अनि कांग्रेसमै फर्कने निर्णयमा पुगेँ...
नेपाली कांग्रेसको इतिहासको बारेमा सबै जानकार नै हुनुहुन्छ । क्रान्तिकारी आदर्श, सिद्धान्त बोकेको प्रजातान्त्रिक पार्टी हो । बीपी, सुवर्ण शमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले नेतृत्व गर्नुभएको पार्टी हो । उहाँहरू वजनदार नेतृत्व भएका उहाँहरूको सिद्धान्त र गन्तव्य प्रस्ट थियो । विचारसँगै आचार पनि चाहिने रहेछ ।
अहिले हेर्नुहुन्छ भने आचारकै अभावमा भ्रष्टाचारले गर्दा देशको थिति बिग्रिएको देखिन्छ । हामी जहिले पनि विचारको विषयमा छलफल गर्छाैं तर, विचारभन्दा आचार महत्त्वपूर्ण विषय हो । संस्थापक नेताहरू ती आचार–विचार दुवैमा पोख्त हुनुहुन्थ्यो र त्यसैबाट नेपाली कांग्रेसमा आकर्षित भइयो । देशका लागि प्रजातन्त्र, नागरिक स्वतन्त्रता चाहिन्छ, नागरिकहरू अधिकार सम्पन्न भएमात्र राज्य रूपान्तरण हुन्छ । नागरिकहरूलाई अधिकार सम्पन्न बनाउने व्यवस्था प्रजातान्त्रिक व्यवस्था हो । त्यस कारण प्रजातन्त्र नै चाहिन्छ, नभए देशको उन्नति हुँदैन भन्ने निष्कर्षमा केटाकेटी अवस्था देखि नै पुगेको हो ।
२०१७ सालमा राजाले प्रजातन्त्र ‘कु’ गरेर सत्ताबाट हटाएको पार्टी नेपाली कांग्रेसले सङ्घर्ष गर्दै थियो, ठुला र योग्य नेताहरू पनि सोही दलमा थिए । त्यसैले २०१७ सालबाट पार्टीमा लागेर काम गर्दै २०७४ सालसम्म कांग्रेसमा बसियो ।
तर, ०६२/०६३ सालदेखि त्यो पार्टीको क्रियाकलापमा चित्त बुझेन । गाउँ–गाउँमा सोझासाझा नागरिकहरूलाई निर्दयी भएर अत्यन्त दुःख दिएर हिँडे । केके हो, केके वादको कुरा गरे । तर, आखिर त्यो केही होइन रहेछ र अन्तिममा संसदीय व्यवस्थामा आएर शरण लिए उनीहरूले । तिनीहरूको पछि लागे नेपाली कांग्रेसका नेताहरू । यस विषयमा गिरिजाबाबुसँग धेरै बहस गरियो । उहाँले ‘यो पछि करेक्सन गर्छु, अहिले मलाई दबाब परेको छ । यिनीहरूलाई प्रतिस्पर्धात्मक संसदीय राजनीतिमा प्रवेश गराऊँ । त्यसपश्चात यिनीहरूलाई सोझ्याउन सकिन्छ । म त्यो औषधि गर्छु, तपाईंहरू चुप लाग्नुस्’ भन्नुभयो ।
उहाँ (गिरिजा प्रसाद कोइराला) आफूले भनेको कुरा ‘करेक्सन’ नगरी बितेर जानुभयो । अनि नेतृत्वमा आएका नेताहरू झन्–झन् त्यही प्रचण्ड पथको बाटो हिँड्न थाले । देशका लागि घातक बाटो पछ्याएर उनीहरू हिँडे । त्यसमा चित्त बुझेन र अति हुने भयो, देश नै बर्बाद हुने भयो, राष्ट्रियता र राष्ट्रिय अस्मिता नै सङ्कटमा पर्ने भयो भनेर अर्को बाटो लिइयो । बीपीको विचारकै बाटोलाई राम्ररी बुझेर त्यस अनुसार ठोस कार्यक्रम बनाएर प्रतिबद्ध हुँदै काम गर्ने भए देश पाँच वर्षमै सुन्दर, सभ्य र राम्रो बनाउन सकिन्छ भनेर फरक बाटो रोजियो । यो विचारसहित मेरै अग्रसरतामा बीपी कांग्रेस भनेर पार्टी खोलियो । भित्र सङ्घर्ष गरेर साध्य भएन, बाहिर पार्टी नै खोलेर जनता माझ जानुपर्छ भनेर पार्टी खोलेर लागियो ।
तर,व्यवहारमा सबै कुरा सोचेअनुसार हुने रहेनछ । व्यवहारमा कुरा गर्दा चुनाव लडियो र नराम्रोसँग पराजय भोगियो । जनताले विचार सुनेर मत दिएनन् । जनताले उही पुरानै दलका चुनाव चिह्नमा मत दिन थाले । दोस्रो पटक पनि सकिन्छ कि भनेर चुनाव लडियो तर जनताले पुनः मत दिएनन् ।
यही बिचमा आफैँले गम्भीर समीक्षा गरेँ । यो बाटो परिवर्तन गर्नुपर्छ भनेर मैले बीपी कांग्रेसको पार्टी सभापति छोडेँ । त्यसपछि सुशीलमान शेरचनजी पार्टी सभापति हुनुभयो । पछिल्लो चुनावमा त उहाँ नै हुनुहुन्थ्यो सभापति । उहाँ सभापति हुँदा पनि निर्वाचनमा नतिजा राम्रो आएन । एउटा सिटमा पनि जित हासिल गर्न सकिएन । एक जना भए पनि सांसद बन्न सकिएन । हामीलाई जनताको मन जित्न गाह्रो पर्यो । अनि नहुने भयो भनेर पुनः नयाँ बाटो रोज्नुपर्छ भन्ने लाग्यो ।
शेरबहादुर देउवाजी पनि विगतमा कांग्रेस छोडेर नेपाली कांग्रेस प्रजातान्त्रिक खोलेर हिँड्नु भएकै हो । उहाँ पनि केही सिप लागेन र मूल पार्टीमै फर्किएर आउनुभयो । २ पटक पार्टी सभापति भइसक्नुभयो । यसो हेर्दा सीपी मैनालीजीहरू अर्को दलको भए पनि हराएसरह देखिनु हुन्छ । अनि चौतर्फी विश्लेषण पनि गरियो । समीक्षा गरेर हेर्दा जनताले भोट दिने बेलामा आफूले मतदान गर्ने पार्टी र चुनाव चिह्नमात्र सम्झँदो रहेछ । अरू बेला रेडियो, टेलिभिजन लगायत नयाँ मिडियाबाट समेत विचार सुन्ने, हेर्ने र प्रशंसा गर्ने भए पनि भोट त नआउने रहेछ । विचार सुन्ने तर भोट हाल्ने बेलामा जुन दल सोचेको छ, त्यसैमा मात्र हात जाने रहेछ ।
प्रजातन्त्रमा जनताको मतभन्दा ठुलो अर्को विषय नै छैन । जनताको विश्वास र मत जित्न सकेमात्र आफ्ना नीति, सिद्धान्त र कार्यक्रम लागु गर्न सकिने रहेछ । अनिमात्र गफ गरेभन्दा पनि ठोस परिणाम निकाल्न सकिन्छ । हामीले जनताको मत जित्न नसक्ने स्थिति प्रमाणित भएपश्चात् अब यो बाटोमा लागेर नहुने रहेछ भन्ने निष्कर्षमा पुगियो । त्यसैले बरु पुरानै पार्टीमा फर्किनुपर्छ भन्ने लाग्यो । कांग्रेसमाथि जनताको भरोसा पनि हालसम्म छँदैछ । पार्टीको सङ्गठन पनि छ । साधारण र क्रियाशील सदस्यहरू पनि छन् । निरन्तर गतिशील पार्टी नेपाली कांग्रेस भएकै अवस्थामा त्यही पार्टीभित्रै विचार–विमर्श गराएर त्यहीँबाट परिवर्तन गराउन सकिन्छ भन्ने मलाई लाग्यो ।
यहाँ जुनसुकै विषयमा परिवर्तन ल्याउन ठुला पार्टीहरू नै अग्रसर नभइ हुँदैन । नेपाली कांग्रेस मुख्य र इतिहास बोकेको पार्टी हो तर अहिलेका नेताहरूले बिगार्नुभएको मात्र हो । त्यसैले कांग्रेसभित्रै गएर सुधार गरेर देश र जनताका लागि केही काम गर्न सकिन्छ भन्ने विचारले मलाई कांग्रेसमा फर्कायो, म फर्किएँ । पार्टीले अङ्गीकार गरेको नीतिमा छलफल गराउने विचारका साथ हामी पुनः प्रवेश गरेका छौँ ।
बीपीको विचारमा पनि परम्परागत कुरा आवश्यकता अनुसार रूपान्तरण गर्न सकिन्छ तर, परम्परागत सूत्रलाई छाड्नुहुन्न । हो, यसैका लागि नेपाली कांग्रेसमा केही गर्न सकिन्छ कि, विचार–विमर्श गरेर साथीहरूलाई कन्भिन्स गराउन सकिन्छ कि भन्ने मेरो चेष्टा हुन्छ र रहन्छ । किनभने विदेशीको देखासिकी गरेर प्रचण्डजी जस्ता नेता राजनीतिमा आएर विदेशीले भने अनुसार गर्ने, ‘क्रमभङ्ग’ भनेर जरासँग जोडिएको हाम्रो सभ्यता, संस्कृति तथा परम्परागत संस्कारको त्यान्द्रो भङ्ग गर्न थाल्नुभएको छ । जबकि परम्परागत संस्कार, संस्कृतिले नै राष्ट्रलाई बलियो पार्ने हो । त्यो परम्परागत सूत्रमा सुधार गर्दै जानुपर्छ । समयसापेक्ष बनाउँदै नयाँनयाँ अनुभवलाई लिएर अघि बढ्नुपर्ने हो । उहाँहरूले त ठिक विपरीत सबैलाई मास्नुपर्छ भन्न थाल्नुभयो । त्यसैमा कांग्रेस पनि मिलेपछि राष्ट्र कमजोर बन्छ भन्ने हामीलाई लागेको हो ।
- बीपी कांग्रेसबारे
बीपी कांग्रेसले लिएको लाइन ठिक छ । तर, विचार भएरमात्र हुने रहेनछ । जनताले पुरानै सङ्गठन र दलहरूमा विश्वास र भरोसा गर्नुभयो । मेरो बुझाइमा बीपी कांग्रेस विचार बोक्ने संस्थाचाहिँ हो र यसको अस्तित्व पनि रहन्छ । अझै साथीहरू दृढ भएर लाग्नुभएको छ र विचार छाडेर हिँड्न हुँदैन भनेर लाग्नु भएको छ । सुशीलमान शेरचन, झलनाथ वाग्ले, कर्ण मल्ल लगायतका साथीहरू त्यहीँ बसेर केही गर्न सकिन्छ भन्ने विश्वासमा हुनुहुन्छ ।
तर, म त्यो सम्भव देखिरहेको छैन । पार्टी सञ्चालनमा साधन–स्रोत पनि चाहिन्छ । पुराना पार्टीहरूले धेरै साधन–स्रोत सङ्कलन गरिसकेको अवस्था छ । उनीहरूसँग साधन–स्रोतको हिसाबले समेत प्रतिस्पर्धामा आउन सकिँदैन भन्ने मेरो भनाइ हो । तर पनि उहाँहरू दृढ भएर लाग्नुभएको छ र विचारको बिउ उहाँहरूले जोगाएर राख्नुहुन्छ भन्ने मलाई लाग्छ । त्यो विचारको बिउले सफलता पाउँछ भन्ने ग्यारेन्टीचाहिँ म गर्न सक्दिनँ ।
अर्को चरणमा कांग्रेसमै प्रवेश गर्ने भनेर २/४ जना साथीहरू सल्लाहमा हुनुहुन्छ । बिस्तारै बिस्तारै कांग्रेसमा फर्कने मुडमा साथीहरू हुनुहुन्छ । एकदमै फर्कनै नसक्ने र दृढ भएर विचार बोक्ने साथीहरू त्यहीँ रहनुहुन्छ । साधन–स्रोतको अभावमा राष्ट्रव्यापी दल बनाउन पनि उहाँहरूलाई एकदमै गाह्रो छ । समिति संख्यामै सीमित रहेर उहाँहरू विचारको बिउलाई संरक्षण गरेर बस्नुहुन्छ । तर, सफलताचाहिँ म देख्दिनँ ।
(सोमबारमात्र नेपाली कांग्रेस बीपी त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हरिबोल भट्टराईसँग रातोपाटीका लागि रोमन आचार्यले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान
-
‘सत्ताधारीले अहिले कसैलाई टार्गेट गरेमा अर्को पनि सरकार आउँछ’
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?