अदालतमा अन्जला : हाजिर भएकै दिन बयान र थुनछेक बहस सकेर थुनामुक्त
विराटनगर । मोरङको धनपालथान–४, कर्सियामा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुधबार अदालतमा हाजिर हुन पुगेकी सञ्चालक अन्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर बुधबार नै थुनामुक्त भएकी छन् ।
सहकारीको ठगी प्रकरणमा जोडिएकी अन्जला बुधबार बिहान सुटुक्क अदालतमा हाजिर भएकी थिइन् । गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अन्जलासहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । पुस ३ गते अदालतले अन्जलाका विरुद्ध ३५ दिने हदम्याद जारी गरेको थियो ।
हदम्याद जारी गरेको २१ दिनसम्म फरार रहेकी उनी बुधबार बिहान कार्यालय समय (१० बजे) सुरू भएलगत्तै मोरङ जिल्ला अदालतमा उपस्थित भइन् । उनी उपस्थित भएलगत्तै अदालतले पेसी तोक्यो । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा झण्डै २ घण्टा उनको बयान लिइयो ।
अदालतमा दिएको बयानमा अन्जलाले आफू सञ्चालक समिति सदस्य पदमा रहेको र २०७८ माघ १५ गतेको दशौँ साधारणसभाले आफ्नो राजीनामा स्वीकृत भएको जिकिर गरिन् । सोही आधारमा उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू र व्यक्तिहरूसँग भएका वित्तीय कारोबारमा आफ्नो कुनै पनि दायित्व नरहने दाबी गरिन् । उक्त साधारणसभाको निर्णयपछि पाएको पत्र देखाउँदै अन्जलाले सहकारीको कुनै निर्णय लगायत कुनै पनि कागजातमा सहीछाप समेत नगरेको बताइन् ।
बयान लगत्तै थुनछेक बहस सुरु भयो । बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुदर्शन निरौला एक जनाले मात्रै बहस गरे । प्रतिवादी अन्जलाको तर्फबाट भने बहस गर्न कानुन व्यवसायीहरूको ताँती नै लाग्यो । उनको पक्षमा बहस गर्नेमा वरिष्ठ अधिवक्ताहरू चुडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सिताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल, हेमराज पन्त र अधिवक्ताहरू साहस आचार्य, रिता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मुना वस्ती, हरिशंकर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिना थिए ।
बहसपछि अदालतले गरेको आदेशमा ‘निजलाई हाल थुनामा नै राखी कारबाही गरिरहने पर्ने नदेखिएकाले हाललाई यी प्रतिवादी अन्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम १० लाख रुपैयाँ नगद धरौटी वा जेथा जमानत वा बैंक जमानत दिए लिइ तारेखमा राख्नू । नदिए सोही कारण जनाइ सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिइ नियमानुसार सिदा खान पाउने गरी मुद्दा पुर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय मोरङमा पठाइदिनू भनी सोही संहिताको दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ,’ भनिएको छ ।
अदालतको आदेश लगत्तै अन्जलाले आफ्ना सहयोगीमार्फत १० लाख रुपैयाँ नगद नै बुझाएको स्रोत बताउँछ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसमेत रहेकी कोइराला धरौटी बुझाएर थुनामुक्त भए पनि सोही प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । उनी नेपाली कांग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।
सोही मुद्दामा नेकपा एमालेबाट निर्वाचित रंगेली नगरपालिका वडा नम्बर २ का बहालवाला वडाध्यक्ष सन्तलाल खवासलाई भने अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् ।
दायर भएको अभियोगपत्र अनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ ।
उमागौरी कृषि सहकारीमा ८ हजार ८४२ जना सेयर सदस्य थिए । सेयर बापत ३ करोड ८ लाख ९० हजार रुपैयाँ रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ । अदालतमा मुद्दा दायरपछि विराटनगरको विराट रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यथास्थितिमा वायुसेवा निगम सञ्चालन सम्भव छैन : पूर्वमन्त्री किराती
-
ट्रम्पको शपथ ग्रहण समारोहका लागि चन्दा दिने होडबाजी, अहिलेसम्म उठिसक्यो १७ करोड डलर
-
अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने, शुल्क लिन नपाउने
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
सूर्यदर्शन सहकारी बचत रकम अपचलन प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो
-
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ