बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
सूर्यदर्शन सहकारी ठगी प्रकरण

कास्की जिल्ला अदालतमा प्रतिवादीको बहस सकियो

बुधबार, २४ पुस २०८१, १४ : ५८
बुधबार, २४ पुस २०८१

काठमाडौँ । कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो । 

अब जाहेरवालाको तर्फबाट केहीबेरमा बहस सुरु हुने अदालत स्रोतले जनाएको छ । आज प्रतिवादीका तर्फबाटरामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै  पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो ।  न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी,लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भइरहेको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप