीबार आदेश आउने सम्भावना बढेको छ । बुधबार नै जाहेरवालाका वकिलहरूले जवाफी बहस सकेका छन् । बिहीबार सरकारी वकिलहरूले बहस गरेपछि साँझसम्म आदेश आउन सक्ने स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

९. कर्णाली प्रदेश
दैलेखका दलबहादुर शाही ४० वर्षको हुँदा पहिलो पटक कर्णालीमा बिजुली निकाल्ने कुरा सुनेका थिए । यो ०४५ सालतिरको कुरा हो ।

१०. माओवादीमा अन्तर्विरोध
माओवादी केन्द्रको वैचारिक तथा सांगठनिक अन्तर्विरोध अस्थायी रूपमा हल भएको छ । केन्द्रीय समितिको यही पुस २१ देखि २३ गतेसम्म धुम्बाराहीमा चलेको बैठकले अन्तर्विरोध आगामी महाधिवेशनबाट टुंग्याउने गरी समाधानको विकल्प खोजेको हो । 

११. खुम्बु क्षेत्रमा भूकम्पको परकम्प
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका परकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन् । 

१२. जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
जापानको मौसम एजेन्सीले जापान सागरको तटीय क्षेत्रमा भारी हिमपातको पूर्वानुमान गरेको छ । बिहानदेखिको निगाता प्रान्त, होकुरिकु र तोहोकु क्षेत्र तथा गिफु प्रान्तमा ७० सेन्टिमिटरसम्म हिउँ परेको छ भने चुगोकु क्षेत्रमा ५० सेन्टिमिटर, होक्काइडोमा ४० सेन्टिमिटर, होक्काइडोमा ३५ सेन्टिमिटरसम्म हिउँ परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप