ब्याट्सम्यानहरु लयमा देखिएपछि मधेस प्रदेशसँग ४५ रनको अग्रता लियो पुलिस क्लबले
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को आफ्नो दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेस प्रदेशको टोलीसँग पहिलो पालीमा ४५ रनको अग्रता हासिल गरेको छ । पहिलो दिन बुधबारको खेल सकिँदासम्म पुलिस क्लबले आफ्नो पहिलो पालीमा तीन विकेट गुमाएर एक सय ७४ रन बनाएको छ ।
पुलिस क्लबले पहिलो पालीमा ४० ओभर ब्याटिङ गरेको छ । पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६३ रनको योगदान गरे । उनले ६८ बलको सामना गरी १० चौका पनि हिर्काए । अर्का ओपनर दिलीप नाथले पनि ४० रनको योगदान गरे ।
उनले ७९ बलको सामना गरी चार चौका हिर्काए । कुशल र दिलीपले ओपनिङ विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान अमित श्रेष्ठ ३४ रनमा अविजित छन् । उनले ४६ बलमा पाँच चौका प्रहार गरिसकेका छन् ।
गुलसन झा भने १४ बलमा तीन छक्काको मद्दतले २० रन बनाउदै आउट भए । कप्तान आरिफ शेख अविजित १३ रन बनाउँदै क्रिजमा छन् । मधेश प्रदेशका बलर हरिशंकर साहले दुई र अभिषेक तिवारीले एक विकेट लिए ।
त्यसअघि, मधेस प्रदेश पहिलो पालीमा केवल एक सय २९ रन बनाउँदै अलआउट भएको थियो । मधेस प्रदेशका ब्याट्सम्यानहरु ४२.४ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । वीरगञ्जमा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेस प्रदेशका लागि ओपनर ब्याट्सम्यान मयान यादवले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
मयानले ५९ रन बनाएका थिए । मयानले एक सय दुई बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । १८ वर्षीय मयानले ७९ बलमा दुई छक्का र चार चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए । उनले अघिल्लो खेलमा पनि शतक बनाएका थिए । उनी जारी जय ट्रफीमा शतक बनाउने पहिलो ब्याट्सम्यान हुन् । मयानले बागमती प्रदेशविरुद्धको खेलमा एक सय ६ रन बनाएका थिए ।
पुलिस क्लबविरुद्धको खेलमा मधेश प्रदेशका लागि निरज यादवले पनि २९ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निरजले ३४ बलमा ६ चौका पनि हिर्काए । अभिषेक तिवारीले पनि टोलीको खातामा अविजित १७ रन थपे ।
आठौँ नम्बरमा क्रिज समाल्न आएका अभिषेकले २९ बलको सामना गरी चार चौका हिर्काए । मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर ब्याट्सम्यानसमेत रहेका कप्तान हरिशंकर साह नौ रन बनाउँदै आउट भएका थिए ।कप्तान हरिशंकरले १८ बलको सामना गरी दुई चौका पनि हिर्काए । विशाल पटेल ६ रन बनाउँदै आउट भए भने साहिल पटेलले खातासम्म खोल्न सकेनन् । राहुल मण्डल एक र विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्त दुई रन बनाउँदै आउट भए ।
रुपेश सिंह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । रञ्जित कुमार पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । अफरुद्दिन रैन शून्य रनमै आउट भए । मधेस प्रदेशले अतिरिक्त रुपमा पनि पाँच रन पाएको थियो । पुलिस क्लबका बलर गुलसन झाले पाँच विकेट लिए । उनले १३ ओभरमा चार मेडन राख्दै ४० रन खर्चिए । कुशल भुर्तेलले पनि दुई विकेट हात पारे । ललित राजवंशी र श्रवण यादवले पनि एक–एक विकेट लिए ।
प्रतियोगितामा सहभागी चारवटै क्लबले एक–एक खेल खेलिसक्दा १५ अंकसहित बागमती प्रदेश पहिलो, समान अंक जोडेको मधेस प्रदेश दोस्रो र समान अंक हात पारेको पुलिस क्लब तेस्रो स्थानमा छन् । आर्मी क्लब भने १४ अंकसहित चौथो स्थानमा छ । यसअघिको दुबै खेल बराबरीमा सकिए पनि बोनस अंकका कारण आर्मी चौथो स्थानमा रहेको हो ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ ।
क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान
-
‘सत्ताधारीले अहिले कसैलाई टार्गेट गरेमा अर्को पनि सरकार आउँछ’
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?