जय ट्रफी क्रिकेटको तेस्रो र चौथो खेल आजदेखि
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को तेस्रो र चौथो खेल बुधबार सुरु हुने भएको छ । बुधबार सुरु हुने खेलमा मधेस प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मधेस प्रदेश र पुलिस क्लबबिचको खेल बिहान ९ः०० बजे वीरगञ्जमा सुरु हुनेछ । सोही दिन अर्को खेल बागमती प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच खेलिने छ । आर्मी क्लब र बागमती प्रदेशबिचको खेल बिहान ९ः०० बजे जनकपुरमा सुरु हुनेछ ।
प्रतियोगिता अन्तर्गत यसअघि खेलिएको दुवै खेल बराबरीमा सकिएको थियो । वीरगञ्जमा खेलिएको पहिलो खेलमा आर्मी क्लबले पुलिस क्लबको सामना गरेको थियो । उक्त खेल सोमबार बराबरीमा सकिएको थियो ।
यसैगरी, दोस्रो खेल मधेस प्रदेश र बागमती प्रदेशबिच खेलिएको थियो । जनकपुरमा सोमबार सम्पन्न उक्त खेल पनि बराबरीमै सकिएको थियो । पहिलो दिन आइतबार प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएकाले पनि ती दुवै खेलमा नतिजा आउन सकेको थिएन ।
जारी जय ट्रफीमा हालसम्म एक खेलाडीले शतक र एक खेलाडीले अर्धशतक बनाएका छन् । बागमती प्रदेशविरुद्धको खेलमा मधेस प्रदेशका ब्याट्सम्यान मयान यादवले शतक बनाएका थिए । उनले टोलीका लागि एक सय ६ रनको योगदान गरेका थिए ।
यस क्रममा मयानले एक सय आठ बलको सामना गरी दुई छक्का र १२ वटा चौका हिर्काएका थिए । जारी जय ट्रफीमा शतक पुरा गर्ने उनी पहिलो ब्याट्सम्यान पनि बनेका छन् ।
जारी जय ट्रफीमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी भने आर्मी क्लबका सोमपाल कामी हुन् । उनले पुलिस क्लबविरुद्धको खेलमा अविजित ८२ रन बनाएका थिए । यस क्रममा उनले एक सय ३८ बलको सामना गरी एक छक्का र १० चौका पनि हिर्काएका थिए ।
सोमपालले अर्धशतक पुरा गरेको केही समयपछि मात्र मयानले अर्धशतक पुरा गरेका थिए । पुलिस क्लबका गुलसन झा र बागमती प्रदेशका नन्दन यादव भने केवल तीन–तीन रनका कारण अर्धशतक पुरा गर्नबाट चुकेका थिए । यी दुवै ब्याट्सम्यानले आफ्नो पहिलो खेलमा ४७–४७ रन बनाएका थिए ।
प्रतियोगितामा सहभागी चारवटै क्लबले एक–एक खेल खेलिसक्दा १५ अङ्कसहित बागमती प्रदेश पहिलो, समान अङ्क जोडेको मधेस प्रदेश दोस्रो र समान अङ्क हात पारेको पुलिस क्लब तेस्रो स्थानमा छन् । आर्मी क्लब भने १४ अङ्कसहित चौथो स्थानमा छ ।
यसअघिको दुवै खेल बराबरीमा सकिए पनि बोनस अंकका कारण आर्मी चौथो स्थानमा रहेको हो । पहिलो र दोस्रो खेल सकिँदासम्म मधेस प्रदेश आफ्नो पालीमा सर्वाधिक रन बटुल्ने टोली बनेको छ । मधेस प्रदेशले बागमती प्रदेशविरुद्ध नौ विकेटको नोक्सानीमा दुई सय ११ रन बनाउँदै पाली समाप्तिको घोषणा गरेको थियो । त्यो नै हालसम्म बनेको सर्वाधिक रन हो ।
यसैगरी, जारी जय ट्रफीमा सर्वाधिक विकेट लिने बलर भने आर्मी क्लबका साहब आलम र बागमती प्रदेशका सन्दीप लामिछाने हुन् । यी दुवै बलरले हालसम्म १०–१० विकेट लिएका छन् । साहब आलमले पुलिस क्लबविरुद्ध पहिलो पालीमा आठ र दोस्रो पालीमा दुई विकेट लिएका थिए ।
सन्दीपले भने मधेस प्रदेशविरुद्ध पहिलो पालीमा पाँच र दोस्रो पालीमा पनि पाँच विकेट लिएका थिए । सर्वाधिक विकेट लिने बलरको सूचिमा तेस्रो नम्बरमा पुलिस क्लबका ललित राजवंशी रहेका छन् । उनले हालसम्म नौ विकेट लिएका छन् । उनले आर्मी क्लबविरुद्ध पहिलो पालीमा सात र दोस्रो पालीमा दुई विकेट लिएका थिए ।
यसैगरी, जारी जय ट्रफीमा हालसम्म भएको सबैभन्दा ठुलो साझेदारी ५१ रनको हो । बागमती प्रदेशविरुद्धको खेलमा मधेस प्रदेशका मयान यादव र अभिषेक तिवारीले छैटौँ विकेटका लागि उक्त साझेदारी गरेका थिए ।
दोस्रो ठुलो साझेदारी भने बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने र नन्दन यादवको नाममा रहेको छ । सन्दीप र नन्दनले मधेस प्रदेशविरुद्धको खेलमा नवौँ विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।
यसैगरी, सर्वाधिक क्याच लिने खेलाडी भने पुलिस क्लबका आरिफ शेख र आर्मी क्लबका पवन कार्की हुन् । यी दुबैले हालसम्म चार–चारवटा क्याच लिएका छन् । यो सूचिमा तेस्रो स्थानमा रहेका पुलिस क्लबका श्रवण यादवले तीनवटा क्याच लिएका छन् ।
नेपाली क्रिकेट इतिहासकै प्रतिष्ठित घरेलु प्रतियोगितामध्येको एक जय ट्रफी नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको हो । प्रतियोगितामा चार टोली सहभागी छन् । प्रतियोगिताको प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ ।
फाइनल खेल भने तीन दिवसीय हुने क्यानले जनाएको छ । क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी सुरु भएको हो । जयकुमार नाथ शाह आफैले २०३७ सालमा ‘जय ट्रफी’ सुरुवात गरेका थिए । लामो समयसम्म जय ट्रफी नै राष्ट्रिय टोली छनोटको आधार पनि थियो ।
जय ट्रफीमा खेलाडीहरू सेतो रङको जर्सीमा देखा पर्छन् भने खेल रातो बलले खेलाइन्छ । नेपाल पुलिस क्लबको कप्तानको भूमिकामा आरिफ शेख छन् । बागमती प्रदेशको कप्तान सन्दीप लामिछाने हुन् । मधेस प्रदेश हरिशंकर साहको कप्तानीमा छ । आर्मी क्लबको कप्तान विनोद भण्डारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको लस एन्जेलसमा भिषण आगलागी, दुईको मृत्यु, कयौँ घाइते
-
१२ बजे, १२ समाचार : ऋषिकेष पत्नी अन्जला अदालत उपस्थित भएकै दिन १० लाख बुझाएर रिहादेखि दुर्गा प्रसाईं समर्थकले उद्योगीलाई धम्काएको आरोपसम्म
-
कक्षा ९ देखि १० को पाठ्यक्रम समसामयिक बनाउन निर्देशन
-
भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी
-
जापान सागरको क्षेत्रमा भारी हिमपातको चेतावनी
-
खुम्बु क्षेत्रमा भूकम्पको परकम्प