१५ वर्षपछि भारतको लखनउ पुगेका उपेन्द्रले यस्तो पाए परिवर्तन
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सुटुक्क भारत पुगी त्यहाँको समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई भेटेर फर्केका छन् ।
मधेसवादी दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी गरिरहेका बेला यादव भारत गएर त्यहाँका नेताहरूसँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
उनी पार्टीको कार्यक्रमलाई लिएर बाँके नेपालगन्ज पुगेका थिए । त्यहाँको काम सकेर काठमाडौँ फर्कने कार्यक्रम थियो । तर, उनी लागे भारततिर । उता पुगेर उत्तर प्रदेशको राजधानी लखनउमा समाजवादी पार्टीका अध्यक्ष यादवसँग भेट गरेका हुन् ।
उनले मधेस आन्दोलनका क्रममा उत्तर प्रदेशको गोरखपुर पटक–पटक पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए । योगी आदित्यनाथ त्यति बेला मुख्यमन्त्री थिएनन् । अहिले आदित्यनाथसँग यादवको सम्बन्ध बिग्रेको चर्चा छ ।
‘भारतको लखनउ जाने कुनै कार्यक्रम थिएन’, जसपा नेपालका एक नेताले भने, ‘अध्यक्षज्यू नेपालगन्जको कार्यक्रम सकाएर फर्किने कार्यक्रम थियो । तर, उहाँ अचानक भारतको लखनउ जाने भन्नुभयो र जानुभयो ।’
उनी पुस २१ गते लखनउ पुगी त्यहाँका नेताहरूसँग भेटेर सोमबार साँझ जनकपुर आइपुगेका हुन् । अध्यक्ष यादवले राजतन्त्र हटाउनमा भारतका समाजवादीको ठुलो हात रहेको उताको भेटमा बताएका थिए । नेपालका आन्दोलनकारीका लागि भारत आश्रयस्थल थियो र त्यसमा भारतको ठुलो सहयोग रहेको धारणा राखेको भारतीय समाजवादी पार्टीले जनाएको छ ।
दुवै नेता भारतलाई एसियाभरि समाजवादीहरूको केन्द्र बनाउने कुरामा सहमत भएको समाजवादी पार्टीले जनाएको छ ।
अध्यक्ष यादवले सन् १९४२ मा भारत छोडो आन्दोलनका क्रममा डा. राममनोहर लोहियाले उषा मेहतासँग मिलेर नेपालमा आजाद रेडियो स्थापना गरेको स्मरण गराएका थिए । जयप्रकाश नारायण र डा. राममनोहर लोहिया हनुमाननगर जेल भत्काएर मुक्त भएको कुरा पनि सो क्रममा उनले राखेका थिए ।
उनले १५ वर्षपछि आफू लखनउ आएको बताएका थिए । लखनउ निकै परिवर्तन भएको पाएको उनको भनाइ थियो । उनले जनेश्वर मिश्र पार्क, प्लाजा मल, एकना स्टेडियम, लखनउ–आगरा एक्सप्रेस वे, मेट्रो रेल आदि समाजवादी सरकारको नेतृत्वमा बनेको उल्लेख गरेका थिए । त्यहाँको विकासमा निकै सुधार भएको कुरा उनले राखेका थिए । लखनउको सडकमा पनि सुधार देखिएको धारणा यादवले राखेका थिए ।
समाजवादी पार्टीका अध्यक्ष यादवले भारत र नेपालको समाजवादी वैचारिक एकतामा जोड दिँदै समाजवादीको दृष्टिकोण नै विकासको बाटो रहेको बताएका थिए । विकासको विकल्प पुँजीवाद कदापि हुन नसक्ने उनको भनाइ थियो । उनले एसियाको भूराजनीतिमा आएको परिवर्तनका कारण भारतले चीनको खतराको सामना गरिरहेको बताएका थिए ।
भारतले ग्वालियर–इटावादेखि लिपुलेकसम्म, जनकपुरदेखि अयोध्या र सिद्धार्थनगरदेखि झाँसीसम्म राजमार्ग निर्माण भएपछि नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने उनको भनाइ थियो । समाजवादी पार्टीका अध्यक्ष यादवले खुला सिमाना र नेपालबिचको व्यापार बढाउन भारतले पनि जोड दिएको उल्लेख गरेका थिए । उनले पर्यटन क्षेत्रमा सहकार्य बढाउँदै गरिबी र बेरोजगारीको समस्या समाधान गर्न नेपाल र भारत दुवै मिलेर काम गर्नुपर्ने बताएका थिए ।
जसपा नेपालका अध्यक्ष यादवले अखिलेश यादवलाई जनकपुर आउन निम्तो दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलमा टीआरसी : नेतृत्वलाई पीडितहरूको प्रश्न– सिफारिस समिति कहिले बन्छ ?
-
पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सचिवालय स्थापना
-
मधेस प्रदेश सरकारद्वारा शहीद परिवारहरूको बीमा कार्यक्रम सुरुवात
-
२०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति
-
दिदी बहिनी मृत्यु प्रकरण : हत्या आशङ्कामा आमा पक्राउ