जस्टिन ट्रुडोको राजनीतिक जीवनको उकाली–ओराली
क्यानडाको उदारवादी पार्टीका नेता एवं प्रधानमन्त्री जस्टिन ट्रुडोले गएको सोमबार पार्टी प्रमुख तथा प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिए । उनको पार्टीले अर्काे नेताको नाम छनोट नगर्दासम्म उनी दुवै पदमा कामचलाउ भूमिकामा रहनेछन् ।
एक्कासि क्यानडाको सत्तामा आएको फेरबदलले संसारभर ट्रुडोको चर्चा भइरहेको छ । ५३ वर्षीय ट्रुडोका पिता पिएरे ट्रुडो पनि कुनै समय क्यानडाका प्रधानमन्त्री थिए । उनले लामो समय क्यानडाको सरकारको नेतृत्व गरेका थिए । जस्टिन ट्रुडोले आफ्ना पिताको शैली र प्रभाव केही हदसम्म समान रूपमा पछ्याएको ठानिन्थ्यो । यसले उनलाई लोकप्रिय हुन सजिलो बनायो ।
ट्रुडो तीनपटक निरन्तर चुनाव जितेर आफ्नो पदमा कायम रहने क्यानडाका बिरलै नेतामा पर्छन् । उनको कार्यकालमा कोरोना महामारी तथा मेक्सिको र अमेरिकासँग त्रि–पक्षीय व्यापार सम्झौताको दबाबका रूपमा क्यानडाले दुईवटा ठुला संकट झेलेको थियो ।
सन् २०१३ मा उनको लिबरल पार्टी ‘हाउस अफ कमन्स’मा तेस्रो स्थानमा झरेको तथा अन्य गहिरो संकटमा फसेका बेला उनले पार्टीको जिम्मा लिएका थिए । नेतृत्व लिएसँगै उनले ‘सन्नी वेज’ (घमाइलो बाटो) भनिने प्रभावकारी अभियान चलाएकाले सन् २०१५ मा उनको पार्टीलाई विजयी बनायो ।
उनी एकाएक विश्वभरका सञ्चारमाध्यममा छाउन थाले । उनको खास प्रकारको जस्तो लाग्ने अनुहारको पनि चर्चा हुन थाल्यो । उनका विभिन्न खाले गतिविधि प्रचार हुन थाले । २०१५ को नोभेम्बरमा आफ्नो विदेश भ्रमणका क्रममा फिलिपिन्स जाँदा उनी भीडमा फसेका थिए । सुरक्षा टोलीले उद्धार नै गर्नुपरेको थियो ।
पहिलो कार्यकालमा उनले अमेरिका र मेक्सिकोसँग त्रि–पक्षीय व्यापार सम्झौता सफलतापूर्वक निष्कर्षमा पुर्याएका थिए । क्यानडाका लागि असाध्यै महत्त्वपूर्ण मानिएको यो वार्ताको अगुवाइ तत्कालीन विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले गरेकी थिइन् ।
पहिलो कार्यकालमा उनले अमेरिका र मेक्सिकोसँग त्रि–पक्षीय व्यापार सम्झौता सफलतापूर्वक निष्कर्षमा पुर्याएका थिए । क्यानडाका लागि असाध्यै महत्त्वपूर्ण मानिएको यो वार्ताको अगुवाइ तत्कालीन विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले गरेकी थिइन् । क्यानडाका प्रधानमन्त्रीहरू माथि दुईवटा पुस्तकका लेखेका इतिहासकार जेडीएम स्टेवर्ट भन्छन्, ‘ट्रुडोले यसमा उत्कृष्ट रणनीतिका साथ कुशलतापूर्वक नयाँ सम्झौता गराउन सक्षम भए । त्यसैले मलाई लाग्छ, इतिहासमा उनको मूल्यांकन राम्रो हुन सक्छ ।’
ट्रुडोले सहज मूल्यमा साना नानीहरूको हेरचाह उपलब्ध गराउने प्रतिबद्धतासहित सामाजिक कार्यक्रमहरूमा पनि धेरै खर्च गरे ।
लैङ्गिक समानताप्रति प्रतिबद्ध उनी एक प्रतिबद्ध नारीवादीका रूपमा चिनिन्छन् । तर दुर्भाग्यवश आफ्नो राजनीतिक जीवनमा भेटेको शक्तिशाली महिला तथा आफ्नै सरकारका अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डसँगको नमिठो झगडाका कारण उनको सरकार ढल्ने अवस्था भयो ।
- विभिन्न काण्डबाट जोगिँदै
ट्रुडोको सुरुवाती लोकप्रियताले उनलाई विभिन्न अप्ठेरामा जोगिन सघायो । यस्ता अप्ठेरामा उनीभन्दा अघिका नेता फस्ने गरेका थिए । सन् २०१७ मा उनलाई नैतिक मामला हेर्ने ‘नीति आयुक्त’ले आगा खानबाट महँगो उपहार लिएको ठहर गर्यो । प्रधानमन्त्रीलाई यस्तो खालको अभियोग क्यानडाको इतिहासमा पहिलोपटक लागेको थियो ।
सन् २०१९ को निर्वाचनताका अर्काे खुलासा भयो । उनले आफ्नो किशोरवयमा काला जातिका मानिसलाई हियाउने अभ्यासका रूपमा चलेको चलन अनुरूप अनुहार कालो बनाएर फोटो खिचाएको कुरा बाहिर आयो । उनले आफू हुर्केको विशेषाधिकार प्राप्त वातावरणलाई दोष दिँदै धेरैपटक माफी मागेका थिए । अन्ततः उनको सरकार जोगिन सफल त भयो तर यसपटक आफ्नै बहुमतमा नभएर अन्य घटकहरूको सहयोगमा । अब अन्य पार्टीको समर्थन धेरै महत्त्वपूर्ण हुँदै गयो ।
निर्वाचनको केही महिनालगत्तै कोभिड महामारी देखापर्यो । ट्रुडो आफ्ना नागरिकलाई आड–भरोसा दिलाउन हरेक दिन टेलिभिजनमा देखिन थाले । यसले पनि राम्रो प्रभाव पार्न सकेन । उनको लोकप्रियताको ग्राफ अझ तल झर्न थाल्यो ।
ट्रुडोले राजीनामाको घोषणा गर्नुअघि बोल्दै स्टिवर्टले भने, ‘उनी अहिले यति धेरै अलोकप्रिय हुनुको एउटा कारण उनको धेरै भन्डाफोर हुँदै गएर पनि हो ।’ अर्थात् उनको व्यक्तित्वबारे मानिसहरू थप थाहा पाउँदै जाँदा उनको लोकप्रियता पनि त्यही अनुपातमा घट्दै गयो ।
ट्रुडोलाई आफूले कोरोना संकटको व्यवस्थापन कुशलताका साथ गरेको विश्वास थियो । यही विश्वासलाई लिएर उनले सन् २०२१ मा मध्यावधि निर्वाचन घोषणा गरे । तर उनको अनुमान गलत निस्कियो । उनले अर्काे अल्पमतको सरकारको नेतृत्व गर्नुपर्ने बाध्यता आइलाग्यो ।
यद्यपि उनको उत्साह घटेको देखिएन । उनी त्यत्तिकै वाचाल देखिन्थे । उनको पहललाई एकदमै कम मानिसले मात्र बुझेको देखिन्थ्यो ।
फ्रिल्यान्ड तत्कालीन अर्थमन्त्री मात्रै थिइनन्, उनको मन्त्री परिषद्को मुख्य सहयोगी पनि थिइन् । ट्रुडोले उनको घटुवा गर्ने प्रयास गरेपछि उनले डिसेम्बर १६ मा राजीनामा दिएर सरकारबाट बाहिरिइन् । उनको सहयोगीका अनुसार यस घटनाले ट्रुडोलाई स्तब्ध बनायो ।
‘म अन्तर्मुखी हुँ भन्ने मैले राम्ररी बुझेको थिएँ । साथै राजनीतिमा सफल हुन बहिर्मुखी हुन मैले सधैँ प्रयास गरिरहेँ ।’ उनले टोरन्टो स्टारसँग भनेका थिए ।
ट्रुडोका एक सहयोगीको अनुसार उनी असाध्यै लजालु मानिस हुन् । उनी आफ्नै नजिकका मानिससँग समेत आँखा जुधाएर कुरा गर्न सक्दैनन् । ट्रुडोले आफूले नचिनेका मानिससँग कुरा गर्न असहज हुने स्वभावले पार्टीमा विभिन्न समस्या पैदा गर्न थाल्यो । केही मन्त्रीले त सरकार छाडेपछि लेखेका पुस्तकमा ट्रुडोको भित्री घेरा तोड्नै कठिन हुने गरेको गुनासो गरेका छन् ।
- ‘ट्रुडोमेनिया’
ट्रुडोमा यस्तो स्वभाव देखिनुमा पिएरे ट्रुडोको छोराका रूपमा हुर्किनु पनि एक प्रमुख कारण हो । यसबारे बोल्दै लेखक तथा पत्रकार स्टिभ पाइकिनले सन् २०२४ को जुलाईमा भनेका थिए, ‘ट्रुडोको हुर्काई नै यस्तो भयो कि उनले आफू असाधारण चर्चित व्यक्ति भएको तथा सबै मानिस उनीहरूबाट केही लिन खोजिरहेको भन्ने जस्तो बुझाइमा आफूलाई पाए ।’
पिएरे ट्रुडो आफ्नो जमानामा सोख र विलासिताका लागि माहिर थिए । उनको चर्चा, गाडीहरूको सोख, चमकदार पहिरन र रोमाञ्चक रुचिहरूलाई सन् १९६० को दशकामा ‘ट्रुडोमेनिया’ भनेर चर्चा गरिन्थ्यो । सुरु–सुरुमा यस्तो पदावली छोरा ट्रुडोको मिडियामा परेको प्रभावको हकमा पनि प्रयोग गर्ने गरिन्थ्यो । उनका बाउछोरामा अरु पनि जटिल समानता थिए ।
‘यी बाउछोराको समानता भनेको जिद्दीपना पनि हो । यिनीहरू अगाडि प्रस्ट देखेको कुरा पनि नहेरेर आफ्नो जिद्दीमा कायम रहन्छन् ।’ ट्रुडोले आफूलाई अन्तसम्म लिबरलहरूको असल नेता मान्ने जिद्दी गरेको कुरा जोड्दै टोरन्टो विश्वविद्यालयमा राजनीतिशास्त्र पढाउने प्राध्यापक नेल्सन वाइजम्यानले भनेका छन् ।
ट्रुडो आफ्नो पृष्ठभूमिलाई सकारात्मक रूपमा जोड्दै आफू समाजलाई केही गर्न सक्ने बन्नका लागि भाग्यमानी परिस्थितिमा हुर्केको भन्ने गर्छन् । उनले राजनीतिमा आउनु अघि पढाउने काम गर्थे ।
‘यो मेरो काम गर्ने तथा मानिसहरूमा प्रभाव छोड्ने आफ्नै शैली हो । म यसमा आफूलाई अब्बल नै ठान्छु ।’ सेप्टेम्बर २०२४ मा स्टेफेन कोल्बर्टसँग टेलिभिजन कार्यक्रममा उनले भनेका थिए ।
उनका निकटवर्तीका अनुसार उनीमा व्यक्तिगत सम्बन्ध सञ्चालनमा धेरै समस्या छन् । सन् २०१९ को फेब्रुअरीमा पूर्वकानुनमन्त्री जोडी रेबोल्डले ट्रुडो र अरु अधिकारीले आफूमाथि दबाब दिएको आरोप लगाइन् । एसएनसी–लाभलिन नामक निर्माण कम्पनीलाई भ्रष्टाचारमा अनुसन्धान नगर्न दबाब दिइएको उनको भनाइ थियो ।
उनको राजीनामा लगत्तै ट्रेजरी बोर्डका अध्यक्ष जेन फिल्पोटको पनि पदत्यागको घोषणा आयो । यसमा त अझ ट्रुडोमाथिको भरोसा टुटेको बताइएको थियो । आफूलाई नारीवादी मान्ने प्रधानमन्त्रीका लागि यो झट्काजस्तै थियो । प्रधानमन्त्री हुनुका दुःखबाट ट्रुडोको निजी जीवन पनि अछुतो रहेन ।
गत वर्षको अगस्टमा उनको १८ वर्ष लामो वैवाहिक जीवनको अन्त भयो । उनीहरूका तीनजना छोराछोरी छन् । प्रतिकूलतामा पनि निर्भीक भएर आपसी संवाद गर्ने यो जोडी केही समयदेखि सँगै सार्वजनिक कार्यक्रममा देखिन छाडेका थिए ।
ट्रुडोको पतन गराउने ठुलो दुर्भाग्यको मोड त्यसबेला आयो, जब गत वर्षको डिसेम्बरमा फ्रिल्यान्डसँगको विवाद झगडामा परिणत भयो । फ्रिल्यान्ड तत्कालीन अर्थमन्त्री मात्रै थिइनन्, उनको मन्त्री परिषद्को मुख्य सहयोगी पनि थिइन् । ट्रुडोले उनको घटुवा गर्ने प्रयास गरेपछि उनले डिसेम्बर १६ मा राजीनामा दिएर सरकारबाट बाहिरिइन् । उनको सहयोगीका अनुसार यस घटनाले ट्रुडोलाई स्तब्ध बनायो । यो परिघटनालाई नजिकैबाट नियालिरहेको विपक्षी दलले तुरुन्तै सदनमा विश्वासको मतको माग गरिहाल्यो । फलतः ट्रुडो सरकारमा टिक्न सक्ने अवस्था रहेन र उनले राजीनामा दिएर बिदा भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान
-
‘सत्ताधारीले अहिले कसैलाई टार्गेट गरेमा अर्को पनि सरकार आउँछ’
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
विकास सहायता नीतिमा अर्थ मन्त्रालयले गर्न खोजेको संशोधन के हो ?