साढे २४ अर्ब लागतमा दुई पाइपलाइन निर्माण गर्ने निगमको तयारी
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र मटितेल पनि पाइपलाइनबाट ल्याउने तयारी गरिरहेको छ । हाल डिजेल आयात भइरहेको मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनबाट पेट्रोल र मटितेल पनि ल्याउनका लागि परीक्षण गरिरहेको निगमले जनाएको छ ।
प्रथम चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ गते उक्त पाइपलाइनबाट डिजेल आयात गरिएको थियो । अहिले दोस्रो चरणको काम करिब सम्पन्न भइसकेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अब एक साताभित्र परीक्षण सकिने र तत्काल पेट्रोल र मटितेलतेल आयात गरिने बताए ।
‘दोस्रो चरणको काम लगभग सम्पन्न भइसकेको छ । अहिले परीक्षण गरिरहेका छौँ,’ प्रवक्ता ठाकुरले भने, ‘यस्तो परीक्षण अझै एक सातासम्म रहने छ । परीक्षण सकिनासाथ नियमित रुपमा डिजेल पेट्रोल, मटितेल आवश्यकताअनुसार आयात गर्ने तयारी गरेका छौँ ।’
ठाकुरका अनुसार दोस्रो चरणमा पेट्रोल ट्याङ्की, फायर सिस्टम, अन्य भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरी परीक्षण भइसकेको छ । यस अवधिमा परीक्षणका लागि करिब ५५०० किलो लिटर पेट्रोल ल्याइएको र परीक्षण सफल भएको निगमले जनाएको छ । यसैगरी ११ सय किलोलिटर मटितेल पनि सोही पाइपलाइनबाट ल्याएर परीक्षण गरिसकेको छ ।
- साढे २४ अर्ब लागतमा दुई पाइपलाइन
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पेट्रोलियम पाइपलाइन योजना अन्तर्गत एक अन्तरदेशीय र एक आन्तरिक पाइपलाइन निर्माण अघि बढाइसकेको छ । निगमले साढे २४ अर्ब लागतमा दुई पाइपलाइनको निर्माण अघि बढाएको छ ।
नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन (आईओसी) बिच बिजिनेस टु बिजिनेस (बीटुबी एग्रीमेन्ट) सम्झौता भएपछि थप एक अन्तरदेशीय र एक आन्तरिक पेट्रोलियम पाइपलाइन निर्माण कार्य अघि बढेको हो । बीटुबी सम्झौता २०८१ असोज १७ गते (२०२४ अक्टुबर ३) नयाँ दिल्लीमा भएको थियो ।
यसअघि २०८० जेठ १७ गते (३१ मे, २०२३) तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा जीटुजी सम्झौता भएको थियो । त्यसपछि नेपालतर्फ एउटा कमिटी बन्यो र बीटुबी फ्रेमवर्क बनाउने ड्राफ्ट तयार भएको थियो ।
बीटुबी सम्झौतापछि पाइपलाइन र दुई स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माण कार्यको प्रक्रिया अघि बढेको निगमले जनाएको छ । यससँगै निर्माण अघि बढाउन निगम र आईओसीले आ–आफ्नो तर्फबाट ४–४ सदस्यीय सञ्चालक कमिटी (स्टेयरिङ्ग कमिटी) बनाएको छ ।
प्रवक्ता ठाकुरका अनुसार निगमतर्फबाट बजार निर्देशक तथा नायब कार्यकारी निर्देशक इन्जिनियर बीरेन्द्र गोइत र आईओसीको तर्फबाट कन्ट्री म्यानेजर निरुपमा रायज्यादाले उक्त स्टेयरिङ कमिटीको नेतृत्व गरिरहेका छन् ।
निगमले सिलगुडी–झापा (चारआली) पाइपलाइन आयोजनाका लागि आयोजना प्रमुखको जिम्मेवारी ईन्जिनियर सुरेन्द्र महतो र अमलेखगञ्ज–चितवन (लोथर) पाइपलाइनको आयोजना प्रमुखको जिम्मेवारी ईन्जिनियर अभिशेष ठाकुरलाई दिएको छ ।
- ५४ महिनामा निर्माण सम्पन्न गर्ने तयारी
स्टेयरिङ कमिटीको पहिलो संयुक्त बैठक गत कात्तिक २९ गते काठमाडौँमा बसेको थियो । बैठकले दुई पाइपलाइन र दुई स्मार्ट ग्रीनफिल्ड टर्मिनल सँगसँगै अघि बढाउने निर्णय गरेको छ । कमिटीले ५४ महिनाभन्दा अघि नै निर्माण सम्पन्न गर्ने तयारी गरेको छ ।
‘यो अवधिमा निर्माण सम्पन्न गर्नका लागि जग्गाको विषय चाँडोभन्दा चाँडो टुङ्ग्याउनु पर्छ । वातावरण प्रभाव मूल्याङ्कन पनि अघि बढाउनु पर्ने हुन्छ । जति छिटो यो काम अघि बढाउनु पर्छ,’ प्रवक्ता ठाकुरले भने, ‘झापाको सकिइसकेको छ भने चितवनमा सर्भेको लागि यसै साता भारतीय टोली आउँदैछ । वातावरणीय प्रभाव मूल्याङ्कन र ल्याण्ड फिलिङको काम सक्ने बित्तिकै निर्माण कार्य अघि बढ्छ ।’
प्रवक्ता ठाकुरका अनुसार यी दुवै पाइपलाइन विस्तार भएपछि इन्धन आयातको लागत घट्नुका साथै भण्डारण क्षमता बढ्ने छ । अहिलेको निगमको कुल भण्डारण क्षमताभन्दा बढी क्षमता चितवन डिपोमा हुनेछ । साथै इन्धन ल्याउन इन्धन प्रयोग गर्नुपर्ने अवस्था हट्ने र वातावरण प्रदुषण कम हुने अनुमान छ ।
भारतको बरौनीबाट काठमाडौँसम्म पट्रोल ढुवानी गर्नका लागि प्रतिलिटर ६ रुपैयाँ लाग्छ । तर अमलेखगन्जबाट काठमाडौँ डिजेल ढुवानी गर्न ३ रुपैयाँ लाग्छ । पाइपलाइनबाट ल्याउँदा ४५ प्रतिशत ढुवानी खर्च बचत हुन्छ ।
नेपालमा दैनिक २ हजारदेखि २ हजार ५०० किलोलिटर पेट्रोल खपत हुँदै आएको छ । डिजेल ४ हजारदेखि ४ हजार ५०० किलोलिटरसम्म खपत छ । ग्यास दैनिक करिब एक लाख सिलिण्डर खपत छ । यी इन्धन आयात गर्दा ढुवानीमा ठुलो रकम खर्चिनु पर्ने बाध्यता छ ।
पाइपलाइनबाट ग्यास आयातका लागि पनि अध्ययन भइरहेको प्रवक्ता ठाकुर बताउँछन् । यसैगरी हवाई इन्धन पनि पाइपलाइनबाट ल्याउने योजना छ । चितवनको लोथरमा हवाई इन्धन आयात गर्नका लागि भण्डारण ट्याङ्क निर्माणको तयारी भएको प्रवक्ता ठाकुरले बताए ।
- चितवनमा ९२ हजार किलोलिटर क्षमताको इन्धन भण्डारण
अमलेखगञ्ज–चितवन (लोथर) पाइपलाइन आयोजनाको कुल लागत १३ अर्ब ३५ करोड ६१ लाख नेपाली रुपैयाँ हुनेछ । यस आयोजनाको कुल लम्बाइ ६२ किलोमिटर छ । यस आयोजनामा ९१ हजार ९०० किलोलिटर क्षमताको भण्डारण गृह र ग्रीनफिल्ड स्मार्ट टर्मिनल निर्माण गर्ने तयारी छ ।
कुल भण्डारण क्षमतामध्ये पेट्रोलतर्फ ११ हजार किलोलिटर क्षमताको तीन ट्याङ्की गरी कुल ३३ हजार किलोलिटर र डिजेलको १५ हजार ५ सय किलोलिटर क्षमताको ट्याङ्की गरी कुल ४८ हजार ५ सय किलोलिटरको भण्डारण गृह निर्माण गरिनेछ ।
यस्तै मटितेलतर्फ ८ सय किलोलिटर क्षमताको दुई ट्याङ्की गरी कुल १ हजार ६ सय किलोलिटर र हवाई इन्धनको ३ हजार ६ सय किलोलिटर क्षमताको तीन ट्याङ्की गरी कुल १० हजार ८ सय किलोलिटरको भण्डारण गृह निर्माण गर्न लागिएको छ ।
अमलेखगञ्ज–चितवन(लोथर) पाइपलाइन निर्माण गर्न लाग्ने खर्च २ अर्ब ४२ करोड भारतीय रुपैयाँ भारतले बेहोर्ने छ भने भण्डारण गृहसहित निर्माण हुने ग्रीनफिल्ड स्मार्ट टर्मिनलको लागत ५ अर्ब ९२ करोड भारतीय रुपैयाँ अर्थात् (नेपाली ९ अर्ब ४७ करोड २० लाख रुपैयाँ) निगमले बेहोर्ने सहमति भएको छ ।
पाइपलाइन, भण्डारण गृह र टर्मिनलको भौतिक पूर्वाधार निगमले चितवनको लोथर खोला किनारमा रहेको २३ बिघा १२ कट्ठामा निर्माण गर्न लागेको छ ।
- सिलगुडी–झापा पाइपलाइनको लागत ११ अर्ब
झापाको चारआलीमा ११ अर्ब लागतमा पेट्रोलियम पाइपलाइन विस्तार गर्न लागिएको छ । निगमका अनुसार चारआली पेट्रोलियम पाइपलाइन ११ अर्ब १४ करोड ६१ लाख ३६ हजार नेपाली रुपैयाँ लगानी लाग्ने अनुमान छ ।
निगमले झापाको मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमा २०८० फागुन ३० गते २३ बिघा ३ कट्ठा १३ धुरजग्गा खरिद गरेको छ । सोही जग्गासम्म निगमले पाइपलाइन ल्याउन लागेको छ । साथै १९ हजार किलोलिटरको इन्धन भण्डारण क्षमता भएको भण्डार गृह निर्माण गर्ने तयारी गरेको छ । अत्याधुनिक अटोमेसन प्रविधि सुविधा भएकोे लोडिङ सेडिङसहितको ग्रीनफिल्ड स्मार्ट टर्मिनलसमेत निर्माण गर्ने भएको छ ।
भण्डारण गृहमा पेट्रोलतर्फ २ हजार २ सय किलोलिटर क्षमताको ३ वटा ट्याङ्की गरी कुल ६ हजार ६ सय किलोलिटर क्षमता र डिजेलतर्फ ४ हजार १ सय किलोलिटर क्षमताको ३ वटा ट्याङ्की गरी कुल १२ हजार ३ सय किलोलिटरको भण्डारण गृह निर्माण गर्ने बीटुबीमा उल्लेख छ ।
यो पाइपलाइनको दुरी भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटर रहनेछ । जसमा सिलगुडीको आईओसीको डिपोदेखि नेपालको बोर्डरसम्म ३५ किलोमिटर र बोर्डरबाट चारआलीसम्म १५ किलोमिटर दुरी छ ।
पाइपलाइन ओछ्याउनका लागि २ अर्ब ६७ करोड भारतीय रुपैयाँ र भण्डारण गृहसहित टर्मिनल निर्माण गर्न ४ अर्ब २९ करोड भारतीय रुपैयाँ लगानी हुनेछ । यो लगानी भारत सरकारले बेहोर्ने बीटुबीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस सुपर कपमा बार्सिलोना विजयी
-
दाङमा आजदेअि प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट
-
परम्परागत सिप हस्तान्तरण गर्न ५० जना महिलालाई ढकिया बुन्ने तालिम
-
अमेरिकाको लस एन्जेलसमा भिषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन