बियरको बोतलबाट पनि गीतको धुन बनाउने आरडी बर्मन
नयाँ दिल्ली । सन् १९६९ को विश्व इतिहासमा विशेष स्थान रहेको छ । सन् १९६९ जुलाई २० मा निल आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला राखेका थिए ।
यसै वर्ष बोइङ ७४७ ले आफ्नो पहिलो उडान भरेको थियो भने पहिलो एटीएम मेसिन रकभिल, न्यूयोर्कमा स्थापना गरिएको थियो । चर्चित साङ्गीतिक समूह बिटल्सले आफ्नो अन्तिम सार्वजनिक प्रस्तुति यही वर्ष दिएको थियो ।
यो त्यो समय थियो जब लामो कपाल र रङ्गीन जिन्स लगाएका हिप्पी पुस्ताले संसारको बाटो बदलिरहेको थियो ।
यो त्यही वर्ष थियो जब राजेश खन्ना, किशोर कुमार र राहुल देव (आरडी) बर्मनको त्रिकुट भारतीय चलचित्र सङ्गीतको नयाँ परिभाषा सिर्जना गर्न लागेका थिए । फिल्म ‘कटी पतंग’ मा राहुल देव बर्मनको संगीतले देशैभर हलचल मच्चाएको थियो । पहिलो पटक, फिल्म संगीतमा साम्बा, क्यालिप्सो, ज्याज र भारतीय शास्त्रीय सङ्गीतको शक्तिशाली मिश्रण प्रयोग गरिएको थियो ।
‘कटि पतंग’ को सफलताबाट प्रभावित भएर शक्ति सामन्तले बर्मन जुनियरलाई आफ्नो अर्को फिल्म ‘अमर प्रेम’ को लागि साइन गरे, जसमा उनले उत्कृष्ट सङ्गीत दिएका थिए ।
अनिरुद्ध भट्टाचार्य र बालाजी विट्टलले आफ्नो पुस्तक ‘आरडी बर्मन द म्यान, द म्युजिक’ मा लेखेका छन्, ‘पञ्चमले एकपटक आफ्नो बुबालाई ‘बेला बोय जाये’ गाएको सुनेको बताएका थिए । त्यो धुन उनको दिमागमा प्रवेश गरेको थियो । त्यहीबाट प्रभावित भएर उनले ‘रैना बीती जाए’ को सङ्गीत बनाएका थिए । जब मदनले मोहनले लता मंगेशकरलाई पहिलोपटक यो गीत गाएको सुने, उनले एसडी बर्मनलाई फोन गरेर गीतका लागि बधाई दिए । जब एसडीले यो धुन आफूले नभई छोरा पञ्चमले बनाएको कुरा स्पष्ट गरे, मदन मोहनले पत्याउन सकेनन् ।
‘प्रसिद्ध गायिका आरती मुखर्जीले धारवाडमा शास्त्रीय संगीतका दिग्गज मालिकार्जुन मन्सुरलाई ‘रैना बीती जाए’ गुनगुनाएको सुनेकी थिइन् । जब मन्सुरले उनको अनुहारमा आश्चर्यको भाव देखे, उनले भने, ‘एसडीका छोराले यो गीतमा यति राम्रो सङ्गीत दिएका छन् ।’
- ‘दम मारो दम’ ले आरडी बर्मनलाई स्थापित गर्यो
पञ्चमको अर्को ठुलो ब्रेक देवानन्दको फिल्म ‘हरे रामा हरे कृष्ण’ थियो । यसअघि देवानन्द उषा उथुपलाई ‘दम मारो दम’ गीत गवाउन चाहन्थे ।
देवानन्दले सन् १९६९ मा दिल्लीको ओबेरोय होटलमा उषा उथुपको गीत सुनेका थिए । पछि आरडीले आशा भोस्लेलाई त्यो गीत गाउन लगाए । यस गीतका धेरै संस्करणहरू रेकर्ड गरियो र फिल्ममा टुक्राहरूमा प्रयोग गरियो । हिप्पी पुस्ताले यो गीत अँगाले ।
चाखलाग्दो कुरा के छ भने, यो फिल्म पहिले एसडी बर्मनलाई अफर गरिएको थियो तर उनी यस फिल्मको विषयवस्तुबाट खासै प्रभावित भएनन् । त्यसपछि देवानन्दले यस फिल्मको सङ्गीत दिन पञ्चमलाई रोजे ।
उनले पनि दुई सातामै फिल्मको सङ्गीत पूरा गरे । यहीँबाट पञ्चमको करियरले जबरजस्त उडान लियो ।
राहुल देव बर्मनको पहिलो फिल्म ‘छोटे नबाब’ भए पनि त्यसभन्दा धेरै वर्षअघि ‘प्यासा’ मा आफ्नो बुवालाई असिस्ट गर्दा उनले त्यही फिल्मको चर्चित गीत ‘सर जो तेरा चकराए’ को ट्युन बनाएका थिए । यो गीतले त्यही वर्षको बिनाका गीतमालामा दोस्रो स्थान पायो ।
- पण्डित समता प्रसादबाट तबला र अलि अकबर खानबाट सरोद बजाउन सिके
सुरुमा एसडी बर्मनले छोराको नाम ‘तब्लू’ राखेका थिए । धेरै वर्षपछि मात्र उनलाई ‘पञ्चम’ भनिन थालियो ।
एउटा कथा प्रसिद्ध थियो, उनका बुबाले जहिले पनि ‘सा’ सुर प्रयोग गर्थे, राहुलले सधैँ ‘पा’ सुर प्रयोग गर्थे । जसका कारण चर्चित अभिनेता अशोक कुमारले उनको नाम ‘पञ्चम’ राखे । पञ्चम बाल्यकालमा निकै फुर्तिलो र निडर थिए ।
अनिरुद्ध भट्टाचार्य र बालाजी विट्टल लेख्छन्, ‘एकपल्ट उडिसाको गोपालपुर भ्रमणको क्रममा समुद्रमा नुहाउने क्रममा एउटा सर्प उनको खुट्टामा बेरिएको थियो । बिना डर उनले सर्पलाई आफ्नो खुट्टाबाट छुट्याएर मारे । एउटै कुराले उनी धेरै डराउँथेँ, त्यो भनेको घरको भित्तामा हिँडिरहेको छेपारो थियो ।’
‘स्विमिङ उनको मन पर्ने गतिविधि थियो । यसले उनको दम निको मात्र भएन, सासलाई नियन्त्रण गर्न पनि सिकायो । उनी पढाइमा भने अब्बल थिएनन् । उनी दुई पटक फेल भई बल्लीगञ्ज सरकारी विद्यालयमा पढाइ छाड्नुपरेको थियो । असफल भएको दिन उनका बुबा एसडी बर्मनले उनलाई ‘रेले’ को साइकल उपहार दिए । उनले त्यतिबेला नै आफ्नो छोरा सङ्गीतको क्षेत्रमा लाग्ने मन बनाइसकेका थिए ।’
त्यसपछि आरडी बर्मनले पण्डित समता प्रसादबाट तबला र अलि अकबर खानबाट सरोद बजाउन सिके । उनले माउथ अर्गन आफैँ बजाउन सिके ।
- बिहान ४ बजे उठेर धुन फाइनल
सन् १९६० को दशकमा सुरु भएको राजेश खन्नाको क्रेज सन् १९७० को मध्यमा अमिताभ बच्चनको उदयसँगै ओरालोमा पुगेको थियो । जब पञ्चमले पहिलो पटक राजेश खन्नाको फिल्म ‘मेरे जीवन साथी’ को लागि ‘ओ मेरे दिल के चेन’ गीत रचना गरे, यसलाई निर्माता हरीश शाह र राजेश खन्ना दुबैले अस्वीकार गरेका थिए ।
फिल्मफेयरको सेप्टेम्बर ७, १९७३ को अंकमा प्रकाशित ‘अल फर ए सङ’ शीर्षकको आफ्नो लेखमा वी श्रीधरले लेखेका छन्, ‘ओ मेरे दिल के चेनको धुन आरडीको दिमागमा यति गाँसिएको थियो कि उनी बिहान चार बजे उठे । त्यो धुन मेरो क्यासेट रेकर्डरमा रेकर्ड गरे र धुन फाइनल गर्न आफ्नो सङ्गीत कोठामा गए ।’
सन् २००८ मा, पञ्चमको जन्मदिनको उत्सवमा, जब उनका सहकर्मी मनोहरि सिंहलाई पञ्चमको सङ्गीतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्ने गीत बजाउन भनियो, उनले आफ्नो सेक्सोफोनमा ‘ओ मेरे दिल के चेन’ नै बजाए ।
- बियरको बोतलबाट बनेको सङ्गीत
पञ्चमका साथी भानु गुप्ताले पनि उनको सङ्गीतको रोचक कथा सुनाए ।
अनिरुद्ध भट्टाचार्य र बालाजी भिट्टल लेख्छन्, ‘भानु गुप्ताका अनुसार एक दिन उनी पञ्चमको म्युजिक रुममा बसेर गितारको तार मिलाइरहेका थिए । त्यतिबेला पञ्चम बाथरुममा नुहाउँदै थिए । अचानक उनले ढोकाबाट टाउको बाहिर निकालेर भने, ‘बजाते थाको, थामो ना (बजाइराख, नरोक) ।’
‘जब उनी बाथरुमबाट बाहिर निस्किए, उनले मेरो गिटारको तारबाट निस्केको आवाजसँग मिल्दोजुल्दो धुन गुनगुनाउँदै थिए । त्यो लाइन थियो, ‘मुझे चले जाना है’ । पछि उनले गीतको पहिलो दुई लाइनको म्युजिक दिए । यसरी गीतको तेस्रो लाइनको सङ्गीत पहिले बन्यो र सुरुवातको लाइनको पछि । गीतको पहिलो लाइन थियो, ‘मुसाफिर हुँ यारोँ ।’
रणधीर कपुर यस्तै कथा सुनाउँछन्, ‘एक दिन जब म पञ्चमको घरमा पसेँ, मैले उनी र उनको सहयोगीले आधा भरिएको बियरका बोतलहरू फुकिरहेको देखेँ । एक मिनेटको लागि, मलाई ऊ पागल हो जस्तो लाग्यो । जब मैले उनलाई के गरेको भनेर सोधें । उनले नयाँ तरिकाको आवाज बनाउने कोसिस गरिरहेको बताए । यो त्यो आवाज थियो जुन ‘मेहबुबा मेहबुबा’ गीतको शुरुवातमा सुनिन्छ । रेकर्डिङको क्रममा यस्तो आवाज सिर्जना गर्ने जिम्मेवारी बासु चक्रवर्तीलाई दिइएको थियो । साथै परकसनका रूपमा रबाब र उल्टो ढोलक प्रयोग गरिएको थियो ।
- एसडी बर्मनलाई आफ्नो छोराप्रति गर्व थियो
बंगालमा एउटा अनौठो ठट्टा प्रचलित थियो, एसडी बर्मन फिल्म शोलेको मेहबुबा मेहबुबा गीतको आवाजबाट यति प्रभावित भए कि उनलाई पक्षाघात नै भयो । तर सत्य यो हो कि एसडीलाई आफ्नो छोराको उपलब्धिमा गर्व थियो ।
सन् १९५६ मा नवकेतनको फिल्म ‘फुन्टुस’ रिलिज हुँदा पञ्चम चलचित्र हेर्न हल गए । फिल्मको सङ्गीत उनका पिता एसडी बर्मनले दिएका थिए । जब ‘ए मेरी टोपी’ गीत पर्दामा आयो, उनी छक्क परे । किनभने त्यो गीतको ट्युन उनले नै बनाएका थिए ।
राजु भरतन आफ्नो पुस्तक ‘जर्नी डाउन मेमोरी लेन’ मा लेख्छन्, ‘पञ्चम स्तब्ध भएर घर फर्के । त्यहाँ उनका बुवा ढोकामा उभिरहेका थिए । उनले भने – मलाई थाहा छ तिमीलाई लागिरहेको होला, मैले तिम्रो एउटा धुन चोरेको छु । हो, म सहमत छु । तर यदि तिम्रो धुन मेरो चलचित्रमा समावेश गर्न योग्य छ भने, यसको मतलब तिमी राम्रो गरिरहेका छौ । जे होस्, ‘ए मेरी टोपी’ एक हल्का धुन हो । जब म तिम्रो कुनै पनि गम्भीर धुनहरू मेरो फिल्ममा प्रयोग गर्न योग्य ठान्छु, तब म तिमीलाई एक वास्तविक महान संगीतकार मान्छु ।’
खगेश देव बर्मनले एसडी बर्मनको जीवनी ‘एसडी बर्मन, द वर्ल्ड अफ हिज म्युजिक’मा लेखेका छन्, ‘एकपटक एसडी बिहान पैदल यात्रामा गए । त्यसपछि उनले केही मानिसहरूले कानेखुसी गरेको सुने, ‘हेर, आरडी बर्मनका बुबा ।’ उनले वाक बाटो बिचमा छोडेर घर आएर श्रीमतीलाई भने – तिम्रो छोरा कति ठुलो मानिस बनेको छ । अहिलेसम्म मलाई एसडी बर्मन भनेर चिन्थे । आज मलाई कसैले देखेर कसैले भन्यो, हेर आरडी बर्मनको बुवा ।’
- तातो चियामा चिसो पानी मिसाएर पिउँथे
आशा भोस्लेले मे २३, २००९ मा आनन्द बजार पत्रिकालाई दिएको अन्तर्वार्तामा भनिन्, ‘पञ्चमको म्यान म्यानेजमेन्ट अचम्मको थियो । कुनै पनि गायक र संगीतकारलाई दबाब नदिईकन कसरी राम्रो काम निकाल्ने भन्ने उनलाई थाहा थियो । किशोर कुमारसँग उनी खुब ठट्टा गर्थे । मन्ना डेसँग उनी गम्भीरतापूर्वक रहन्थे । लतासँग मैले उनीसँग बंगालीमा कुरा गरिरहेको र उनीहरूको पारिवारिक मामिलामा छलफल गरेको देखेँ ।’
पञ्चम आफ्नो अनौठो हरकतका लागि पनि चर्चित थिए । गुलजार लेख्छन्, ‘पञ्चम सधैँ हतारमा हुन्थे । उनले चिया माग्थे । तातो चिया उनी कहाँ आइपुग्थ्यो । तर त्यो चिसो हुन पर्खने धैर्य उनीसँग थिएन । उनले त्यसमा पानी हालेर चिसो गर्दथे । त्यसपछि खुसीले पिउँथे ।’ उनी बलिरहेको चुरोटमा ल्वाङ राखेर गहिरो पफ लिने गर्थे र त्यसो गर्दा स्वर खुल्छ भन्ने उनको विश्वास थियो ।
उनीसँग संसारका उत्कृष्ट फिल्महरूको भिडियो क्यासेटहरूको राम्रो संग्रह थियो । उनका कुनै साथीहरूले त्यो भिडियो हेर्नको लागि लिन चाहन्थे भने, उनले त्यसको कभरमा साथीको नाम लेख्थे र खाली कभर आफूसँग राखेर भिडियो क्यासे६ दिन्थे । कसैले क्यासेट फिर्ता नगरे उनीहरुलाई फिर्ता मागेर हैरान गर्थे ।
- आशा भोस्लेसँग विवाह
सन् १९६६ मा पञ्चमले रीता पटेलसँग विवाह गरे तर यो विवाह लामो समय टिक्न सकेन । मात्रै पाँच वर्षपछि दुवै अलग भए ।
यसैबिच आशा भोस्लेसँग पञ्चमको निकटता बढ्न थाल्यो । दुवैले ७ मार्च १९७९ मा विवाह गरे । यस अवसरमा लता मंगेशकर, किशोर कुमार, हृदयनाथ मंगेशकरकी पत्नी भारती मंगेशकर र उनका एक साथी बाबुभाइ देसाई उपस्थित थिए ।
छोराले आफूभन्दा ६ वर्ष जेठी र विधवासँग बिहे गरेकोमा छक्क पर्न सक्ने डरले यो खबर पञ्चमकी आमा मिरालाई सुनाइएन । यस अवसरको कुनै फोटो खिचिएको छैन ।
- मात्र ५४ वर्षको उमेरमा निधन
जनवरी ३, १९९४ राति २ः३० बजे पञ्चम टिभीमा समाचार हेर्दै थिए । अचानक उनलाई पसिना आउन थाल्यो र छातीमा कडा पीडा भयो ।
तुरुन्तै एम्बुलेन्स बोलाइयो । दिउँसो ३ः४० बजे एम्बुलेन्स उनको घर पुग्दा आरडी बर्मन बेहोस भइसकेका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरे ।
त्यतिबेला उनको उमेर मात्र ५४ वर्ष थियो । उनकी आमा मीरा देव बर्मन भने अल्जाइमर्सबाट पीडित थिइन् । सन् २००७ मा आफ्नो जीवनको अन्तिम दिनसम्म, उनले आफ्नो छोरा तब्लू लण्डनमा बस्दै र सङ्गीत रचना गरिरहेको विश्वास गरिरहिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान
-
‘सत्ताधारीले अहिले कसैलाई टार्गेट गरेमा अर्को पनि सरकार आउँछ’
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?