बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
व्यक्तिचित्र

जम्मा एउटा अक्षर पढेर अथाह ज्ञान बटुलेका बुल्ले शाह

बुधबार, २४ पुस २०८१, ०९ : १५
बुधबार, २४ पुस २०८१

१७औँ शताब्दीको अन्तिम दशकमा पन्जाबको एक धार्मिक विद्यालयमा भर्ना भएका धेरै विद्यार्थीमा एकजना अनौठा विद्यार्थी आइपुगे । गुरुहरूले उनलाई अरबी वर्णमालाको पहिलो अक्षर ‘अलिफ’ (أ) बाट सिकाउन सुरु गरे । उनको कक्षाका अन्य सबै साथीले पूरै वर्णमाला सिक्ने काम सफलताका साथ पूरा गरे । तर उनी जम्मा त्यही ‘अलिफ’मै अड्किए । 

हप्ता बित्यो, वर्ष बित्यो तर उक्त विद्यार्थीमा कुनै प्रगति देखिएन । शिक्षकले थाहा पाए कि उक्त बच्चा पहिलो अक्षर ‘अलिफ’भन्दा अगाडि बढ्नै सकेन । उनीहरूले त्यो बच्चाको मानसिक विकासमै शंका गरे । उसलाई आफ्नो आमाबाबुलाई सुम्मेर घर फर्काइयो । बा–आमासामु उनीहरूले भनेका थिए, ‘तपाईंको छोरा असाध्यै कमजोर छ । हामी उसलाई सिकाउन सक्दैनौँ ।’

फेरि पनि आमाबाबुले उनलाई उचित शिक्षा दिन सक्दो प्रयास गरे । उनीहरूले उनलाई पटक–पटक गरेर विभिन्न शिक्षकको रेखदेखमा राखे, परन्तु उनले कुनै प्रगति गरेनन् । उनीहरू धेरै निराश थिए । उनीहरूको छोरा नै घरबाट भागेर हिँडे । आफ्नै परिवारका लागि बोझ हुनु नपरोस् भन्ने मनसायका साथ उनी भागेका थिए । घर छाडेपछि उनी केही समय जङ्गलमा बसे । यस क्रममा उनले जंगलका बोट–बिरुवा, घाँसपात, रूखका हाँगा, फलफूल र फूलहरू सबैमा त्यही उनले पढेको जम्मा एक अक्षर अनुभव गर्न थाले । बिस्तारै उनले कीटाणु, कीरा फट्याङ्ग्रा, चरा र जनावरमा पनि उही अलिफ देखेको अनुभव गर्न थाले । उनलाई यो समस्त चराचर नै त्यही अलिफबाटै बुझ्न सकिने लाग्न थाल्यो । 

यस्तो अनौठो र रहस्यमय अनुभूति भएपछि उनी आफ्नो गाउँ फर्किए । आफूलाई विद्यालयबाट निष्कासन गर्ने शिक्षकलाई सम्मान व्यक्त गर्न उनको घरमै गए । उनले आफ्नो पुरानो सन्दर्भ सम्झाएर आफूलाई चिनाए । साथै आफूले थाहा पाएको कुरा सुनाउन अनुमति मागे । ती वृद्ध शिक्षकले अनुमति दिए । 

आफ्नो मन्दबुद्धि भएको विद्यार्थीको चर्तिकला देखेर शिक्षकलाई मनमनै हाँसो उठिरहेको थियो । विद्यार्थीले शिक्षकसँग आफूले जानेका कुरा लेख्न अनुमति मागे । शिक्षकले मजाकमा आफ्नो छेउमा रहेको भित्तामा लेख्न भने । लगत्तै विद्यार्थीले भित्तामा अलिफको ठुलो चिह्न बनाए र विभिन्न भागमा बाँडेर यसको व्याख्या गर्न थाले । अद्भुत चमत्कार देखेर शिक्षक छक्क परे । शिक्षकले भने ‘ओहो’ जम्मा एउटै अक्षरबाट तिमीले यस्तो अद्भुत कुरा सिकेछौ । मेरा सारा किताबको अध्ययनभन्दा धेरै त एउटै अक्षरले बतायो । अब मलाई पनि सिकाउ !’ 

त्यसपछि त्यी विद्यार्थीले यो गीत गाए :

अरे साथी ! अब पढ्न छाडिदेउ यार !
जम्मा एक अक्षर ‘अलिफ’ भए तिमीलाई पुग्छ ।

पढ्दा–पढ्दा, लेख्दा–लेख्दा मेरो दिमाग भरिइसक्यो,
यी अनेक किताबले मेरो कोठा भरिइसक्यो ।

यी अनेक झुटा कुराले ज्ञानलाई छोपिसक्यो
हद भयो ! सही ज्ञानका लागि तिम्रो झुटो पढाइ अब त्याग यार ।

यो कथा प्रख्यात सुफी सन्त कवि, रहस्यवादी दार्शनिक बुल्ले शाहको हो ।

यो कथा ३०० वर्षभन्दा पुरानो हो । १७औँ शताब्दीको अन्त्य तथा १८औँ शताब्दीको सुरुवातमा उत्तर पश्चिमी भारतीय भूगोलमा धर्म र संस्कृतिको भेदका आधारमा हिंसात्मक घटना सामान्यजस्तै हुन थालिसकेका थिए । मुगल साम्राज्य कमजोर बन्दै गएको त्यस समयमा क्षेत्रीय राजनीतिक शक्तिहरू टाउको उठाउन थालिसकेका थिए । 

पन्जाबी गीतमा प्रेम, जीवन र शान्तिको सन्दर्भ आउँदा बुल्ले शाहको नाम असाध्यै सम्मानका साथ प्रयोग गर्ने गरिन्छ । पन्जाबी समाजका क्रान्तिकारी दार्शनिक, समाज सुधारक, धर्ममा विद्यमान गलत तत्त्वका प्रखर आलोचक, लोक शैलीमा साहित्य रचना गर्ने शाहलाई ‘जनताको कवि’ भनेर समेत सम्बोधन गर्ने गरिन्छ ।

दक्षिणमा मराठा, पश्चिममा शिख तथा राजपुतहरूले आफ्नो स्वतन्त्रताको दाबी गर्न थालिसकेका थिए । पर्सियाली शासक नादिर शाह तथा दुरानीले हिन्दुस्तानमा हमला गर्ने गरेका थिए । अफगानी शासकको नजर पनि कमजोर हुँदै गरेको दिल्लीदरबार नियन्त्रित क्षेत्रमा पर्न सुरु भएको थियो । अंग्रेजहरू भारतको उत्पादन, सुन र जनसंख्याको महत्त्व ठम्याएर आफ्नो पन्जा फैलाउन थालिसकेका थिए ।

उनको जन्म सन् १६८० मा हाल पाकिस्तानको पन्जाबमा पर्ने तत्कालीन मुगल पन्जाबको उच भन्ने ठाउँमा बस्ने सैयद परिवारमा भएको थियो । उनको परिवारले आफूलाई पैगम्बर मोहम्मदको वंशकै निरन्तरता भएको दाबी गथ्र्याे । तत्कालीन समाजमा सैयदहरूको सामाजिक हैसियत अरु समुदायको तुलनामा माथिल्लोमा गनिन्थ्यो । पन्जाबको कुनै अर्काे ठाउँ पान्डोकेस्थित मस्जिदमा धर्मगुरुका रूपमा उनका बाबु जानुपर्ने भयो । उनी पनि सँगै नयाँ ठाउँमा पुगे । उनको हुर्काइ त्यही नयाँ ठाउँमा भयो । 

आफ्नो ज्ञानको खोजका क्रममा घरबाट भागेर गएको केही समयपछि फर्केका उनी फेरि लाहोर गए र प्रख्यात आध्यात्मिक गुरु इनायत शाहको शिष्य बने । इनायत शाह तत्कालीन सामाजिक प्रबन्ध अनुसार तल्लो समुदायका मानिन्थे । निम्न जातिका भनिने व्यक्तिको बुद्धिको पछाडि दौडिएको भनी आफन्तले बुल्लेलाई रोक्न खोजेका थिए । तर बुल्लेले आफ्ना आफन्तको कुरालाई खासै ध्यान दिएनन् तथा पूर्ण रूपमा इनायत शाहको उपदेशमा डुब्न थाले । यिनै गुरुको निर्देशनमा बुल्लेले शब्दहरूमार्फत सत्य खोज्ने आफ्नो पुरानो प्रयास त्यागे । अब उनलाई साँचो प्रेमको अनुभव हुन थाल्यो । उनको आफ्नै शब्दमा उनी एकताको सागरमा प्रवेश गरे ।

बुल्ले शाहले यो अवधिमा धेरै कविता लेखे । कवितामा उनले परम ईश्वरीय तत्त्वसँग एकाकार भएको, प्रेमले भरिपूर्ण भएको तथा चरम शान्तिको अनुभवलाई लेखेका छन् । धेरै कवितामा उनले भगवानप्रतिको प्रेमले आफूलाई यति आमूल परिवर्तन गरेको तथा उसको व्यक्तिगत अहंकार पूर्ण रूपमा समाप्त भएको घोषणा गरेका छन् । धर्मको विवाद तथा राम्रो र खराबको सबै विवाद एकपटक र सदाका लागि गायब भएको बोध उनले गरेका थिए ।

उनले आफ्नो एउटा कवितामा लेखेका छन् :

तिमी आफ्नो द्वैधता हटाऊ र सबै झमेलाबाट बाहिर निस्क, 

हिन्दू र मुस्लिम भन्नु पनि त्यही एउटैको फरक नाम हो ।

सबैलाई असल सोच, त्यहाँ कोही पनि फटाहा छैनन् । 

यी प्रत्येकको शरीरमा उहाँ स्वयं बास गर्नुहुन्छ ।

जादुगरले जस्तो मखुन्डो लगाएको मात्रै हो !

उनका प्रायः कृति मौखिक परम्पराद्वारा संकलन गरिएका हुन् । जुन पछि उनका अनुयायीले लिपिबद्ध गरेका हुन् । तत्कालीन समयमा कविता, काफी, सिहरफी, दोहा र बारहमाहाजस्ता रचनामार्फत उनले धेरै शक्तिशाली अभिव्यक्ति दिएको भेटिन्छ । उनका धेरै कवितामा धेरै प्रतीकको प्रयोग गरिएको छ । ‘राँझा र हीर’को सम्बन्धलाई आत्मा र भगवानको मिलनको प्रतीकका रूपमा प्रयोग गरिएको छ ।

कवितामार्फत उनले धार्मिक गुरुहरू तथा प्रभुत्वशाली सामाजिक मान्यताको ढोँगलाई प्रश्न गर्ने गरेका छन् । उनका कवितामा धार्मिक अतिवादको गहिरो खण्डन भेटिन्छ । जस्तै : उनले एक कवितामा लेखेका छन्— 

‘मन्दिर भत्काउ, मस्जिद भत्काउ, भत्काउन सकिने जति सबै भत्काउ,

तर कसैको मन कहिल्यै नभत्काउ, त्यहाँ ईश्वर बसेका हुन्छन् । 

उनका काफीहरू पनि उत्तिकै प्रसिद्ध छन् । काफी भनेको परम्परागत शैलीको पन्जाबी र सुुफी कविता हो । उनका लोकप्रिय काफीहरूमा ‘बुल्ला की जाना मैन कौण’ (बुल्ला, म को हुँ भन्ने कुरा म आफैँलाई थाहा छैन), ‘राँझा राँझा गर्दी नी, मैन आपे राँझा होई’ (राँझाको नाम जप्दाजप्दै म आफैँ राँझा भएँछु), ‘अलिफ अल्लाह चमबे दी बुटी’ (मेरो हृदयमा ईश्वरको नामको बिउ रोपिएको छ) जस्ता पर्छन् ।

सुफी संगीत, बलिउडका गीत वा हिन्दुस्तानी संगीतमा रुचि हुने हर–कोहीले बुल्ले शाहको नाम सुनेका हुन्छन् । खास गरेर पन्जाबी गीतमा प्रेम, जीवन र शान्तिको सन्दर्भ आउँदा बुल्ले शाहको नाम असाध्यै सम्मानका साथ प्रयोग गर्ने गरिन्छ । पन्जाबी समाजका क्रान्तिकारी दार्शनिक, समाज सुधारक, धर्ममा विद्यमान गलत तत्त्वका प्रखर आलोचक, लोक शैलीमा साहित्य रचना गर्ने शाहलाई ‘जनताको कवि’ भनेर समेत सम्बोधन गर्ने गरिन्छ । आजपर्यन्त उनका रचना, उनका वैचारिक पक्षधरता र साहित्यको चर्चा कम भएको छैन । 

उनका रचनालाई आवाज दिने व्यक्तिहरूको सूचीमा नुसरत फतेह अलि खान, अबिदा प्रविन, नुर जहाँजस्ता विश्वविख्यात कलाकार पर्छन् । बुल्ले शाहलाई भारतको इतिहासमा पुनर्जागरणको प्रतीकका रूपमा पनि सम्मान गर्ने गरिन्छ ।

त्यो समय एक–अर्कासँग लडिरहेका विविध धार्मिक समुदाय र शासकलाई धर्मको आधारभूत सारबारे उनका कविताले बुझाउँथे; प्रेम र एकताको बाटोमा लाग्न प्रेरित गर्थे । भाषागत रूपमा उर्दु र पन्जाबी तथा धार्मिक समुदायका रूपमा हिन्दु, शिख र इस्लाम सबै समुदायमा उनका शक्तिशाली रचनाले ठुलो प्रभाव पार्‍यो । यस्तो प्रभाव आजपर्यन्त कायम छ । उनका कविता र अन्य रचना कब्बाली गायकहरूले असाध्यै श्रद्धासाथ गाउने गर्छन् । दक्षिण एसियाका हिन्दी, पन्जाबी, उर्दु लगायत भाषामा हुने गीतमा प्रेम, शान्ति र एकताको भाव व्यक्त गर्न बुल्ले शाहलाई सम्मानित विम्बकै रूपमा प्रयोग गर्ने चलन छ । 

धार्मिक अतिवाद, ध्रुवीकरण र उदाउँदो फासीवादको आजको युगमा धार्मिक कट्टरता र पाखण्डविरुद्ध सिर्जना गर्ने, प्रेम र स्वतन्त्रताको गीत गाउने बुल्ले शाह पक्कै सान्दर्भिक हुन सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप