बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्राकृतिक विपद्

नेपालमा किन तारन्तार आइरहेछ भूकम्प ? अझै कति छ जोखिम ?

मङ्गलबार, २३ पुस २०८१, २० : १५
मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । नेपालमा तारन्तार भूकम्प आइरहेको छ । चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भयो । तर, नेपालमा जोखिम कम हुने अवस्था देखिँदैन । 

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा बर्मासम्म करिब २५ सय किलोमिटर लामो हिमालय क्षेत्र छ । यसमध्ये करिब आठ सय किलोमिटर अर्थात् एकतिहाइ भाग नेपालमा पर्छ । यसमा पर्ने ‘टेक्टोनिक प्लेट’हरूबिचको टकराव र ऊर्जा सञ्चितिका कारण नेपाल भूकम्पको जोखिममा रहेको बताउँछन्, नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)का भूकम्पविद् डा. शिव सुवेदी । 

चीन केन्द्रबिन्दु भई गएको भूकम्प नेपालमा टकराव र ऊर्जा सञ्चितिका कारणले नभई त्यसको ‘मुभमेन्ट’का कारणले महसुस भएको हो । ‘टेक्टोनिक प्लेट’हरूबिचको टकराव र ऊर्जा सञ्चितिका कारण नेपाल भूकम्पको जोखिममा छ । 

‘भारतको टेक्टोनिक प्लेट नेपालमुनि घस्रिएको छ । भित्र गहिराइमा गइरहेको छ । दुईवटै प्लेटको मुभमेन्टले गर्दा एनर्जी बाहिर आएको हो,’ उनी भन्छन्, ‘तिब्बतमा गएको भूकम्पले नेपालमा जान सक्ने भूकम्पको जोखिमलाई घटाएको छैन । नेपालको सञ्चित भएको शक्ति गएको होइन ।’

पश्चिम नेपालमा ५०० वर्षयता ‘आएको छैन ठुलो भूकम्प’

पश्चिम नेपालमा पाँच सय वर्षयता ठुलो भूकम्प नगएको जानकार बताउँछन् । यसको मतलब त्यहाँको जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ । मुस्ताङमा सन् १५०५ जुन ६ मा आठ म्याग्निच्युडको भूकम्प गएको इतिहास छ । जसलाई विज्ञहरू नेपाली इतिहासमा अभिलेख भएको सबैभन्दा ठुलो शक्तिको भूकम्प मान्छन् । त्यसको शक्ति ८.२ देखि ८.८ म्याग्निच्युडको बिचमा अनुमान गरिएको छ । 

तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्पपछि मध्यपश्चिम र सुदूरपश्चिममा ठुलो भूकम्प जान सकेको छैन । त्यो जोखिम अझै कायम रहेको खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झा बताउँछिन् । 

चीनमा गएको भूकम्पले नेपालमा जान सक्ने जोखिम न्यूनीकरण भएको हो त भन्ने प्रश्नमा उनले रातोपाटीसँग भनिन्, ‘चाइनामा गएको भूकम्प तिब्बतियन प्लेटमा गएको हो । हामीकहाँ जाने भूकम्प भनेको तिब्बतियन र भारतीय प्लेटको टकराव क्षेत्रमा हो । यसले गर्दा नेपालमा भूकम्प जाने हो ।’

चीनको भूकम्पले नेपालमा सञ्चित भएको शक्ति घटाउँदैन । शक्ति सञ्चितिका कारण नेपाल भूकम्पको जोखिममा देखिन्छ । सो जोखिम नहटेको झाको भनाइ छ । 

उनका अनुसार मध्य नेपालमा १०० वर्षयता ठुला भूकम्प गइरहेका छन् । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको गयो । तर, त्यसको प्रभाव गोरखा पश्चिममा परेन । मध्य नेपालमा भने ठुलो क्षति गर्‍यो । 

झाका अनुसार गोरखालाई बिन्दु मान्दा त्यसबाट पश्चिम नेपाल हुँदै देहरादुनसम्म ५१८ वर्ष अवधिमा ठुलो भूकम्प गएको छैन । उपमहानिर्देशक झा भन्छिन्, ‘यसले गर्दा त्यस क्षेत्रमा हजारवटा ६ म्याग्निच्युडको भूकम्प र २५ सयवटा सात म्याग्निच्युडको भूकम्प जान सक्ने शक्ति छ ।’

ठुलो भूकम्पका हजारौँ परकम्प 

ठुलो भूकम्प जाँदा त्यसका हजारौँ परकम्प जान्छन् । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गयो । 

बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत वर्ष  असोज १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गयो । जाजरकोटमा गत वर्ष नै एक महिनापछि कात्तिक १८ गते शनिबार ६.४ म्याग्निच्युडको भूकम्प गयो । यी भूकम्पको कैयौँ परकम्प गइसकेका छन् । 

पश्चिम नेपालमा केही समययता लगातार भूकम्प गइरहेको छ । हरेक भूकम्पको शक्ति चार म्याग्निच्युड आसपास देखिन्छ । यी सोही भूकम्पका परकम्प हुन् । त्यस्ता परकम्प ५५ हजारभन्दा बढी गइसकेको जानकार बताउँछन् । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरणअनुसार २०८१ साल लागेयता १९ पटक भूकम्प गइसकेका छन् । यीमध्ये अधिकांशको इपिसेन्टर पश्चिममै देखिन्छ ।  

चीन केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्पको परकम्प जाने उनीहरूको भनाइ छ । सोबाट सतर्क रहन भूकम्पविद् डा. सुवेदी सुझाउँछन् । 

‘सात म्यानिच्युडको भूकम्पको परकम्प ६ म्यानिच्युडसम्म जान सक्छ,’ उनी भन्छन्, ‘यसबाट सर्तक रहनुपर्छ ।’

उपमहानिर्देशक झा चीन केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्पको ३० देखि ४० हजार परकम्प जान सक्ने बताउँछिन् । ‘चीनको भूकम्पबाट ७० भन्दा बढी परकम्प आइसक्यो,’ उनी भन्छिन्, ‘चार म्याग्निच्युडभन्दा बढी १२ वटा परकम्प आइसकेको छ । सोलुखुम्बतिर महसुस गरेका छौँ । सात म्याग्निच्युडको भूकम्प जाँदा ३० देखि ४० हजार परकम्प जान्छ ।’ 

कसरी जोगिने  ? 

मुलुक नै भूकम्पको जोखिममा रहेकाले व्यक्ति आफू र आफ्नो परिवार जोगाउन सक्छु भन्ने तरिकाले सतर्क हुनुपर्ने सुझाव जानकार दिन्छन् । यो सोचले आफूलाई सतर्क राखे मानवीय क्षति कम हुने भूकम्पविद् डा. सुवेदी सुझाउँछन् । 

‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनी भन्छन्, ‘भूकम्प जति बेला पनि जान्छ । म र मेरो परिवारलाई बचाउन यसो–यसो गर्छु भनेर सोच्नुपर्‍यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुपर्‍यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’

भूकम्पबाट जोगिने मुख्य उपाय भौतिक संरचनामा सुधार गर्नुपर्ने विज्ञको भनाइ छ । ठुलो भूकम्प जान्छ तर कहिले जान्छ भनेर विज्ञानले भन्न सकेको छैन । तर, ‘अर्थक्वाइक अर्ली वार्निङ’ प्रविधि धेरै देशमा छ । यसलाई तत्काल भित्र्याउनुपर्ने सुवेदी बताउँछन् । 

उनी भन्छन्, ‘यो प्रविधिले भूमिको तरंगका आधार केही सेकेन्ड मात्रै अघि भए पनि अलर्ट गराउँछ । जसले गर्दा ठुलो क्षतिबाट जोगिन सकिन्छ ।’ 

उपमहानिर्देशक झा भूकम्पबारे सबै तहका सरकार सचेत हुनुपर्ने बताउँछिन् । भन्छिन्, ‘यसबाट जोगिन सबै तहका सरकार र व्यक्ति स्वयंको भूमिका उत्तिकै रहन्छ । तर, बलियो घर कसरी बनाउने ? स्थानीय तहले बढी जिम्मेवारी लिनुपर्छ ।’ संरचना बलियो भयो भने क्षति कम हुने उनको भनाइ छ ।  

झटपट झोला तयारी 

प्राकृतिक विपद्मा उपयोगी सामग्री राखिएको झोला नै ‘झटपट झोला’ तयारी हो । भूकम्पलगायत विपद्को आपत्कालीन अवस्थामा तुरुन्त बोकेर दगुर्न मिल्ने झटपट तयार गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । 

यो झोलामा प्राथमिक उपचारका सामग्री, अत्यावश्यक औषधि, पानी र पानी शुद्धीकरण गर्ने औषधि राख्नुपर्छ । लामो समय नबिग्रिने खानेकुरा राख्नुपर्छ । व्यक्तिगत सरसफाइका सामान पनि राख्नुपर्ने हुन्छ । 

सो झोलामा पैसालगायत अत्यावश्यक सामान (रेडियो, लाइटर, सियो, धागो, कपडा, टर्च लाइट, डोरी, सिटी)लगायत राख्नुपर्ने हुन्छ । सो सामान समय–समयमा परीक्षण गरिराख्नुपर्ने हुन्छ । छिटो र सजिलो गरी भेट्ने ठाउँमा यो झोला तयारी अवस्थामा राख्न प्राधिकरणका अधिकारीको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप