हात्तीका कारण पर्यटकको मृत्यु भएपछि माहुतेविरुद्ध मुद्दा
बैंकक । हात्तीले पर्यटकलाई मारेको घटनामा थाइल्यान्ड प्रहरीले माहुतेमाथि मुद्दा लगाएको छ ।
गएको हप्ता थाइल्यान्डमा हात्ती नुहाइरहेको समयमा एक जना स्पेनी पर्यटकको मृत्यु भएको थियो । ३८ वर्षका माहुते थिरयुत इन्थाफुड्किजमाथि लापरबाहीका कारण व्यक्तिको ज्यान गएको भन्दै मुद्दा चलाइएको हो । नुहाइदिइरहेको समयमा हात्तीले हुत्त्याएपछि २२ वर्षकी ब्लाङ्का ओजान्गुरेन ग्रसियाको टाउकोमा चोट लागेको थियो ।
अस्पतालमा उपचारको क्रममा ग्रसियाको निधन भएको थियो । पछिल्लो समय थाइल्यान्डमा हात्ती पर्यटन उद्योग फस्टाइरहेको छ । ग्रसियाको निधनले यो उद्योगप्रति चिन्ता बल्झाएको छ । लामो समयदेखि पशु अधिकारकर्मी समूहहरूले अनैतिक र खतरनाक भन्दै यसको आलोचना गर्दै आएका थिए । पर्यटकसँग नजिक हुँदा आत्तिएर हात्तीले ग्रसियालाई हुत्त्याएको हुन सक्ने यस घटनापछि अभियन्ताहरूले भनेका थिए ।
थाइल्यान्डभर पर्यटन गतिविधिमा झन्डै तीन हजार हात्तीलाई संलग्न गराइएको विश्व पशु संरक्षण नाम गरेको अन्तर्राष्ट्रिय संस्थाको अनुमान छ । हात्तीका कारण पर्यटकको मृत्यु भएको मामिलामा माहुतेमाथि मुद्दा चलाइएको यो पहिलो पटक भने होइन ।
हात्तीले चिनियाँ टुर गाइड मारेको अनि अन्य दुई पर्यटक घाइते भएको घटनामा थाइल्यान्डमा सन् २०१७ मा हात्ती क्याम्पका मालिक र माहुतेमाथि मुद्दा दायर गरिएको थियो ।