बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
ईपीएस विवाद

कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन

बुधबार, २४ पुस २०८१, ११ : ००
बुधबार, २४ पुस २०८१

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन सुरु भएको छ । भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा समेत दक्षिण कोरिया जान नपाएकाहरू आन्दोलनमा उत्रिएका हुन् ।

दक्षिण कोरियाले एचआरडी कोरियामार्फत सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रका लागि ईपीएस मार्फत कामदार माग गरेको थियो, जसमा ३५ हजार नेपालीले आवेदन भरेका थिए । तीमध्ये चार हजार जनालाई भाषा परीक्षामार्फत छनोट गरिएको थियो । छनोट भएकामध्ये हालसम्म ३१४ जनामात्रै कोरिया पुगेको ईपीएस कोरिया शाखाले जनाएको छ । थप ४७८ जनाको एलसी जारी भएको छ ।

एक वर्षदेखि कुरेर बस्दासमेत कोरिया जान नपाएको भन्दै भाषा परीक्षा पास गरेकाहरूले ग्वार्कोमा रहेको ईपीएस कार्यालय घेराउ गरेका छन् । उनीहरूले शाखाका निर्देशक राजकुमार राईलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

‘नलैजाने भए पास किन गरेको ? ३५०० जनाको भविष्यमाथि खेलवाड गर्न पाइँदैन । ६ पटकसम्म ज्ञापनपत्र बुझाउँदा कुनै सुनुवाइ भएको छैन । हरेक पटक ईपीएस कार्यालय प्रमुखलाई भेट्न जाँदा चाँडै हुन्छ भनेर सान्त्वना दिने काममात्रै भयो । तर, कहिले जान पाउने टुङ्गो भएन,’ भाषा पास गरेर कोरिया जाने तयारीमा रहेका एक युवाले भने ।

उनीहरूले पछिल्लो पटक मंसिर १० गते ज्ञापनपत्र बुझाएका थिए । त्यो बेला ईपीएस कोरिया शाखाका निर्देशक राईले एक हप्ताभित्र माग सम्बोधन गरिने आश्वासन दिएको ती युवाले बताए । तर, एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै पहल नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

नलाने हो भने पास किन गरेको भन्दै उनले अब रोष्टर परिवर्तनको सुविधा दिनुपर्ने बताए ।

b1c23519-cf75-4f27-8225-4786413263f07c7ef7f0-bffe-4474-a0a4-0e9a03ddae02

नेपालबाट पहिलो पटक सन् २०२३ मा सिप बिल्डिङ क्षेत्रका लागि भाषा परीक्षा खोलिएको थियो । त्यसका लागि ३५ हजार जनाले फाराम भरेका थिए । २५०० जनाको कोटा तोकिएकोमा चार हजार ९८ जना पास गराइएको थियो । पास भएकाहरूको सूची २०८० माघ १७ गते कोरिया पठाइएको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक राईले उनीहरूलाई पठाउने प्रक्रिया भइरहेको बताए । दुई वर्षभित्र जान पाउने बताउँदै उनले यसमा कुनै ढिलाइ नभएको प्रस्ट पारे ।

‘कतिपय उडिसके । कतिको एलसी जारी भइरहेको छ । उताका रोजगारदाताबाट एलसी जारी भएपछि मात्रै जान पाउने हो । त्यो काम भइरहेको छ । यसमा कुनै ढिलाइ भएको छैन,’ निर्देशक राईले भने ।

ईपीएस भाषा परीक्षा पास गरेकाहरूलाई कोरिया लैजाने क्रममा विभिन्न खालका समस्या देखिएका छन् । श्रमिकहरूको तर्फबाट ती समस्या समाधानको माग गर्दै निर्देशक राईलाई ज्ञापनपत्र बुझाइएको छ ।

ईपीएसमार्फत कोरिया जाने युवाको फ्लाइट रद्द हुने, सिप बिल्डिङ तथा कृषितर्फ पास भएकाहरूको प्रक्रिया ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न समस्या समाधानको मागसहित निर्देशक राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ईपीएस प्रक्रिया पूरागरी उत्तीर्ण भएका विद्यार्थीहरु काठमाडौंमै बस्नुपर्ने बाध्यताले आर्थिक बोझको सामना गर्नुपरेको उनीहरूको भनाइ छ । बारम्बार फ्लाइट क्यान्सिल हुँदा आवास, यातायात तथा अन्य खर्चहरूको भार समेत बढेको उनीहरूको गुनासो छ ।

कृषि, पानी जहाज निर्माण र अन्य क्षेत्रमा प्रक्रिया ढिलो हुँदा विद्यार्थीहरूको रोस्टर अवधि सकिन थालेको भन्दै यो समस्याको समेत समाधान गर्न उनीहरूले माग गरेका छन् । लामो समयदेखि पानी जहाज निर्माण तथा कृषि क्षेत्रका कामदार जान नपाएको भन्दै अन्य क्षेत्रमा स्थानान्तरण गर्न उनीहरूको माग छ ।

नेपालको तर्फबाट ढिलासुस्ती तथा लापर्बाही भएकाले कोरियाले समयमै कामदार नपाउने समस्या देखिएको उनीहरूको भनाए छ । कार्यक्रम संयोजक सन्तोष पाण्डेले पास भएर बसेका कामदारहरू एक वर्षदेखि प्रतीक्षामा रहेको बताए ।

ईपीएस शाखा कार्यालयका निर्देशक राईले विभिन्न समस्यासहित ज्ञापनपत्र आएको र ती समस्या समाधानका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप