माओवादी बैठकमा लेखनाथ न्यौपानेले बुझाएको पाँचबुँदे सुझाव के–के छन् ?
काठमाडौँ । माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी सदस्यता त्यागेर राज्यको माथिल्लो जिम्मामा पुगेका ‘सम्माननीयहरू’ पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने सुझाव दिएका छन् ।
उनका अनुसार सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिलाई राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत जिम्मेवारीमा पठाउनुपर्छ । न्यौपानेले यही पुस २१ गतेदेखि तीन दिन चलेको केन्द्रीय समिति बैठकमा लिखित धारणा राख्ने क्रममा योसहित पाँचबुँदे सुझाव दिएका हुन् ।
‘संगठनात्मक जीवनमा प्रवेशको ढोका जहिल्यै पनि खुला हुने तर निस्कने ढोका सबै सधैँ बन्द हुने प्रक्रियाले पार्टीमा नयाँहरूको प्रवेश हुँदैन’, उनले भनेका छन्, ‘र, पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिन्छ ।’
यस्ता छन् पाँचबुँदे सुझाव
१.अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको प्रस्ताव पढ्न नपाएको सन्दर्भमा यसबारे समग्र धारणा राख्न सकिने अवस्था रहेन । तैपनि सुनेकै आधारमा प्रस्ताव मूल रूपमा ठिकै छ । तर, बैठक (नियमित)मा राखिने प्रस्ताव भएकाले छोटो/छरितो बनाउँदा राम्रो होला ।
२.पार्टीलाई समग्रतामा विकास गर्न दैनिक संगठनात्मक र राजकीय काम एवं बिहानदेखि रातिसम्म दौडिएर मात्र हुँदैन र पुग्दैन । नेपाली समाजका विकसित नयाँ आयामजस्तै बाह्य र आन्तरिक बसाइसराइ जसले उत्पादन सम्बन्ध, शान्तिको कार्यदिशा र आन्दोलनको चरित्र नै फेरिदिएको छ । यस्ता विषय एवं पार्टी जीवनका तमाम समस्याहरूको हल निकाल्न पार्टीभित्र चिन्तन, खोज, अध्ययन/अनुसन्धान गर्ने काम अनिवार्य बनेको छ । विद्यमान हामी नेता/कार्यकर्ताहरू कमिटीको बैठक/मेलामा सहभागी हुने र भोट हाल्ने तहमा मात्र सीमित देखिन्छौँ । यस्तो जनशक्तिले पार्टीलाई कतै लान सक्दैन ।
३. हाम्रो आजको जीवन, व्यवहार र दैनिकी जे/जस्तो छ यही जगमा नयाँ विचार बन्दैन र नयाँ विचारबिना नयाँ संश्लेषण पनि सम्भव छैन । साथै एकाध महिनामा हाम्रो जीवन, व्यवहार र दैनिकी बदलिएर नयाँ विचार संश्लेषणको जग बनिहाल्ने पनि देखिँदैन । त्यसकारण तत्काल विशेष महाधिवेशनको आवश्यकता देखिँदैन ।
आयोजक समिति कि त विद्यामान के.स.ले काम गर्न नसकेको सन्दर्भसँग जोडेर बनाइछ कि त आवधिक महाधिवेशनको समयसीमाभित्र महाधिवेशन गर्न नसक्दा आयोजक समिति बनाउनुपर्ने हुन्छ । हामीसँग माथिका दुइटै सन्दर्भले अवरोध सिर्जना नगरेकाले आयोजक समिति तत्काल जरुरी छैन ।
संगठनात्मक समस्या (साना कमिटी, उपयुक्त पत्रलाई उपयुक्त जिखोरी) हल गर्ने भाव उद्देश्य हो भने संगठनात्मक सम्मेलन वा भेला आयोजना गर्न सकिने विकल्पको प्रयोगमा जानुपर्छ ।
४. पार्टी संगठन र जवसलाई विधानअनुसार मात्र सञ्चालन गर्ने पद्धतिमा हामीले दह्रो गरी खुट्टा टेक्ने हो भने धेरै समस्या हल हुन्छ । विधानअनुसार बन्ने, निर्णय कार्यान्वयन अर्को गर्दै जाने हाम्रो सनातनी कार्य परम्पराले एकातिर ठुल्ठुला कमिटी अर्कोतिर जताततै असन्तुष्टि (जिम्मा पाएका/नपाएका) । यसले हामीलाई नराम्रोसँग गिज्याएको मात्र छैन, थिलथिलो बनाएको छ । यो विषयलाई अब छाडा नछोडौँ ।
५. जो कोही पनि निश्चित जिम्मेवारी, निश्चित उमेर र निश्चित अवधि पूरा गरेपछि पार्टीको सक्रिय संगठनात्मक जीवनबाट बिदा अनिवार्य लिनुपर्छ । यसमा विशेषतः पार्टी सदस्यता त्याग गरेर राज्यको सबभन्दा माथिल्लो जिम्मामा पुगेका सम्माननीयहरू (जस्तैः राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष आदिहरू) पुनः सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ ।
यसका लागि सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिलाई यस्ता जिम्मामा पठाउनुपर्छ । संगठनात्मक जीवनमा प्रवेशको ढोका जहिल्यै पनि खुला हुने तर निस्कने ढोका सबै सधैँ बन्द हुने प्रक्रियाले पार्टीमा नयाँहरूको प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको बयान : अग्रवाल र गोल्यानलाई कुनै धम्की दिएको छैन
-
घुस रकमसहित सहायक लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्य अख्तियारको नियन्त्रणमा
-
अदालतमा अन्जला : हाजिर भएकै दिन बयान र थुनछेक बहस सकेर थुनामुक्त
-
दुर्गा प्रसाईं समर्थकले गभर्नर र पवन गोल्यानलाई दिएका थिए धम्की
-
दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता
-
‘बा’मालेहरूले मलाई राजावादी भन्नु हास्यास्पद : भीम रावल