बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय
कलाकार

हिरोका लागि प्रस्ताव आउँदा जितुले भने– ‘मलाई हिरो सुहाउँदैन, नजिस्क्याउनु न’

बुधबार, २४ पुस २०८१, ०५ : ५३
बुधबार, २४ पुस २०८१

अधिकांश मानिसले हिरोमा खोज्ने गुण हो– आकर्षक जिउडाल, सुहाउँदो हाइट र सुन्दर अनुहार ।

कलाकार जितु नेपाल पनि यही सोच्थे । यी गुण आफूमा नभएकाले उनलाई हिरो हुन्छु भन्ने कहिल्यै लागेको थिएन ।

त्यसैले होला, डा. कपिल रिजालले आफ्नो फिल्म ‘ह्यारीकी प्यारी’मा हिरोको भूमिका अफर गर्दा जितुले भनेका थिए, ‘म कहाँ हिरो हो र ? मलाई हिरो सुहाउँदैन, नजिस्क्याउनु न ।’

निर्देशक रिजालले ‘अभिनय गराउने जिम्मा मेरो हो, तपाईं गर्न सक्नुहुन्छ । अभिनयका लागि तयार हुनु’ भनेपछि जितु होमिएका थिए ।

दोस्रो फिल्म ‘ज्वाइँ साब’को किस्सा पनि त्यस्तैत्यस्तै थियो । तेस्रो फिल्म ‘कार्साङ’मा आएर जितुले हिरोको परिभाषा बुझिसकेका थिए– हिरो व्यक्ति होइन, चरित्र हो ।

त्यसैले अहिले उनी आफूलाई फिल्मभित्र हिरो र बाहिर कलाकार भन्न थालेका छन् । ‘म पहिले हिरोको बारेमा जे सोच्थेँ, त्यो पहिलेको कुरो थियो । त्यो बेलाको माहोल त्यस्तै थियो,’ जितुले भने, ‘अहिलेको माहोल त, कथावस्तुको छ । हामी पनि हिरो हुन सक्छौँ भन्ने बुझियो ।’ चरित्रका कारण आफू पनि हिरो हुन सकेको जितुको बुझाइ छ ।

470152081_9468139709904932_574863422268598414_n

‘कार्साङ’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्ममा दयाहाङ राई र जितुको मुख्य भूमिका छ । दयाहाङ यतिबेला विदेशमा छन् । त्यसैले फिल्मको प्रचारप्रसार जितु भरपुर मेहनत गरिरहेका छन् ।

प्रचारका सिलसिलामा रातोपाटीसँग ठोक्किएका जितुले ‘कार्साङ’ शेर्पाहरूको कल्चरमा निर्माण भएको जानकारी दिए ।

‘शेर्पाहरूको पूजापाठसँग सम्बन्धित अनेक कल्चर रहेछ । तीमध्येकै एक झाँक्री कल्चर पनि हो र त्यही कल्चरमा आधारित रहेर फिल्म निर्माण भएको छ,’ जितुले थपे ।

फिल्ममा जितुले दलित समुदायको पात्र माइला विकको  भूमिका निर्वाह गरेका छन् । आफ्नो पात्रले सिन्धुपाल्चोकको दलित समुदायको प्रतिनिधित्व गर्ने जितुको भनाइ छ ।

‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका हुन् । निर्देशनमा शेर्पाको यो डेब्यु फिल्म हो । यमले फिल्म अध्ययनसहित निर्देशनमा हात बढाएका हुन् ।

जितुले यो फिल्म अभिनय गर्नुको कारण हो– कथावस्तु र निर्देशक । ‘सिन्धुपाल्चोककै भाइ यम शेर्पाले निर्देशनमा डेब्यु गर्न लागेको भएर अभिनय गरेको हो’, उनले दोस्रो कारण खोले, ‘फिल्मको कथा पनि राम्रो र अन्यभन्दा फरक छ ।’

फिल्ममा आफ्नो गाउँले भूमिका रहेको बताउने जितु यस्तो भूमिका अहिलेसम्म निर्वाह नगरेको सुनाउँछन् । उनले भने, ‘फिल्म हेरेपछि दर्शक छक्क पर्छन् । मेरो भूमिका त्यस्तो छ ।’

WhatsApp Image 2025-01-06 at 12.44.43 (1)

दलित, त्यो पनि सिन्धुपाल्चोककै भएको कारणले जितुले भूमिकाका लागि धेरै मेहनत पनि गर्नु परेन । किनभने उनी आफूले निर्वाह गरेको पात्र हेरेरै हुर्किएका हुन् ।

‘मेरो पात्र कमेडी खालको पनि छ । कमेडी मलाई सजिलो भइहाल्यो’, जितुले भने, ‘गेटअपको परिकल्पना मेरै हो । पहिरन त्यहाँको स्थानीयको लिइयो ।’

गाउँका मानिसलाई नयाँ पहिरन किनिदिएर त्यहाँका मानिसले लगाउने कथा सुहाउँदो पुरानो पहिरन फिल्मका लागि लिइएको उनले सुनाए ।

  • विदेशमा पनि चर्चा

फिल्मको छायाङ्कन सकिने बित्तिक्कै निर्माण युनिटले जितुको भूमिकाको एक पोस्टर सार्वजनिक गरेको थियो । जसमा जितु धोक्रोको झोला, पुरानो वेस्कोट, टिसर्ट–पाइन्ट र प्लास्टिकको बुटमा देखिएका थिए, जसले दर्शकको ध्यान खिच्न सफल भएको थियो ।

फिल्मको फष्टलुकको प्रतिक्रिया स्वदेशमा मात्र होइन, उनले विदेशबाट पनि राम्रो पाएका छन् ।

‘धेरै देशबाट फिल्म नौलो होलाजस्तो छ, हामीलाई दिनु भनेर फोन पनि आयो’, उनले भने, ‘मैले निर्देशकसँग सम्पर्क गराएँ ।’

जितुलाई पोष्टरबाट सबैले अहिलेसम्मकै फरक भूमिका भनेका छन् । दर्शकको प्रतिक्रियाबाट मक्ख छन् उनी । उनले भने, ‘मैले जे सोचेर भूमिका रोजेको थिएँ, त्यही प्रतिक्रिया पाइरहेको छु ।’

465843715_9276391649079740_221065635936186971_n

फिल्म रिलिज भएपछि अझै धेरै तारिफ र प्रतिक्रिया मिल्ने जितुको आशा छ । ‘मेरो भूमिका निर्दोष र टिपिकल गाउँले छ । दर्शकले रुचाउँछन्’, उनले भने, ‘मैले गरेको यसअघिका दुई फिल्मभन्दा निकै फरक र उत्कृष्ट छ ।’

फिल्ममा अभिनय गरेकोमध्ये आफ्नो उत्कृष्ट अभिनय ‘कार्साङ’मा देखिने जितुको भनाइ छ । ‘सानो पर्दामा मैले जुन किसिमको हाउडे, मुन्द्रे चरित्रको पहिचान बनाएँ । त्यो पहिचान सुदाउँदो चरित्र फिल्ममा छ,’ उनले भने, ‘दर्शकले पुरानो जितु यसमा भेट्टाउँछन् ।’

फिल्ममा जितुको जोडीको रूपमा अभिनेत्री दीया मास्के छिन् । दीया जितुभन्दा अग्लो र अभिनयमा पनि पारङ्गत अभिनेत्री हुन् । जितु र दीयाको जोडी सुहाउँछ त ? प्रश्न उठ्छ ।

जितु दुवैको गाउँले चरित्र भएको र क्यारेक्टरमा आफूलाई ढालेको कारण दर्शकले बेमेल महसुस गर्न नसक्ने तर्क राख्छन् । ‘दीयाको अभिनयमा एकदमै लाउड छ । दर्शकले अन्य कुरो ध्यान दिनै भ्याउँदैनन्’, उनले भने, ‘मैले पनि राम्रो गर्ने कोसिस गरेको छु ।’

यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा बनेको यो फिल्ममा जितु र दीयाको अलावा दयाहाङ राई, सिर्जना निङलेखु, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

  • फेरि सानो पर्दामा छाउने इच्छा 

जितु सानो पर्दाबाट उदाएका कलाकार हुन् । सानो पर्दाको हाँस्यशृङ्खला ‘जिरे खुर्सानी’बाट उनले बनाएको ‘मुन्द्रे’को छवि दर्शकमा अझै ताजै छ । त्यसैले पनि उनले तीन फिल्ममा हिरोको भूमिका निर्वाह गरिसक्दा पनि धेरैले उनलाई फिल्मको हिरोभन्दा टेलिभिजनको मुन्द्रेकै रूपमा चिन्छन् ।

पछिल्लो समय ठुलो पर्दामा व्यस्त भइरहँदा उनले सानो पर्दामा काम गर्न भ्याएका छैनन् । उनलाई सानो पर्दामा केही गर्नुपर्छ भन्ने लागेको छ । तर के गर्ने ? त्यो भने सोच्न सकिरहेका छैनन् ।

‘मलाई अझै सानो पर्दामा छाउन मन छ । तर दुःखको कुरो, सानो पर्दा अहिले हरायो । अहिले, युट्युब लगायत डिजिटल प्लेटफर्म मोबाइलमा सीमित भयो’, जितुले भने, ‘अहिले हरेक टेलिभिजनका कार्यक्रम युट्युबमुखी भए ।’

सानो पर्दामा आउँदा कुन टिभीमा आउने सोच्न नसकेको उनले सुनाए । ‘अहिले सानो पर्दाका कार्यक्रमले पनि युट्युबमा भ्यूज पाउनैपर्ने भएको छ’, उनले भने, ‘टेलिभिजन कतिले र युट्युब कतिले हेर्छन् भन्ने काउन्ट हुँदैन ।’

युट्युबमा भ्यूज आयो भने टेलिभिजनमा पनि हिट, भएन भने फ्लप भन्ने मान्यता रहेको जितुले सुनाए । ‘आफू कमेडियन भएको हिसाबले कमेडीकै कार्यक्रम ल्याउने कि भन्ने सोचिरहेको छु’, उनले भने ‘काम गर्‍यो भने धेरै कुरो निस्किने रहेछ । गरेन भने क्षमता हराउँदै जाँदो रहेछ ।’

टेलिभिजनले प्रस्ताव गरेमा आफू तत्कालै कार्यक्रम बनाउन इच्छुक रहेको उनले सुनाए । ‘टेलिभिजनले भन्छ भने जिरे खुर्सानीजस्तो कार्यक्रम दिन्छु,’ उनले थपे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप