रातोपाटी ‘टुरिजम कन्क्लेभ’ हुँदै
काठमाडौँ । डिस्कभरी न्युज नेटवर्क प्रालिले ‘रातोपाटी टुरिजम कन्क्लेभ’ आयोजना गर्ने भएको छ । आगामी शनिबार (पुस २७ गते) ठमेलस्थित होटल यात्रीमा हुने कन्क्लेभमा पर्यटन क्षेत्रको विकास, विस्तार, नीतिगत समस्या, पर्यटन प्रवद्र्धनका उपायलगायत विविध विषयमा अन्तरक्रिया हुनेछ ।
कन्केल्भमा तीनवटा सेसन हुनेछन् । पहिलो सेसनमा नेपालको पर्यटन क्षेत्रमा सन् २०३० सम्म कसरी नयाँ आयाम ल्याउन सकिन्छ लगायत विषयमा छलफल हुनेछ । यसमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलिया र नेपाल माउन्टनेरिङ (एनएमए) का अध्यक्ष निमु नुरु शेर्पा वक्ताका रुपमा रहनेछन् ।
त्यसैगरी दोस्रो सेसनमा नेपालका विभिन्न क्षेत्रमा घुमेर अनुभव बटुलेका चर्चित व्यक्तिहरूको अनुभव आदानप्रदान हुनेछ । जसमा अल्टिटियुड एयरका पाइलन विवेक खड्का, वाइल्डलाइफ फोटोग्राफर चुङबा शेर्पा र कीर्तिमानी आरोही मिङ्मा डेभिडले आफूले देखेको र भोगेको अनुभव आदानप्रदान गर्नेछन् ।
कन्क्लेभको अन्तिम सेसनमा पर्यटन क्षेत्रको नीतिगत तथा व्यावहारिक पाटोमा छलफल हुनेछ । जसमा पर्यटनमन्त्री बद्री पाण्डे, पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकाल र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का उपाध्यक्ष सुमन पाण्डे वक्ताका रुपमा हुनेछन् । बिहान ११ बजे सुरु हुने कन्क्लेभ साँझ ५ बजेसम्म चल्नेछ ।