इमरान र बसिरको अर्धशतकसँगै बागमतीविरुद्ध आर्मीले बनायो कीर्तिमानी रन
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को बुधबार जारी बागमती प्रदेशविरुद्धको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो पालीमा दुई सय ७६ रन बनाएको छ । जारी जय ट्रफीमा कुनै पनि टोलीले एक पालीमा बनाएको यो सर्वाधिक रन पनि हो ।
आर्मीले ६० ओभरमा पाँच विकेटको नोक्सानीमा दुई सय ७६ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले ६० ओभर ब्याटिङ गरेपछि अनिवार्य रुपमा पाली समाप्तिको घोषणा गर्नु पर्ने नियम रहेको छ ।
यसअघि जारी जय ट्रफीमा एक पालीमा सर्वाधिक दुई सय ११ रन बनेको थियो । त्यो रन आफ्नो अघिल्लो खेलमा मधेश प्रदेशले बागमती प्रदेशविरुद्ध बनाएको थियो । जनकपुरमा जारी बागमती प्रदेशविरुद्धको खेलमा आर्मीका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले । जारी प्रतियोगिताको एउटै पालीमा दुई ब्याट्सम्यानले अर्धशतक बनाएको यो पहिलो पटक हो । ओपनर ब्याट्सम्यान इमरान शेखले टोलीका लागि ७२ रनको योगदान गरे ।
१९ वर्षीय इमरानले एक सय चार बलमा ११ चौका प्रहार गरे । इमरानले अर्धशतक भने ७६ बलमा आठ चौकाको मद्दतले पुरा गरेका थिए । टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबका लागि इमरान शेख र तृतराज दासले ओपनिङ विकेटमा एक सय तीन रनको साझेदारी गरेका थिए ।
२२ वर्षीय तृतराज ४४ रन बनाउँदै पेभेलियन फर्किए । उनले ७८ बलको सामना गरी ६ चौका पनि हिर्काए । अर्धशतकतर्फ अगाडि बढिरहेका तृतराजलाई २३.२ ओभरमा बागमती प्रदेशका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछाने एलबीडब्लूको धरापमा पारेका थिए ।
विकेटकिपर ब्याट्सम्यान इमरान शेख र तृतराजबिच भएको साझेदारी जारी जय ट्रफीमा कुनै विकेटका लागि सबैभन्दा ठुलो साझेदारी हो । आर्मी क्लबका लागि बसिर अहमदले पनि अविजित ५३ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका २१ वर्षीय बसिर अहमदले ६४ बलको सामना गरी आठ चौका पनि हिर्काए । सातौँ नम्बरका ब्याट्सम्यान कुशल मल्लले पनि टोलीको खातामा अविजित ३५ रन थपेका थिए । उनले ४३ बलमा एक छक्का र चार चौका हिर्काए ।
तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि टोलीको खातामा ३२ रन थपे । उनले ५१ बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान विनोद भण्डारीले भने खातासम्म खोल्न सकेनन् ।
सोमपाल कामीले सात रन जोडे । बागमती प्रदेशका बलर विपिन आचार्यले तीन विकेट लिए । सन्दीप लामिछानेले पनि दुई विकेट हात पारे । आर्मी क्लबले अतिरिक्त रुपमा पनि ३३ रन पायो । जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले पाएको यो नै सर्वाधिक अतिरिक्त रन पनि हो ।
प्रतियोगितामा सहभागी चारवटै क्लबले एक–एक खेल खेलिसक्दा १५ अंकसहित बागमती प्रदेश पहिलो, समान अंक जोडेको मधेश प्रदेश दोस्रो र समान अंक हात पारेको पुलिस क्लब तेस्रो स्थानमा छन् । आर्मी क्लब भने १४ अंकसहित चौथो स्थानमा छ । यसअघिको दुबै खेल बराबरीमा सकिए पनि बोनस अंकका कारण आर्मी चौथो स्थानमा रहेको हो ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो ।
जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
जय ट्रफीमा खेलाडीहरु सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेश प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविसहित सातै जनालाई अदालत लगियो, आजै फैसला आउने सम्भावना, सुरक्षा व्यवस्था कडा
-
असममा छापा मार्न हिँडेको प्रहरी टोलीलाई गुगल म्यापले पुर्यायो नागाल्याण्ड
-
सत्ताको अस्त्र नबनोस् सम्पत्ति शुद्धीकरण मुद्दा !
-
कपालमा चाया परे कसरी स्याहार गर्ने ?
-
रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान