बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौती थपियो

बुधबार, २४ पुस २०८१, १२ : ३८
बुधबार, २४ पुस २०८१

लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँद याम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । 

यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन । नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटपुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १०  प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ । 

यस्तै अङ्ग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरूको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटर भन्दा कम हुने अनुमान छ ।

जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताए । नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रिय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वाष्पको कमीले वर्षा हुन सकेको छैन  । 

  • हिउँदे वर्षाको महत्त्व

नेपालमा हिउँदे वर्षाको निकै महत्त्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य श्रोत नै हिउँदे वर्षा सँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनर्भरणको काम गर्छ । हिमालमा हिउँको रूपमा र हिउँ नपर्ने स्थानमा पानी जमिन भित्र गई जम्मा हुन्छ । यो नै पछि गएर मूलको रूपमा बाहिर आउँछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जल सतहमा पुनर्भरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मूल फुट्न नै नसक्ने हुन्छ । 

अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदूषण बढाउँछ । प्रदूषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ । 

dharmaraj upreti

उनले भने, ‘हिउँदे वर्षा कम हुँदा  सुख्खा र खडेरीको अवस्था आउँछ ।  आगलागीका घटनाहरू बढी हुन्छन् । आगलागीका घटनाहरू बढी भयो भने वन, जंगलमा हुने पारिस्थितीय प्रणाली बिग्रन्छ ।  प्रदूषणमा वृद्धि हुन्छ । काठमाडौँ जस्तो चारैतिरबाट ठुला पहाडले घेरिएको ठाउँमा  धुवाँ धुलाको मात्रा बढ्छ । तर त्यसलाई बाहिर पठाउनका लागि कि त वर्षा हुनुपर्छ कि त ठुलो हावा चल्नुपर्छ । त्यस्तो भएन भने लामो समयसम्म काठमाडौँ प्रदूषित सहर भएर बस्छ । आज नै १५० देखि १८० इन्डेक्स हाराहारीमा प्रदूषणको अवस्था रहेको छ । जुन निकै हानिकारक हो । समग्रमा वर्षाको असर कृषि, वन, प्रदूषण, आगलागी लगायतका कुराहरूमा हुने भएको हुनाले हामीले सचेत हुन जरुरी छ ।’

नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने श्रोतमा आएको सुख्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन । 

हिउँदे वर्षा र कृषि 

हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो असर गर्ने देखिएको छ । गहुँ, जौ, तोरी, केराउ जस्ता बाली हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा खेत, बारीमा छरेको अन्न नै उम्रन सक्दैन । आवश्यक चिस्यानको कमीले बीउ अङ्कुरित हुन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन । जसले खाद्य सङ्कट निम्त्याउँछ । नेपालमा धान मकै पछिको प्रमुख बाली गहुँ हो जुन पूर्णरुपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिँचाइ भन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ । 

जलवायुविद् डा. उप्रेतीले सरकारका प्रमुख दुई निकाय जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको अवस्था र कृषि मन्त्रालयले हिउँदे बालीमा कम उत्पादन हुन्छ भनेको अवस्थामा पनि सरकारको पूर्व तयारी नहुनु विडम्बना भएको टिप्पणी गर्नुभयो । पूर्वानुमानअनुसारको पूर्व तयारी नगर्दा आइपर्ने सङ्कट व्यवस्थापन गर्न नसकिने खालको हुने बताए । 

हिउँदमा लगातार सुख्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धिले अर्थ व्यवस्थामा दबाब परिरहेको छ ।  कृषिमा आश्रित हुने जनसमुदाय अझ आफूले खानको लागि मात्र उत्पादन गर्ने किसानलाई चाहिँ हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाइ सराइलाई बढाइरहेको छ । केही वर्ष यता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ । हिउँदे वर्षा हराउँदै गएको छ भने पहिला जुन रूपमा जुन ठाउँसम्म हिउँ पर्थ्यो अहिले त्यहाँ पानी पर्न थालेको छ ।  हिउँ पर्ने रेखा माथि सरेको छ । यसको अर्थ हिउँ पर्ने अल्टिच्युट नै परिवर्तन भएको छ । 

  • हिउँदे वर्षा र मानव स्वास्थ्य 

हिउँदे वर्षा नहुँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । मानिसले दैनिक प्रयोग गर्ने पानीको उपलब्धतामा कमी आउँछ भने उपलब्ध भएको पानीको गुणस्तर पनि नहुने हुन्छ । जसले प्रदूषित पानी र प्रदूषित पर्यावरणले जनस्वास्थ्यमा सिधा नकारात्मक असर गर्दछ । जलवायुविद् डा. उप्रेतीले हिउँदे वर्षा नहुँदा खाने पानीमा असर हुने बताउनु भयो । पानी पर्ने तौरतरिकामा परिवर्तन हुने बित्तिकै त्यसको सिधा असर पानीको गुणस्तर र परिणाममा समेत पर्ने भएको हुनाले पानीका स्रोत संरक्षणका लागि सरकारले तदारुकताको साथ काम गर्नुपर्ने बताउनु भयो । पानीको उपलब्धताको कमी हुनु, गुणस्तरीय नहुनु, वातावरण प्रदूषित नै रही रहनु, जमिन भन्दा नजिकै रहने धुलोको कण मिश्रित वायुले लामो समय चिसो र सुख्खा बढाउने भएकाले जनस्वास्थ्य जोखिमपूर्ण बन्ने सम्भावना छ । अस्पताल र स्वास्थ्य संस्थामा जोखिम मूल्याङ्कन गरेर आवश्यक पूर्व तयारी गर्नुपर्ने आवश्यक छ । यस समयमा फैलन सक्ने सङ्क्रामक रोग विरुद्ध लड्न सरकारले पूर्णकालीन योजना नै बनाएर लागू गर्नुपर्दछ । 

  • सबै प्रकारका मौसमजन्य विपद्को अलग-अलग अनुकूलनको कार्यक्रम 

नेपालको जलवायु र मौसममा आइरहेको अस्वाभाविक परिवर्तन अनुकूलको कार्ययोजना बनाउन आवश्यक छ । नेपालमा केही वर्ष यता मौसमजन्य विपद्का घटना बढिरहेको सन्दर्भमा सबै मौसमको लागि अनुकूलनको योजना आवश्यक रहेको छ । सबै प्रकारका मौसमजन्य विपद्का घटना बाहिर आइसकेको अवस्थामा एउटा मात्र (मनसुन र गर्मी) मौसमको लागि अनुकूलनको कार्यक्रम सञ्चालन गरेर हुँदैन ।

जलवायुविद् डा. उप्रेतीले चिसोमा हुने अनुकलन कार्यक्रम र  बढी गर्मी तातो भएमा लागू गर्ने अनुकूलनको कार्यक्रम फरक हुने बताए । बाढीको अनुकूलनको अवस्था एउटा हुन्छ भने पहिरोको अनुकूलनको अवस्था अर्को हुन्छ । प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानी नोक्सानी फरक फरक हुने भएकाले फरक तरिकाले नै त्यसलाई अवलम्बन गर्नुपर्छ । हामीले बनाएको राष्ट्रिय अनुकूलन कार्यक्रम र योजनामा सबै प्रकारका जलवायु जन्य विपद्का अलग अलग अनुकूलनको कार्यक्रम राख्न ढिलो गर्नुहुन्न ।

प्रत्येक प्रकोपले निम्त्याएको हानी नोक्सानी फरक—फरक आयतन र विशेषताको छ । हामीले बनाउने पूर्व तयारी र अनुकूलनको योजना त्यसै अनुसारको बनाउनु पर्नेछ । सीमित श्रोत साधन भएको र कमजोर आर्थिक अवस्थामा यसका कार्यक्रम बनाएर लागू गर्नु चुनौतीपूर्ण छ । तर यो बाध्यात्मक अवस्था हाम्रा अगाडि छ । चुनौती विरुद्ध लड्न सरकारी तथा गैरसरकारी सबैको साझेदारी आवश्यक छ ।  

  • मौसमबारे पूर्व सूचनाको व्यापकता आजको आवश्यकता 

हामीले मौसम बारेको पूर्व सूचनाको व्यापकतामा काम गर्नुपर्ने छ । नेपाल धेरै प्रकारको विपद्को जोखिममा छ । विपद्लाई रोक्न सकिन्न तर सम्भावित जोखिम र अनपेक्षित हानि नोक्सानी कम गराउन सकिन्छ । अहिले वर्षा हुन नसक्दा सुख्खापन गहिरिँदै गएको छ । सँगै वायु प्रदूषणको मात्रा बढेको छ । 

यस्तो अवस्थामा दैनिक जीवन र प्राथमिकता फरक गर्न सक्नुपर्छ । व्यक्तिगत रूपमा सकेसम्म घर बाहिर ननिस्कने, निस्के पनि शरीरको धेरै भाग ढाकिने कपडा लगाएर निस्कने, मास्क लगाएर निस्कने गरेर व्यवहारमा परिवर्तन गर्न सकिन्छ । 

यो सबै पूर्वसूचनामा आधारित भएर सम्पादन गर्न सकिन्छ । पूर्वसूचनामा वायु प्रदूषण बढेको छ भन्ने पाइयो भने, सार्वजनिक गाडी प्रयोग गर्ने, पेट्रोल खपत हुने सवारी साधनको सञ्चालनमा नियन्त्रण गर्ने, स्कुल र कलेजको अध्यापन सञ्चालन अवधि छोट्याउने जस्ता कार्य गर्न सकिन्छ जसले जोखिम र हानि, नोक्सानी कम गर्न सकिन्छ । 

दैनिक मौसम जानकारी सुविधाको कुरा मात्र होइन तर सार्वजनिक जीवन, स्वास्थ्य, सुरक्षा, र आर्थिक स्थिरताको रक्षा गर्न एक महत्त्वपूर्ण कारक पनि हो । समयमै र सही पूर्वानुमान प्रदान गरेर, मौसम जानकारीले व्यक्तिहरू, समुदायहरू र सरकारहरूलाई सूचित गरी निर्णयहरू लिन सक्षम बनाउँछ । 

हामी अहिले हिउँदे याममा छौँ । हिउँदे जलवायु पनि नेपालका लागि महत्त्वपूर्ण मानिन्छ । तर पछिल्लो केही वर्ष यता प्रक्षेपण गरिएअनुसार हिउँद याम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप