बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

२०८४ अघि सहकार्यको ढोका बन्द गर्दै ओली–प्रचण्ड

बुधबार, २४ पुस २०८१, १८ : ००
बुधबार, २४ पुस २०८१

काठमाडौँ । मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले एकै दिन (पुस २१–२३) केन्द्रीय समिति बैठक सुरु गरेर एकै दिन समापन पनि गरे ।

एमाले बैठकमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओली र माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्ना राजनीतिक प्रतिवेदन पेस गरे । आश्चर्यको कुरा त के छ भने प्रतिवेदनमार्फत पार्टीको विचार, दृष्टिकोण, कार्यक्रम र कार्ययोजना अघि सार्दै वर्तमान राजनीतिक परिस्थितिको विश्लेषणसहित आ–आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षित गराएका ओली र प्रचण्डले मित्रशक्ति र वर्गशत्रु को हो भनेर बुझाउन भने सकेनन् । एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन लिखित रूपमै सार्वजनिक भए पनि माओवादी अध्यक्ष प्रचण्डको प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन । प्रचण्डले बैठकमा आफ्नो प्रतिवेदन वाचन गरेर सुनाए । केन्द्रीय सदस्यहरू प्रचण्डका शब्दहरू सुनेरै भाव बुझ्न बाध्य भए ।

आ–आफ्नो पार्टीको बैठकमा पेस भएका दुवै नेताका प्रतिवेदनमा वर्तमान अवस्थाको संक्षिप्त विश्लेषण भए पनि तथ्य, तर्कको आधारमा ठोस र वस्तुनिष्ठ संश्लेषणभन्दा पनि एक–अर्कालाई आरोप लगाउने र अर्काको गल्ती कमजोरी कोट्याउनमै केन्द्रित देखिन्छ ।

विगतमा एउटै पार्टीमा रहेका र फरक पार्टीमा हुँदासमेत लामो समय सहकार्य गरेका एमाले–माओवादीका पछिल्ला दस्ताबेज र दुवै अध्यक्षका अभिव्यक्तिलाई हेर्दा उनीहरू एक अर्काका वर्गशत्रुका रुपमा प्रस्तुत भएजस्तै देखिन्छन् । जसका कारण मुलुकका दुई ठुला र आशा गरिएका कम्युनिस्ट पार्टीबिच तत्काल सहकार्य र एकताको सम्भावना नरहेको बुझ्न कठिन छैन ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले त आफ्नो पार्टी र नेकपा एमाले केन्द्रीय समिति बैठकको तुलना गर्दै यसले राजनीतिक धार र वर्गीय विश्व दृष्टिकोण स्पष्ट गरेको टिप्पणी गरेका छन् । केन्द्रीय समितिको बैठक समापन सत्रलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

‘बडो विचित्रको संयोग पनि भन्न सकिन्छ । पुस २१ गतेदेखि हामीले केन्द्रीय समितिको बैठक सुरु ग¥र्यौं र एमालेले पनि त्यही दिनदेखि बैठकको सुरुवात ग¥यो । यी दुई पार्टी, दुई बैठक र दुई कार्यदिशालाई मानिसहरूले पक्कै पनि तुलना गरेर हेरेकै होलान्’, प्रचण्डले भनेका छन्, ‘यी दुई प्रवृत्तिको पक्कै पनि नेपाली जनताले हेक्का राखेकै होलान् । म केमात्रै भन्न चाहन्छु भने हामीले बैठकमा कसैलाई गालीगलौज गर्नेभन्दा वैचारिक, राजनीतिक ढंगले सुशासन, सामाजिक र आर्थिक समृद्धिको हाम्रो मूलभूत उद्देश्यमा केन्द्रित भएर दस्ताबेज तयार पारेका छौँ ।’

प्रचण्डले आफ्नो दस्ताबेज समाजवादतर्फको यात्राको प्रतिबद्धतालाई योजना र कार्यक्रमद्वारा औचित्य सिद्ध गर्ने गरी प्रस्तुत गरेको दाबी गर्दै एमाले अध्यक्ष ओलीको दस्ताबेज र सो पार्टीको सम्पूर्ण ध्यान गालीगौज, झुठा र भ्रामक प्रचारमा मुख्यतः माओवादी पार्टी र नेतृत्वका विरुद्ध आक्षेप लगाउने कुरामा नै बढी केन्द्रित देखिएको दाबी गरेका छन् ।

‘१८ महिनाको हाम्रो नेतृत्वको सरकारले लोकतान्त्रिक गणतन्त्रमा शुद्धीकरण गरेको थियो । सुशासनको अभियानअन्तर्गत तस्करीका सञ्जाल तोडेको थियो । ललिता निवास, नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारीजस्ता काण्ड उजागरमात्र गरिएन, तस्करीका धेरै काण्ड पर्दाफास भए । कानुन नै बनाएर मिटरव्याजीलाई कानुनी दायरामा ल्याएको हो’, प्रचण्डले बैठक समापनका क्रममा भनेका छन् ।

यसलाई नेपाली जनताले राम्रोसँग हेरिरहेको उल्लेख गर्दै प्रचण्डले माओवादीले सरकारमा रहँदा र सरकारबाहिर रहँदा पनि आत्मसमीक्षासहित देशको भावना, आवश्यकता र जनताको चाहनालाई सम्बोधन गर्ने जमर्को गरिरहेको दाबी गरेका छन् । उता, एमालेले भने भ्रष्टाचारीहरूलाई बचाउने र बेथिति, विकृतिलाई प्रोत्साहन गर्ने गरिरहेको प्रचण्डको भनाइ छ ।

‘एउटाले विचारमा आधारित पार्टी निर्माणलाई जोड दिएको छ भने अर्कोले वैचारिक रूपमा बुर्जुवा अराजकतावादलाई जोड दिएको छ । यो कुरा नेपालको र अन्तर्राष्ट्रिय श्रमिक वर्गले आज दुई वटालाई तुलना गरेर हेरिनै राखेको छ’, प्रचण्डको भनाइ छ ।

त्यतिमात्रै होइन, प्रचण्डले एमालेभित्र आन्तरिक लोकतन्त्र समाप्त भएको भन्दै माओवादीले मत व्यवस्थापनका लागि जनवादी केन्द्रीयताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको उल्लेख गरेका छन् ।

प्रचण्डले नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि एमालेले गरेको कारबाहीको प्रसंग उल्लेख गर्दै नोकरशाही केन्द्रीयता र तानाशाहीद्वारा एमालेमा प्रभुत्व बढेको बताएका छन् । ‘यी दुई पार्टीका दुई बैठकले देखाएका दुई कार्यशैली, जनवादी केन्द्रीयतालाई ह्याण्डिल गर्ने दुई विश्व दृष्टिकोण देखिए’, प्रचण्डको विश्लेषण छ ।

प्रचण्डले दुई पार्टीका दुई बैठकपछि एमालेभित्रका इमानदार नेता–कार्यकर्तालाई पनि राम्रो शिक्षा, वाम ध्रुवीकरण र वामपन्थी एकताका लागि वैचारिक, राजनीतिक, कार्यशैलीगत र संस्कारगत स्कुलिङ पनि राम्रोसँग उजार गरेको बताएका छन् ।

‘मलाई लाग्छ, यो कुरा पक्कै नेकपा एमालेभित्र रहेका इमानदार, प्रगतिशील र वामपन्थी नेता–कार्यकर्ताहरूले हिसाब गर्नुभएकै होला । तपाईं–हामीले पनि यो हिसाब गर्नैपर्छ । हामीले पार्टीभित्र आउने बहसलाई कसरी ह्याण्डल गर्दैछौँ र गर्छौं, अरु वुर्जुवा पार्टीहरूले र खासगरी संशोधनवादीहरूले कसरी ह्याण्डल गरे र गर्दारहेछन् भन्ने कुरा पनि राम्रो उदाहरण यी दुई बैठकबाट सिक्न सकिन्छ’, प्रचण्डको भनाइ छ ।

समग्रमा दुई पार्टीका बैठकबाट एमाले उदार पुँजीवादी बुर्जुवा संस्कृतितिर अगाडि बढेको तथाकथित् कम्युनिष्ट गुट हो भन्ने देखिएको, माओवादी वैचारिक निष्ठासहित समाजवादप्रति अगाडि बढ्न जमर्को गरेको पार्टी हो भन्ने देखिएको प्रचण्डको बुझाइ छ ।

‘यी दुई दलका प्रवृत्ति आगामी दिनमा अझ स्पष्ट रूपमा देखापर्दै जाने छन् । हामीले तयार पारेको राजनीतिक दस्ताबेज प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जाँदा हाम्रो र एमालेबिचको भेद स्पष्ट रूपमा देखापर्दै जाने छ’, प्रचण्डले भनेका छन् ।

प्रचण्डले यस्तो दाबी गर्दैगर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने माओवादी अध्यक्ष प्रचण्डको कार्यशैली र व्यवहारको उछितो काढेका छन् ।

ओलीले विगतमा प्रचण्डसँग भएका सहकार्यका क्रममा पाएको धोकाको पनि चर्चा गरेका छन् । उनले प्रचण्डलाई धोकेवाज र दाउपेचको राजनीति गर्ने नेताका रूपमा चित्रण गरेका छन् ।

‘..प्रधानमन्त्री बनेको भोलिपल्टदेखि नै प्रचण्डबाट पुरानै चरित्र प्रदर्शन भयो । राष्ट्रपति निर्वाचनमा आइपुग्दा त माओवादी दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरूको दबाबसामु आत्मसमर्पणको तल्लो विन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था भएन’, ओलीले २०७९ को निर्वाचनपछि माओवादीसँगको सहकार्यबारे टिप्पणी गरेका छन् ।

त्यतिमात्र होइन, ओलीले पछिल्लो समय प्रचण्ड स्वयं सामाजिक सद्भावलाई बिथोल्न र अतिवादलाई बढवा दिन उद्यत रहेको आरोप लगाउँदै उनकै आडमा परिवर्तनविरोधी शक्तिहरू खुलेआम संविधानलाई चुनौती दिन लागिपरेको टिप्पणी गरेका छन् । ‘तत्कालीन प्रधानमन्त्रीबाट निरन्तर दाउपेचको खेती चलिरह्यो । एकातिर एमालेलाई राष्ट्रिय महत्त्वका विषयमा निर्णय प्रक्रियाबाट अलग्याउँदै जाने, अर्कातिर सत्ता समीकरणका लागि अन्य दलहरूसँग समानान्तर रूपमा गुप्त परामर्श गरिरहने काम भइरह्यो’, ओलीले आफ्नो प्रतिवेदनमा माओवादी लक्षित टिप्पणी गरेका छन् ।

प्रचण्डले आफ्नो पछिल्लो प्रधानमन्त्रीत्वकालमा सुशासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा काम गरेको दाबी गरिरहेका बेला ओलीले भने त्यसको खण्डन गर्दै संसदमा जादुको नम्बर भएको भन्दै पाँचै वर्ष सरकार चलाउने भनेर दिएको प्रचण्डको अभिव्यक्तिलाई संसदीय मूल्य र मान्यताको उपहासका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् ।

‘भ्रष्टाचारविरुद्धका कारबाहीलाई पनि आफ्नो दलगत स्वार्थमा दुरुपयोग गर्ने काम भइरहे । आफूसँग संसद्भित्र जादुको नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाइरहने भन्दै दिइएको सार्वजनिक अभिव्यक्ति र कहिलेकाहीँ पार्टी सानो हुनु पनि फाइदाको विषय हुने, त्यसैले पार्टी सानो भयो भनेर कार्यकर्ताले चिन्ता गर्न नपर्ने भन्दै गरिएको टिप्पणी संसदीय मूल्य–मान्यताको उपहास थियो’, ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

नेताद्वयका यी आरोप–प्रत्यारोप र शब्दवाणले यी दुई पार्टीबिच सहकार्यको सम्भावना टाँढिदै गएको प्रस्ट बुझ्न सकिन्छ । यसमा दुवै पार्टीका नेताहरू समेत सहमत देखिन्छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजाल पनि एमाले र माओवादीबिच २०८४ अघि सहकार्यको सम्भावना आफूले नदेखेको बताउँछन् ।

‘आजको विन्दुमा दस्ताबेज र अध्यक्षहरूको अभिव्यक्तिलाई हेर्दा दुई ठुला कम्युनिस्ट पार्टीबिच एकता र सहकार्यको सम्भावना छैन’, रिजालको भनाइ छ । यसलाई दुई वटा कोणबाट हेर्नुपर्ने उनको बुझाइ छ ।

‘अहिले नेकपा एमाले आफैँ निर्णायक, बलियो राष्ट्रिय शक्ति बन्ने घोषित मिसनमा छ । यस्तो बेला सामान्यतया सहकार्य, तालमेल र एकताको विषयलाई प्रमुखतामा राखिँदैन । आफैँ शक्ति आर्जन र विस्तारमा जोड दिइन्छ ।’

रिजालले सहकार्य हुन नसक्ने दोस्रो कारण पनि खुलाए । उनले भने, ‘अहिले हामी कांग्रेससँगको सरकारमा छौँ । यस्तो बेला अन्य कुरा गर्दा अविश्वास र दरार पैदा हुने हुन्छ र सरकार अस्थिर बन्छ ।’

उनले कांग्रेससँग प्रमुख प्रतिस्पर्धा हुँदाहुदै पनि ऊसँगको सहकार्यलाई राजनीतिक स्थिरता दिन सकिन्छ भनेर पुष्टि गर्ने प्रयासमा रहेको बताए । यी कारणले गर्दा नै अध्यक्षको प्रतिवेदन राजनीतिक र कार्यनीतिक ढंगले सही रहेको केन्द्रीय समिति बैठकले ठहर गरेको रिजालको भनाइ छ ।

अध्यक्ष प्रचण्डले ओली र एमालेमाथि तानाशाही र आन्तरिक लोकतन्त्र नभएको भनेर लगाएको आरोपको पनि रिजालले खण्डन गरे । उनले भने, ‘जुन पार्टीमा एक व्यक्ति ४० वर्षदेखि अनवरत अनिर्वाचित छ, उसले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने पार्टी, आवधिक महाधिवेशन हुने र आन्तरिक लोकतन्त्रको अभ्यास गरेको पार्टीमा आन्तरिक लोकतन्त्र छैन भन्नु आफैँमा हाँस्यास्पद हो ।’

अहिलेसम्म प्रचण्ड एक पटक पनि कार्यकर्ताको विश्वास प्राप्त गरेर अध्यक्ष नबनेको भन्दै रिजालले माओवादी केन्द्रको कुनै पनि कमिटी निर्वाचित नरहेको बताए । ‘प्रचण्डले एमालेको लोकतन्त्रमा चिन्ता गर्नुभन्दा आफ्नै पार्टीभित्र महाधिवेशन र निर्वाचनको माग र बहस उठेको छ, त्यसलाई सम्बोधन गर्दा हुन्छ’, रिजालले भने, ‘जनयुद्धका विचार भन्ने नेताहरू कहाँ छन् भनेर हेर्दा हुन्छ ।’ उनले यो बिचमा सबैभन्दा बढी बुर्जुवाकरण माओवादी र प्रचण्ड स्वयं भएको बताए ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल एमालेसँग सहकार्य हुँदैन भनेर पार्टीको दस्ताबेजमा नलेखे पनि तत्काल एमाले–माओवादी सहकार्यको सम्भावना नरहेको बताउँछन् । यद्यपि पौडेल नेपालको कम्युनिस्ट आन्दोलन जोगाउन कुनै न कुनै समय कम्युनिस्टहरू एक ठाउँमा आउन जरुरी रहेको ठान्छन् ।

नेताहरूबिच एकअर्कामा आलोचना हुनु स्वाभाविक भएको जनाउँदै पौडेलले भने, ‘एकअर्कामा आलोचना छ, त्यो सत्य हो । तर लोकतान्त्रिक, वामपन्थी र परिवर्तनकारी शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्ने नै हाम्रो जोड र निर्णय नै छ ।’

पौडेलले एमाले अध्यक्ष ओलीका बोलीसँगमात्र विमति रहेको पनि बताए । ‘वामपन्थी आन्दोलनप्रति हाम्रो विमति हुँदै होइन’, उनले भने, ‘पहिला पनि आलोचना हुँदै आएको हो, तर पछि एकता नै भयो । त्यो एकता टिकेन, तर पनि सहकार्य भएको उदाहरण बिर्सन मिल्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप