बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपामा ‘कार्ड पोलिटिक्स’, लिङ्देनसँग मिल्न कमल थापाको जोडबल

बुधबार, २४ पुस २०८१, १३ : १६
बुधबार, २४ पुस २०८१

काठमाडौँ । राजावादी दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालले पृथ्वीजयन्तीको अवसरमा पुस २७ गते छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् । 

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजधानीको भृकुटीमण्डपमा ३०३ औँ पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले चाहिँ बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा चियापन कार्यक्रमको आयोजना गरेका छन् । 

चियापानको दिन नजिकिँदै जाँदा दुबै पार्टीका अध्यक्षले राजनीतिक दलका नेताहरूलाई भेटेर निम्तापत्र बाँडिरहेका छन् । निम्तापत्र बाँड्ने नाममा दुबै अध्यक्ष नेताहरूलाई भेटेर राजनीतिक सम्बन्ध सुधारको प्रयास गरिरहेको राप्रपाका नेताहरू बताउँछन् । 

सोही अनुसार मंगलबार लिङ्देन २७ गतेको कार्यक्रममा सहभागिताका लागि निम्तोपत्र दिन कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । देउवालाई निम्तापत्र दिन लिङदेनसहित महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ बूढानिलकण् पुगेका थिए । लिङ्देन देउवालाई अन्य कुनै राजनीतिक उद्देश्यले भन्दा पनि निम्तापत्र हस्तान्तरण दिनकै लागि गएको र सोही क्रममा फोटो खिचाइएको एक नेताले बताए । यद्यपि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने देउवासँग भेटवार्ता भएको र समसामयिक विषयमा कुराकानी भएको सामाजिक सञ्जालमार्फत बताएका थिए । 

राप्रपाकै कतिपय  नेताहरू अहिले भइरहेका भेटवार्ता ‘कार्ड पोलिटिक्स’को रुपमा टिप्पणी गर्छन् । ‘कार्ड लिएर जाने र सोही क्रममा नेताहरूलाई भेटेर सम्बन्ध सुधारको प्रयास बाहेक अरु केही होइन’ एक नेताले भने । अहिले देउवासँग लिङ्देनको भेटवार्ताको फोटो बाहिर आएको तर अन्य नेताहरूलाई पनि लिङ्देनले भेटिरहेको र थप भेट्ने योजना रहेको उनको भनाइ छ । 

यस्तै कमल थापाले पनि त्यसैगरी नेताहरूलाई भेटेका छन् । उनले केही दिनअघि राप्रपाका अध्यक्ष लिङ्देनसँग भेट गरेका थिए भने राप्रपाकै नेताहरू डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणालाई पनि भेटेका छन् । भेटमा उनले निम्तापत्र बाँड्दै आफ्नो चियापनमा सहभागिताकै लागि आमन्त्रण गरेको नेताहरूको भनाइ छ । 

उसो त राजेन्द्र लिङ्देनले त पार्टी कार्यालयमा कार्यकर्तासँग ‘कार्ड पोलिटिक्स’ चलिरहेको भनेर हँसिमजाक समेत गर्ने गरेका छन् । 

यही कार्ड पोलिटिक्सका बीच समान विचारधारा भएका राप्रपा र राप्रपा नेपालबीचको एकताको प्रसंग समेत उप्किएको छ । विशेषगरी थापाको तर्फबाट एकताको प्रयास भएपनि ठोस प्रगति भने हुन सकेको छैन । 

कमल थापा निकट राप्रपाका नेता राजाराम बर्तौलाले एकताका लागि आफ्नो पार्टी तयार रहेको बताए । तर, एकता कुन मोडलमा गर्ने, कहिले गर्ने भन्नेबारे प्रगति नभइसकेको उनको भनाइ छ । ‘एकताका लागि अध्यक्षज्यू (कमल थापा) तयार हुनुहुन्छ । तर, यसबारे थप छलफल हुन बाँकी नै छ ।’

उनका अनुसार केही दिनअघि थापा र लिङ्देन भेटवार्ता हुँदा सामान्य छलफल भएको थियो । एकताका सम्बन्धमा आगामी दिनमा निरन्तर छलफल हुने विश्वास लिँदै उनले तर आजका भोलि नै एकता हुने परिस्थिति निर्माण नभइसकेको स्पष्ट गरे । 

थापासँगको केही अघिको भेटमा अध्यक्ष लिङ्देनले पार्टीभित्र छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । यद्यपि पार्टीभित्र कुनै औपचारिक छलफल भने सुरु भइसकेको छैन । 

राप्रपाले समान विचारधारा भएका दल वा समूहसँग एकता गर्ने नीति भने लिँदै आएको छ । यसबारे आगामी माग ११ गतेदेखि सुरु हुने केन्द्रीय समिति  बैठकमा थप छलफल हुने विश्वास लिइएको छ । 

राप्रपा नेपालले भने केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकबाट एकताको पक्षमा निर्णय गरेको थियो । 

महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि २०७८ माघमा राप्रपा परित्याग गरेर राप्रपा नेपाल ब्युताएपनि थापाले कुनै ‘चमत्कार’ गर्न सकेका थिएनन् । त्यतिबेला उनले आफूलाई चुनाव हराउन दरबार नै लागेको भन्दै राजतन्त्रको एजेण्डा नै त्यागेका थिए । तर, आत्मालोचना गर्दै पुनः राजावादी एजेण्डामै फर्किएका उनी लिङ्देनसँगै मिल्नुपर्ने पक्षमा उभिएर एकताको बाटो खोजेका हुन् । 

अब लिङ्देन र राप्रपाको निर्णयमा उनी फेरि सो पार्टीमा फर्किने वा नफर्किने निर्धारण हुने नेताहरू बताउँछन् । राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठक समानविचारधारा भएका पार्टी र समूहसँग एकता वा सहकार्य पार्टीकाे नीति भएको बताउँछन् । उनले राप्रपा नेपालसँग एकताको विषयमा उच्च नेताहरुबीच सामान्य छलफल भएको सुनिएपनि पार्टीकाे आधिकारिक फोरममा वृहद छलफल  नभएको बताए ।   उसो त राप्रपाभित्र थापालाई  भित्र्याउने कि नभित्र्याउने भन्नेमै दुई मत रहेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप