बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मधेस प्रदेशसभा बैठक

मधेसमा सत्तारुढ नै सरकारसँग असन्तुष्ट, प्रदेशसभामा चर्को आलोचना

मङ्गलबार, २३ पुस २०८१, २० : ४३
मङ्गलबार, २३ पुस २०८१

जनकपुर । मधेस प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा सत्तारुढसहित प्रतिपक्षी दलका सांसदले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले विकास निर्माणको कार्य गर्न नसकेको भन्दै उनीहरूले प्रश्नको ओइरो लगाएका हुन् । जसले सरकारको कामकाजप्रति आक्रोश मात्र पोखेनन् कि विकास निर्माण सुस्त रहेको कडा टिप्पणी गरे  ।

पूर्वमुख्यमन्त्री लालबाबु राउतले सरकारले प्रदेशमा केही कामकाज गर्न नसकेको जिकिर गरे । विकास निर्माणका कार्यमा केही सफलता प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

‘नयाँ सरकार गठन भएको करिब सात महिना भयो । तर, अहिलेसम्म विकास निर्माणको कार्यमा सिन्को भाँच्न सकेको छैन,’ जसपा नेपालका संसदीय दलका नेतासमेत रहेका राउतले मंगलबार प्रदेशसभा बैठकमा भने, ‘पुँजीगत खर्च जहाँको त्यहीँ छ । यसको जिम्मेवारी कसले लिने ? प्रतिपक्ष कि सरकारले ? यसको अर्थ सरकार सुतिरहेको देखिन्छ ।’

उनले अब बाँकी समयमा रफ्तारमा सरकार सञ्चालन गर्न, सभालाई अनिर्णयको बन्दी नबनाउन र बजेट तुरुन्त खर्च गर्न सुझाव दिएका थिए ।

कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले पनि रातो किताबमा आएका एउटा पनि कार्यक्रम सुरु नभएको भन्दै असन्तुष्टि जनाए । यो सब हुनुको पछाडि गठबन्धनमा सहकार्य नभएको उनको भनाइ थियो ।

‘हामी पनि गठबन्धन सरकारमा छौँ । तर, हामीसँग कुनै सहकार्य हुँदैन,’ यादवले भने, ‘मुख्यमन्त्रीज्यूसँग एउटा सहमति हुन्छ । तर, भोलिपल्ट नै त्यो सहमति तोडिन्छ । यो भनेको सहकार्य अभाव हो । जुन कारणले सरकारले अपेक्षाअनुसार कामकाज गर्न सकेको छैन ।’

उनका अनुसार गठबन्धन दलहरूबाट कुनै ‘डिस्टर्ब’ पनि भइरहेको छैन । ‘यदि भइरहेको छ भने भन्नुपर्यो मुख्यमन्त्रीज्यूले । कहाँ–कहाँ केमा समस्या भइरहेको छ ? त्यो हामी सुधार गर्छौं,’ उनले भने, ‘तर, यसरी सरकार चलाएर हुँदैन ।’

कांग्रेस मात्रै नभई सरकारमा सहभागी एमालेले पनि सरकारको कामकाजप्रति सन्तुष्ट नरहेको धारणा व्यक्त गरेको छ । एमाले सांसद शारदादास पहाडीले प्रदेश सरकार जनताप्रति जबाफदेही नभएको आशय व्यक्त गरेकी थिइन् । त्यसकारण अब सरकारले जनताप्रति जबाफदेही भएर काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।

सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको संसदीय दलका नेता महेश यादवले पनि कार्यविधिहरू बनाएर तीव्र गतिमा काम गर्न सरकारलाई सुझाए । कार्यविधि नहुँदा विकास निर्माणका कार्य ठप्प भएको हुनाले चाँडोभन्दा चाँडो त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री सतिसकुमार सिंहले सदनमा आएका सुझाव पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाए । सरकारको कामकाज भने सुस्त नरहेको जिकिर उनले गरेका थिए ।

‘सदन गरिमामय थलो हो । यहाँ समस्याहरू राख्न पाइन्छ । तर, यसको अर्थ सरकारले काम नगरेको भन्ने होइन’, उनले भने, ‘यही अवधिमा थुप्रै विधेयकहरू बनेका छन् । ठुल्ठुला विकास निर्माणका कार्यहरूको टेन्डर भएको छ । ती योजनाहरू केहीभित्रै सुरु हुँदै छन् । त्यसकारण हामी धेरै पछाडि छैनौँ ।’

उनका अनुसार सरकारले गर्नुपर्ने विकास निर्माणका कार्य प्रक्रियागत रूपमा भइरहेका छन् । सडक निर्माण, एक क्षेत्रमा एक पुल, निधि भवन, युवा तथा खेलकुद कार्यालय सञ्चालनजस्ता कार्य द्रुत गतिमा भइरहेको मुख्यमन्त्री सिंहले सदनमा सुनाए । यसका साथै जाडो याममा विपन्न समुदायका लागि कम्बलसमेत वितरण गर्ने कार्य भइरहेको उनको भनाइ थियो ।

प्राकृतिक स्रोत तथा वातावरण समितिकी सभापति पहाडीले मधेसमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन पहिलो दिनको बैठकमा पेस गरेकी थिइन् । त्यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगनको घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप