हिउँदे अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छ : कानुन मन्त्री
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले संसद्को आगामी हिउँदे अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताएका छन् ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री चौरसियाले संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको बताएका हुन् ।
उनले भने, ‘गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृह मन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’
यसअघि सङ्घका अध्यक्ष डा.बद्री केसीले संविधानको धारा १४ मा प्रस्ट व्यवस्था भएको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने भन्ने भावना अनुसार नागरिकता प्रदान गरिसकिएको भए पनि त्यसको कार्यान्वयन नभएकोले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकार नेपाली नागरिक सरह नै प्रयोग गर्न पाउने गरी कानुनी प्रक्रिया अघि बढाइदिन लागि अनुरोध गरेका थिए ।
अध्यक्ष डा.केसीले गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरूलाई गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन पनि अनुरोध गरे । उक्त अवसरमा अध्यक्ष डा.केसीले पुस्तौँदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराएका थिए ।
जवाफमा मन्त्री चौरसियाले भने, ‘पुस्तौँदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाल, नेपाली भाषा, र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल भइरहेको छ । उहाँहरूले नेपाली मूलको हुँ भन्ने परिचय माग्दै आउनुभएको छ, त्यस्तो परिचयपत्र दिन आवश्यक पर्ने कानुनी प्रावधानबारे हामी छलफलमा छौँ । र झन्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको छ ।’
सो अवसरमा सङ्घका तर्फबाट गैरआवासीय नेपाली नागरिकता बहाल व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि मन्त्रालयमार्फत अध्यागमन विभागद्वारा कार्यान्वयनको लागि पहल गरिदिन, गैरआवासीय नेपाली नागरिकलाई सवारी साधन खरिद र सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि आवश्यक कानुन निर्माणका लागी पहल गरिदिन, नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकले समेत नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने व्यहोरा सहित कम्पनी रजिस्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, नेपाल
सरकारद्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरूलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने भएको हुनाले उनीहरूलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधाका लागि कानुनी रूपमा सहजीकरण गरिदिन समेत अनुरोध गरिएको छ ।
जवाफमा मन्त्री चौरसियाले यी सबै विषयवस्तु समेट्ने गरी झन्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको बताए । सो अवसरमा मन्त्रालयका तर्फबाट सचिव उदयराज सापकोटा सहसचिव अरुणा जोशी तथा सङ्घका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना समेत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
-
त्रिभुवन विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
-
एलन मस्कका पिता भन्छन्– ‘मेरो छोरा इङ्लिस क्लब लिभरपुल किन्न चाहन्छ’
-
कुश्माको 'द क्लिफ'मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ को सफल परीक्षण
-
अपराध अनुसन्धान : कसरी चल्छ सत्ताको हैकम ?
-
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने