बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘न्याय निरूपण भई सभापति रवि लामिछाने फर्केर आउनुहुन्छ भन्ने विश्वास छ’ (भिडियोसहित)

‘सरकारको रवैयाका कारण रास्वपाप्रति फेरि सहानुभूति बढ्न थालेको छ’
बुधबार, २४ पुस २०८१

रास्वपा सभापति रवि लामिछाने निलम्बनमा परेसँगै उपसभापति डोलप्रसाद अर्याल कार्यवाहक सभापति बने । उनकै नेतृत्वमा यही पुस २० गतेदेखि दुई दिन केन्द्रीय समिति बैठक बस्यो ।

उक्त बैठकले ११ वटा निर्णय त गर्‍यो । तर, पार्टीलाई नयाँ मार्गदर्शन गर्‍यो कि गरेन भन्ने प्रश्न उब्जिएको छ । विशेषगरी संसदीय दलको नेता को बन्ने ? महाधिवेशन वैशाखमै हुन्छ कि हुँदैन ? लामिछानेबिना पार्टी कसरी अघि बढ्छ ? यावत् विषयमा अन्योल देखिन्छ ।

यसै सेरोफेरोमा रास्वपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शिशिर खनाललाई रातोपाटीकर्मी रोमन आचार्यले केही सवाल उठाएका छन् । प्रस्तुत छ, उक्त सवाल–जवाफको सम्पादित अंशः–

  • रास्वपा सभापति रवि लामिछाने हिरासतमा रही अदालती प्रक्रियाको सामना गरिरहेका छन् । यस्तो समयमा कार्यवाहक सभापतिको नेतृत्वमा केन्द्रीय समिति बैठक दुई दिन बस्यो । बैठकले पार्टीलाई कस्तो ऊर्जा दियो ?

सभापति हिरासतमा गइसकेको अवस्थामा पार्टीले अन्य अवयवहरूमा काम गर्दै थियो । हामीले राष्ट्रिय भेलाबाट महाधिवेशन घोषणा गरिसकेका थियौँ । त्यसैको उपज जिल्ला भेलाहरू भइरहेका थिए  । 

हामीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्‍यौँ । उपनिर्वाचनको पनि विश्लेषण र समीक्षा गर्‍यौँ । महाधिवेशनको पूर्वतयारीसहित वडादेखि केन्द्रसम्मको अधिवेशनको तयारीका लागि हामीले गहन छलफल गर्‍यौँ । 

जलेश्वर बैठकबाट हाम्रो सिद्धान्तमा प्रस्टता ल्याइसकेका छौँ । त्यसको आधारमा विभिन्न विधागत पोलिसीमा काम गर्ने निर्णय हामीले गरेका छौँ । यसका साथै मिसन ८४ को तयारीको विषयमा पनि छलफल भयो । 

हामी प्रतिपक्षी दल छाया सरकारका रूपमा मात्र काम गर्ने हैन कि अब आउँदो चुनावबाट बहुमत ल्याएर कसरी सरकार सञ्चालन गर्ने ? त्यो नीतिमा पनि काम गर्नेछौँ । त्यो अर्थमा स्पष्ट रूपमा यो बैठकले पार्टीलाई मार्गदर्शन दिएको छ ।

  • सभापतिको विषयमा केन्द्रीय नेता र शीर्ष नेतृत्वले राखेको धारणाचाहिँ के हो ?

केही समयको अन्तरालमा बसेको केन्द्रीय समिति बैठक भएकाले पार्टीका विभिन्न गतिविधिको बारेमा कुरा उठ्यो नै । सभापतिमाथि साधिएको राजनीतिक प्रतिशोधलाई पनि पार्टी नेतृत्वले प्रस्ट बनायो । जुन कुरा जनताले पनि बुझिसकेको विषय हो ।

हामी अदालती प्रक्रियाको विषयमा स्पष्ट छौँ । पार्टी सभापतिले सुरुदेखि नै निर्देशन गर्नुभएको तथा उहाँको सार्वजनिक वक्तव्य र सामाजिक सञ्जालमा लेखेरै अदालतप्रति भरोसा छ, हामीले न्याय पाउँछौँ भनेर भरोसा व्यक्त गर्नुभयो । त्यसैले यो विषय अदालतमा गइसकेपछि सार्वजनिक मुद्दाको विषयमा टीकाटिप्पणीले न्याय निरूपण भएर सभापति फर्केर आउनुहुन्छ भन्ने हाम्रो विश्वास बैठकमा सबैबाट व्यक्त भयो ।

  • अर्थात्, सभापतिको विषयमा अपेक्षित बहस र छलफल तपाईंहरूले गर्नुभएन होइन त ? 

बाहिर हामीलाई अदालतमा भएको विषयमा सडकमा गए भनेर लान्छना लाग्यो । तर, हामी सुरुवातबाटै न्यायिक प्रक्रियामा पूर्णता हुने र अदालतप्रति पूर्ण भरोसामा थियौँ । तर, सरकारले हिरासत लामो समयसम्म लम्ब्याउने प्रयास नियोजित र नियतवश थियो । त्यो प्रक्रियाको हामीले विरोध गरेको हो । त्योबाहेक अदालती प्रक्रियामा हाम्रो समर्थन र भरोसा छ । न्यायालयप्रति भरोसा छ भन्ने सभापतिको समेत लाइन भएकाले पनि अदालतमा प्रवेश गरेका कुरालाई टीकाटिप्पणी गर्नुहुँदैन भनेर हामीले छलफल गरेनौँ ।

बाहिर मत आएन भनिएको ठाउँमा यसअघि खासै रास्वपाको उपस्थिति थिएन । उपनिर्वाचनले रास्वपालाई त्यहाँ उपस्थित हुन सहज बनायो ।
  • सभापति हिरासतमा गएपछि भएको उपनिर्वाचनमा तपाईंहरूको स्थिति दयनीय देखियो । यस विषयमा केन्द्रीय समितिमा कस्ता समीक्षा र छलफल भए ?

उपनिर्वाचनमा फरक–फरक मत आइरहँदा म आफैँ पनि उपनिर्वाचनको केन्द्रीय समन्वयमा थिएँ । उपनिर्वाचनको केही प्रस्टता थियो । राष्ट्रिय भेलामा सभापतिको प्रतिवेदनले पनि हामीलाई मार्गनिर्देश गरेको थियो । पार्टीको रूपमा सहभागी हुने र कोही चाहनुहुन्छ भने घण्टी मात्र चुनाव चिह्नमा सहभागी हुन सक्ने र सकारात्मक नतिजा आउने हुन सक्दा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्न सक्ने भनेर तीनवटा स्पष्ट मार्गनिर्देशन थियो । हामी दुई–तीनवटा रणनीति बनाएर अघि बढेका थियौँ । 

पहिलो, ती मार्गनिर्देशनहरूलाई पछ्याउँदै जित हासिल गर्न सक्ने ठाउँमा उम्मेदवारी दिने अथवा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने । प्राकृतिक रूपमा सबल नभएका र संगठन निर्माणमा चुनौती भएका ठाउँहरूलाई संगठन निर्माणको आधारशिला बनाउने र जित हासिल गर्नै पर्छ भन्ने मान्यता हामीमा थिएन । 

काठमाडौँ–१६ मा जित हासिल गर्न सकिने भन्ने नै थियो । र, नतिजा आयो । झापामा हामीले समर्थन गरेको उम्मेदवारले चुनाव जित्नुभएको छ । एकदमै दुर्गम र ग्रामीण भूभागमा भएको उपनिर्वचनमा हामीले संगठन निर्माण गर्ने अवसरका रूपमा लियौँ ।

बाहिर मत आएन भनिएको ठाउँमा यसअघि खासै रास्वपाको उपस्थिति थिएन । उपनिर्वाचनले रास्वपालाई त्यहाँ उपस्थित हुन सहज बनायो । ग्रामीण भेगमा अब रास्वपा संगठन निर्माण प्रक्रियामा छिरेको भनेर साथीहरू उत्साहित रहेको मैले पाएँ । हामीले काम गर्नुपर्छ भन्ने थाहा भएको स्थानमा काम गर्नुपर्छ भन्ने बाटो र ढोका खुला भएको महसुस भएको छ ।

  • अरू थोकै काममा अल्झियौँ । संगठन निर्माणमा ढिलासुस्ती र चुक्दै गएको रहेछ भन्ने केन्द्रीय समितिलाई लागेन र ?

संगठन निर्माणको गतिलाई सापेक्षित रूपमा हेर्नुपर्छ । केही ठाउँमा हामीले निर्वाचन जितेका छौँ । धेरै ठाउँमा अघिल्लो पटकभन्दा धेरै कम मत आएको छ भन्ने हामीलाई थाहा थियो । हामीमाथि पछिल्लो समय विभिन्न ढंगले प्रहार भए । सोही कारणले संगठन निर्माणमा अपेक्षित गति लिनलाई कतै ढिलाइ भएको भन्ने अनुभव हामीलाई छ । 

एकै पटक देशका सबै क्षेत्र र भूगोलहरूमा संगठन निर्माण गर्न सकिन्छ भने मानवीय, आर्थिकलगायत स्रोतको अभाव हुन्छ नै । यो केन्द्रीय समितिले समग्र परिस्थितिलाई मूल्यांकन गर्दै बलियो ठाउँमा अझै बलियो बन्दै जाने, जहाँ कमीकमजोरी छ त्यहाँ सुधार गर्दै जाने भन्ने किसिमबाट छलफल र बहस भयो ।

  • पार्टी स्थापनापश्चात् एकपछि अर्को खाडलमा फस्दै गयो । त्यसले शक्ति उस्तै छ, जनता साथैमा छन् भन्ने केन्द्रीय समितिको ठहर हो कि हैन ? कि कमजोर हुँदै गएको ठहर हो ?

समग्र राजनीतिक विश्लेषणमा पछिल्लो समय हामी सरकारमा गइसकेपछि र सभापतिमाथि सहकारीको विषयमा जसरी प्रहार हुन थाल्यो । सरकारमा रहँदा हामीमाथि सद्भाव खस्केको महसुस त्यस बेलै गरेको हो । तर, पछिल्लो समय सरकार जुन ढंगले अघि बढ्यो त्यसले फेरि पार्टीप्रति सहानुभूति बढ्न थालेको भन्ने रिपोर्टिङ हरेक प्रदेशबाट आउनुभएका साथीहरूले गर्नुभएको छ । 

सिंगो केन्द्रीय समिति वैशाखमा महाधिवेशन हुनुपर्छ भन्ने तयारीमै छ । यसमा हामी स्पष्ट भए पनि वैशाखमै महाधिवेशन गर्न द्रुत गतिमा काम गर्नुपर्ने चाहिँ छ ।

त्यो काठमाडौँको उपनिर्वाचनमा पनि हामीले महसुस गरेको हो । मतदातासँग भेट्दा रविलाई कति दुःख दिएको यो सरकारले भन्ने खाले कुराहरू धेरैले गर्नुहुन्छ । उहाँहरूले मूल नेतृत्व सरकारमा नगइदिएको भए हुन्थ्यो र सरकारबाहिर बसेको भए हुने, सभापति नै किन सरकार र गृह मन्त्रालयमा जानुभएको ? अरूलाई पठाएको  भए हुन्थ्यो भन्ने खाले प्रतिक्रिया हामी पाउँदथ्यौँ । यसले एक किसिमको अविश्वास र निराशा सिर्जना भएको हो कि भन्ने थियो । अहिले चाहिँ हामी त्यहाँबाट रिकोभरी स्टेजमा आउँदै छौँ भन्ने विश्लेषण रह्यो ।

  • तपाईंहरूको सार्वजनिक अभिव्यक्ति सुन्दा वैशाखमा महाधिवेशन नहुन सक्ने पनि संकेत देखिन्छ । के महाधिवेशन वैशाखमै गर्ने ग्यारेन्टी केन्द्रीय समिति बैठकले गर्न सक्यो ?

सिंगो केन्द्रीय समिति वैशाखमा महाधिवेशन हुनुपर्छ भन्ने तयारीमै छ । यसमा हामी स्पष्ट भए पनि वैशाखमै महाधिवेशन गर्न द्रुत गतिमा काम गर्नुपर्ने चाहिँ छ । हामीले यसका लागि दुईमहिने अभियान नै गर्ने निर्णय गरेका छौँ । नेतृत्वको वैशाखमै महाधिवेशन गर्नुपर्ने धारणा बैठकमा थियो । त्योभन्दा अन्य कुनै धारणा र सार्नुपर्छ कि भन्ने छलफल पनि गरेनौँ ।

  • वैशाखमा महाधिवेशन हुन्छ भन्ने ग्यारेन्टी छ र ?

त्यसप्रति हाम्रो पूर्ण प्रतिबद्धता नै छ । कार्यवाहक महामन्त्रीलगायत सबैको स्पष्ट प्रतिबद्धता रह्यो । केन्द्रीय समिति बस्ने बेलासम्म ६२ जिल्लाको भेला सम्पन्न भइसकेको छ ।

  • वडा तहसम्म पुग्नुपर्ने होला । रफ्तार हेर्दा त्यो देखिँदैन । अनि, कसरी सम्भव छ वैशाखमा महाधिवेशन ?

हामीले वडा अधिवेशनहरू गर्दै आएका छौँ । करिब एक हजार ५०० वडामा अधिवेशन सम्पन्न गरिसकेको अवस्था छ । अरू थप वडामा काम गर्दै छौँ । वडाको प्रक्रिया क्रमिक रूपमा अघिदेखि नै चलेको हो । 

हामीले प्राथमिकता दिएर जिल्ला भेला गर्नुको कारणचाहिँ जिल्ला समितिलाई नयाँ पारित विधानअनुसार पूर्ण कार्यसमिति बनाउनका लागि हो । यसको मूल उद्देश्य नै मातहतका कार्यसमितिमा अधिवेशन गरेर अघि बढ्छ भनेर हो ।

  • केन्द्रीय समिति बैठकले नै संविधान संशोधनको बहसका लागि प्रमुख सचेतक सन्तोष परियारको नेतृत्वमा समिति बनाएको छ । सरकारले तपाईंहरूसँग संवाद नै अघि नबढाई समिति किन बनाएको ? यसले के काम गर्छ ?

हामीले मुलुकको शासकीय स्वरूपमा फरक धारणा सुरुवातबाटै राख्दै आएका छौँ । प्रत्यक्ष कार्यकारी सुरुबाटै राखेका हौँ । जुन हाम्रो वाचापत्रमा पनि उल्लेख छ । हामीले उठाएको मुद्दालाई स्थापना गर्न संविधान संशोधन चाहिन्छ नै ।

नयाँ ढंगले कुनै पनि विषय विकास नभएको अवस्थामा उहाँ (मुकुल ढकाल) फर्कने भन्ने कुरा छैन । उहाँले जुन ढंगले प्रस्तुति र पार्टीमाथि आक्रमण गर्नुभयो त्यसैले पनि उहाँलाई पार्टीमा फर्काउने विषय न्यायसंगत छैन ।

अहिले दुई ठूला दल एक ठाउँमा आएर संविधान संशोधनको विषयमा कुरा उठ्यो । त्यो हुनै लागेको हो भने हामीले उठाउँदै आएको विषयबाहेक अन्य आवश्यक कुरा जुन संविधानमा संशोधन हुनुपर्ने के छन् भनेर हाम्रो प्रमुख सचेतकको नेतृत्वमा भएको समितिले काम गर्छ । 

सातवटै प्रदेशमा गएर समितिले कुरा बुझ्छ । विज्ञहरूसँग सल्लाह गर्छ । र, प्रतिवेदन तयार गर्छ । जसले संविधानको विभिन्न पक्षहरूलाई कहाँ र कसरी सम्बोधन गर्ने भनेर समग्रतामा संविधान संशोधनको विषयलाई हेर्छौं ।

  • संसदीय दलको उपनेता को बन्ने भन्ने लफडा छ भन्ने चर्चा हुने गरेको छ । पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीसहित फर्काउनुपर्‍यो भनेर प्रदेश सभापतिहरूको लिखित पत्र पनि आएको थियो । यसमा निर्णय किन नगरेको ?

केन्द्रीय समिति बैठकको एजेन्डामै यी दुवै विषय थिएनन् । संसदीय दलको नेता को बनाउने भनेर छलफल गर्न हामीलाई अहिले उपयुक्त समय थिएन । दलको नेता रवि लामिछानेको विषयमा अदालती प्रक्रियामा बहस भइरहेको छ । त्यसले कुन रूप लिन्छ भन्ने निचोड नहुँदै हतारमा फरक ढंगबाट निर्णय गर्ने आवश्यकता हामीलाई महसुस भएको छैन । आवश्यकता रहेको बेला संसदीय दल र पार्टीले निर्णय गर्छ । 

बाहिर भनेजस्तो विवाद भित्र छैन । व्यक्तिहरूले व्यक्तिगत वा सामूहिक रूपमा आकांक्षा राख्नु लोकतान्त्रिक अभ्यास नै हो । त्यसलाई झगडा भनियो भने लोकतन्त्र कता पुग्ला र ? किनभने, पार्टीको प्रक्रिया, विधिअनुसार म पनि चुनिन लायक छु भनेर पार्टीभित्र कुरा राख्नु स्वाभाविक विषय हो । विवादमा यो विषय पुगेको छैन ।

पूर्वमहामन्त्रीलाई फर्काउनुपर्छ भनेर औपचारिक रूपमा कोसीका प्रदेश सभापतिले विषय उठान गर्नुभएको थियो । तर, पार्टीले यसअघि नै औपचारिक रूपमा निर्णय गरेको स्थितिबाट हामी फर्कन मिल्ने अवस्था छैन । निर्णय प्रक्रियामा उहाँको पनि संलग्नता छ । नयाँ ढंगले कुनै पनि विषय विकास नभएको अवस्थामा उहाँ फर्कने भन्ने कुरा छैन । उहाँले जुन ढंगले प्रस्तुति र पार्टीमाथि आक्रमण गर्नुभयो त्यसैले पनि उहाँलाई पार्टीमा फर्काउने विषय न्यायसंगत छैन । तर, एजेन्डामा नभएकोले छलफल गर्नुपर्ने आवश्यकता नै रहेन ।

  • बाहिरबाट हेर्दा रास्वपा अन्योलमा छ । सभापतिको मुद्दाकेन्द्रित भएर संकटमा भएर गुज्रेको अवस्थामा पार्टी अब कसरी अघि बढ्छ ?

मूलतः पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोधको रूपमा प्रहार हुन थाल्यो । त्यसपछि नेतृत्वको वरिपरि नेतृत्वलाई बलियो बनाउनुपर्छ भनेर हाम्रो ध्यान त्यता थियो । तर, त्यो बिचमा हामीले पार्टीको नियमित गतिविधिसहित महाधिवेशनकेन्द्रित गतिविधि अघि बढाएका थियौँ । 

पछिल्लो समय यो पार्टी टिक्दैन, एकढिक्का छैन भन्ने आक्षेपहरू, आरोप लाग्ने गरेको थियो । तर, यो बैठकपश्चात् ती सबै विषयलाई चिर्दै संगठन र नीतिको रूपमा मार्गनिर्देशनसहित अघि बढ्ने निर्णय गर्‍यो । त्यसले पार्टी सबल, सक्षम छ र हामी अघि बढ्न सक्छौँ भन्ने सन्देश दिएको छ ।

तपाईंले भनेजस्तै जुन किसिमको अन्योल पार्टी पंक्तिमा आरोप आक्षेप लागेको थियो त्यसलाई यो बैठकले चिर्न सफल भएको अनुभव मलाई भएको छ । यसले पार्टी चलयमान भयो । समग्र पार्टी पंक्तिलाई उत्साहित बनायो भन्ने बुझेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया