बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
भागबण्डामा लफडा

हरिप्रभा र  मीनकृष्णको टसल : बागमती खेलकुद परिषद्का ४ सदस्यको शपथ ४५ दिनदेखि ‘होल्ड’

बुधबार, २४ पुस २०८१, १० : ०६
बुधबार, २४ पुस २०८१

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्का ४ जना सदस्य नियुक्त भएको ४५ दिनसम्म पनि पद तथा गोपनीयताको शपथ लिन पाएका छैनन् । गत मंसिर १० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले २ महिला सहित ४ जनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगित श्रेष्ठ, चितवनकी नवीना खनिया र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयको सिफारिस तथा युवा तथा खेलकुद मन्त्रालयको सहमतिमा गरिएको उक्त नियुक्तिमा मन्त्रीहरूबिच भागबण्डाको लफडा देखिएको छ । सामाजिक विकास मन्त्रालयका एक कर्मचारीका अनुसार भागबण्डा नमिलेकै कारण उनीहरूको शपथ रोकिएको हो ।

सत्ता साझेदार दल एमालेबाट २ र कांग्रेसबाट २ जनालाई सदस्यमा नियुक्त गरिएको थियो । मन्त्रालयका ती कर्मचारीका अनुसार नियुक्त गरिएकामध्ये २ जना सदस्यको विषयमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले समस्या देखाएकी थिइन् । युवा तथा खेलकुद मन्त्रीले कांग्रेसबाट सदस्य छनोट गरी पठाएका थिए । सो विषयमा सामाजिक विकासमन्त्रीले समस्या देखाएर व्यक्ति परिवर्तन गर्न भनेको तर मन्त्रिपरिषद्बाट युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले सिफारिस गरे अनुसार नै सदस्य नियुक्त गरेको ती कर्मचारीको भनाइ छ ।

मन्त्री महर्जनले कांग्रेसबाट रवि महर्जन र कल्पना खड्कालाई सदस्यमा सिफारिस गरेका थिए । रवि मन्त्री महर्जनको विश्वास पात्र हुन् भने खड्का कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ निकट हुन् । खड्का कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिका सदस्यसमेत हुन् । दुवै सदस्य फरक समूहबाट ल्याएको र आफ्नो मान्छे नसमेटेको भन्दै सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी रुष्ट बनेकी थिइन् ।

मन्त्रिपरिषद्बाट आफूले भने अनुसार नभएको भन्दै सामाजिक विकासमन्त्रीले समय नदिँदा नवनियुक्त सदस्यहरूको शपथ हालसम्म ‘होल्ड’ गरिएको ती कर्मचारी बताउँछन् ।

केही समय अघिमात्र मन्त्री खड्गीले आफ्नै श्रीमान् प्रकाश खड्गीलाई एक प्रादेशिक अस्पतालको अध्यक्ष पदमा नियुक्त गराएकी थिइन् । उनले स्वास्थ्य मन्त्रालय मार्फत काठमाडौँको टोखा चण्डेश्वरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा श्रीमान् प्रकाशलाई नियुक्त गरेकी थिइन् ।

सो पश्चात् प्रदेश सरकार तथा मन्त्रिपरिषद्मा मन्त्री खड्गीको आलोचना हुँदै आएको छ ।

  • समय व्यवस्थापन नहुँदा ढिला भएको हो: मन्त्री खड्गी

मन्त्री खड्गीले नियुक्त भएका सदस्यहरूको शपथ ग्रहण समय अभावका कारणले ढिलो भएको बताइन् । मन्त्रालयको विभिन्न कार्यक्रमका लागि जिल्ला बाहिर जानुपर्ने भएकाले शपथ ग्रहणमा समय निकाल्न नसकेको उनको भनाइ छ ।

क्याबिनेटबाट नियुक्त गरिएका ४ र मन्त्रालयबाट पनि ६ जना सदस्य नियुक्त गर्नुपर्ने भएकाले केही समय लागेको मन्त्री खड्गीले बताइन् । अन्य ६ जनाको नियुक्तिपछि एकै पटक शपथ गराउने गरी तयारी भइरहेको उनले जानकारी दिइन् ।

६ सदस्यको नियुक्ति औपचारिक रूपमा सकिएको र छिट्टै नै प्रशासनिक काम सकेर शपथ गराउने उनको भनाइ छ ।

यता प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार केही दिनमै सदस्यहरूको शपथ ग्रहण हुनेछ । मन्त्रालयमा सम्पूर्ण प्रक्रिया पूरा गरी प्रस्ताव पेस गरिएको र निर्णय भए लगत्तै शपथ हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप