बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
एमाले बैठक

एमालेको ‘गाउँ पस्ने’ तीन महिने कार्ययोजना : ७ लाख सदस्य थपिने लक्ष्य

मङ्गलबार, २३ पुस २०८१, १८ : १०
मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । आगामी तीन महिना गाउँ पस्ने कार्ययोजना बनाउँदै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्नुका साथै पार्टी निर्माणका लागि गाउँ पस्ने कार्यायोजना बनाएर बैठक सकिएको हो । तीन दिन बसेको बैठकले १४ समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

पारित प्रस्तावमा कांग्रेस एमाले सम्मिलित संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन र सम्मृद्धितर्फ आशा जगाएको उल्लेख छ । त्यस्तै देशमा युवाहरूले अवसर नपाएर पलायन हुनुपर्ने अवस्थाप्रति एमालेले चिन्ता प्रकट गरेको छ ।

देशभित्र केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र स्वरोजगारीमा जोड्न र सूचना प्रविधिलगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्न सरकार सफल होस् भन्ने एमालेको कामना छ । त्यसैगरी भ्रष्टाचार नियन्त्रणमा सरकारले सुरु गरेका कदमलाई सकारात्मक भनेको एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको छानबिन गरेर निष्कर्षमा पुर्‍याउन तथा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेले निर्णायक राष्ट्रिय शक्ति निर्माण मुलुकको अहिलेको आवश्यकता रहेको ठहर गर्दै यस्तो शक्ति निर्माण भएमात्र राष्ट्रहीत, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता तथा सम्मृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा हुनसक्ने बताएको छ । त्यस्तो शक्तिको निर्माण नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव हुने भन्दै पार्टी विभाजनलगायतका कारणले बाहिर रहेका नेता कार्यकर्ताहरुलाई नेकपा एमालेमा फर्कन आह्वान गरेको छ ।

‘अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायत कारणले पार्टी बाहिर रहनुभएका सबै कमरेडहरू र स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका मित्रहरूलाई नेकपा एमालेमा फर्कन, यसमा आबद्ध हुन र सक्रिय हुन बैठक आह्वान गर्दछ’, बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘बैठकले महँगी नियन्त्रण, दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति, कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।’

केन्द्रीय सदस्य पदम गिरीले बैठकपछि एमाले सुदृढ र एकताका साथ अघि बढ्ने आधार तयार भएको बताए । उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्न एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने बैठकले सङ्कल्प गरेको बताए ।

‘त्यसका लागि मिसन २०८४ मा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने एमालेको निर्णय हो’, गिरीको भनाइ छ । एमालेले मिसन ८४ का १८ वटा कार्ययोजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यसबाहेक केन्द्रीय कमिटी बैठकले विशेष गरी तीन महिने वडा केन्द्रित कार्य योजनालाई महत्त्व दिएको छ ।

बैठकले तीन महिने वडा केन्द्रित कार्ययोजना अनुमोदन गरेको छ । जसअनुसार एमाले नेता कार्यकर्ताहरू माघदेखि चैतसम्म तीन महिनासम्म वडा केन्द्रित कार्यक्रममा जुट्नेछन् । जसलाई एमालेले ‘एमाले गाउँ पस्ने योजना’ समेत भनेको छ ।

यसअघि एमाले सङ्गठन विभागले माघदेखि चैतसम्म ३ महिने वडा केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावका आधारमा आठौँ केन्द्रीय कमिटी बैठकले तीन महिने कार्ययोजनासहितको कार्यक्रम बनाएको पोलिटब्युरो सदस्य विशाल भट्टराईले जानकारी दिए ।

‘देशभरका साबिकका सबै वडामा खटाएको नेतृत्व पुग्छ । जसअनुसार सदस्यता अनलाइन अपडेट, नवीकरण, नयाँ सदस्यता वितरण र कमिटी तथा जनसङ्गठनहरू व्यवस्थापन गर्ने कामलाई कार्य योजनामा प्राथमिकता दिइएको छ’, भट्टराईको भनाइ छ । 

बैठकमा दुवै नेताको प्रतिवेदनमाथिको छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टीमा देखिएको गुटबन्दीको प्रभाव तल्लो तहसम्म परेकाले त्यसलाई नियन्त्रण गर्न सुझाव दिएका छन् ।

तल्लो तहमा गुटबन्दी हुने गरेका गुनासाहरू बैठकमा आएपनि माथिबाट संरक्षित नभएकाले त्यसको समाधान निस्कने भट्टराईको भनाइ छ । उनका अनुसार राजनीतिक प्रतिवेदनबारे केन्द्रीय सदस्यहरूले मिश्रित धारणा राखेका छन् ।

‘प्रतिवेदनबारे मिश्रित भनाइ आएको छ । कतिले राम्रो छ भनेका छन् भने कतिले परिमार्जन गर्न सुझाव दिएका पनि छन्’, भट्टराईले भने, ‘सांगठानिक प्रतिवेदनमा आगामी कार्ययोजना केन्द्रित भएकाले कार्य योजनाअनुसार हामी माघ, फागुन र चैतमा देशभरका वडा, टोल र बस्तीमा पुग्छौ ।’

यस पटकको बैठकको मुख्य निर्णय नै एमाले गाउँ पस्ने भएको भट्टराईको भनाइ छ ।

तीन महिने वडा केन्द्रित कार्यक्रम राम्रो भएपनि त्यसको कार्यान्वयन पक्षमा नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा सदस्यहरूको सुझाव छ । गाउँको जिम्मेवारी लिने र सहरमा बस्ने प्रवृत्ति रहेको भन्दै नेताहरूको शहर मोहले गाउँमा सङ्गठन बिस्तारको काम सोचेजति हुन नसकेको सहभागीहरूको भनाई छ ।

वडा केन्द्रित अभियानको औचित्य

पार्टीको ७५औंं स्थापना दिवसको समय पारेर एमालेले २०८१ वैशाख ८–९ मा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले आगामी २५ वर्षभित्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने र समाजवादको बलियो आधार निर्माण गर्ने दूरगामी महत्वको सङ्कल्प गरेको थियो ।

जसमा तत्काल पार्टी ‘मिसन–२०८४’मा केन्द्रित हुने, राज्यका तीन वटै तहमा एकल बहुमत हासिल गरेर श्रमजीवी वर्गलाई राज्यसत्ताको केन्द्रीय नेतृत्वमा स्थापित गर्ने, राष्ट्रको आवश्यकता र जनअपेक्षानुरुप काम गर्ने र त्यसपछिका दिनमा निर्विकल्परूपमा नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिमा निरन्तर विजयी पार्टीका रूपमा स्थापित गर्ने उल्लेख गरेको थियो । त्यसको प्रारम्भ सङ्गठन शुद्धीकरण तथा सुदृढीकरणबाट गर्ने भनेको थियो । त्यही सोचलाई दृष्टिगत गर्दै पार्टी केन्द्रले २०८१ का लागि निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना जारी गरेको थियो ।

मंसिर अन्तिम साता केन्द्रीय सङ्गठन विभागले गरेको ‘स्थानीय तहमा पार्टी कामका समस्या तथा समाधान‘ बिषयक राष्ट्रिय कार्यशालाले २०८१ को केन्द्रीय वार्षिक कार्य योजनाअनुसार स्थानीय स्तरबाटै पार्टी काम र संगठनलाई सबल बनाउन ‘तीन महिना वडा–केन्द्रित पार्टी निर्माण विशेष अभियान’ सञ्चालन गर्न प्रस्ताव गरेको थियो ।

वडा–केन्द्रित पार्टी निर्माण अभियान– २०८१ स्थानीयस्तरमा पार्टीको सबलीकरण, जनतासँग पार्टीको घनिष्ठता र ‘मिसन चौरासी‘ लक्षित राष्ट्रिय अभियान भएको एमालेको भनाइ छ ।

जसअन्तर्गत पार्टी सदस्य बिस्तार गर्न फागुन–चैत भित्रै सदस्यता नवीकरण, पार्टीलाई टोलसम्म संगठनात्मकरुपमा गतिशील बनाउने, पार्टी जीवनको शुद्धीकरण, भ्रामक प्रचारको प्रतिवाद गर्ने, पार्टीको नीति र नेतृत्व स्थापित गर्ने, कार्यकर्तामा आत्मविश्वास र जनतामा आशा जगाउने तथा जनताका माग–मुद्दा र समस्यामा अग्रसरता लिएर घर–घर पार्टीलाई पुर्‍याउने एमालेको लक्ष्य रहेको छ । साथै  महिला सदस्यता कम्तीमा ३३ प्रतिशत पुर्‍याउने, युवा नेतृत्व विकास, पार्टीलाई पूर्णतया प्रविधिमैत्री बनाउने, वडासम्म जनसंगठन कमिटी र सदस्य बिस्तार अर्थात् जगैदेखि पार्टीलाई मजबुत जनाधारित कार्यकर्ता पार्टी बनाउन अभियान फलदायी बन्ने एमालेको भनाइ छ ।

‘यो अभियान वडा तहमा केन्द्रित हुनेछ र अभियानबाट वडामार्फत टोलस्तरका कमिटी सुचारु गर्ने, नयाँ  निर्माण गर्ने र नियमितरुपमा जनताको घर–घरसम्म पुग्ने परिपाटी बसाइनेछ’, सङ्गठन विभागले गरेको प्रस्तावमा भनिएको छ ।

अभियानको उद्देश्य र अपेक्षित उपलब्धि

अभियानबाट भौगोलिक र गैर–भौगोलिक करिब ८ हजार वडा/शाखा तहका कमिटीहरू, टोल तथा प्रारम्भिक कमिटीस्तरका १० हजार भन्दा बढी कमिटीहरूको क्रियाशीलता बढाएर राष्ट्रिय रूपमा ३ लाख भन्दा बढी नेता कार्यकर्ता पार्टी तथा जनसंगठन निर्माण र नेतृत्व विरुद्धका भ्रामक प्रचारको प्रतिवाद गर्न परिचालित हुने एमालेको अपेक्षा छ ।

जग तहमा पार्टी सदस्यता नवीकरण तथा विस्तार, सङ्गठन निर्माण र सबलीकरण गर्ने अन्तर्गत पार्टी जिल्ला कमिटीको निर्णयले २०८२ का लागि योग्य ठहरिएका सबै पार्टी सदस्यहरूले पार्टी सदस्यता २०८१ चैतभित्रै नवीकरण हुने एमालेले जनाएको छ । यसका साथै ९० प्रतिशत पार्टी सदस्यहरू अनलाइनमा आउने र पार्टी सदस्यतामा दुई लाख नयाँ सदस्यहरू थप हुने एमालेको दाबी छ ।

हाल रहेको ७ हजार ५ सय ९ वडास्तरको कमिटीमा थप ५ सय शाखा तथा वडास्तरका कमिटीहरू गठन गर्ने र अधिवेशन बाँकी रहेका सबै वडास्तरका कमिटीहरूको अधिवेशन चैत मसान्तभित्र सम्पन्न गर्ने एमालेको योजना छ । त्यसो गर्दा हाल रहेका टोलस्तरका कमिटीमा ५ हजार टोलस्तरका कमिटीहरू थप हुने एमालेको भनाइ छ । जनसङ्गठनका स्थानीय अधिवेशन सम्पन्न गर्दै सम्बन्धित जनसंगठनको विधान बमोजिम वडा तहमा कमिटी र सदस्यताको अभिलेख व्यवस्थित गर्दा हालको सङ्ख्यामा कम्तीमा ७ लाख सदस्य थपिने एमालेको बुझाई छ ।

भ्रम चिर्न ५० हजार कार्यकर्ता परिचालन

एमालेले सबै प्रकारका भ्रम र राष्ट्रिय निराशा फैलाउने प्रयत्नहरूको प्रतिवाद गर्ने  भएको छ । त्यसका लागि सबै पालिकास्तर तथा इलाका स्तरमा सामाजिक सञ्जाल तथा डिजिटल सञ्चार समूह गठन गरेर परिचालन गर्नेछ र लक्षित ३ महिनाको अवधिमा सामाजिक सञ्जालमा राष्ट्रिय समृद्धि, आशा र जनताप्रति विश्वास जगाउने न्यूनतम १ लाख सन्देशहरू प्रवाह गर्नेछ । राष्ट्रिय निराशा फैलाउने, पार्टी र नेतृत्व विरुद्ध भ्रम फैलाउने सबै खालका प्रचार र षड्यन्त्रका विरुद्ध न्यूनतम ५० हजार डेडिकेटेड नेता कार्यकर्ता परिचालन गर्ने एमालेको तयारी छ । वडामा बसोबास गर्ने सबै तहका पार्टी तथा जनसंगठनका नेता, पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि, गत स्थानीय र संसदीय निर्वाचनमा उपविजेता भएका उम्मेदवारहरू, स्थानीय वडा तथा टोलस्तरका कमिटीमा आबद्ध समेत २ लाख नेता कार्यकर्ताले न्यूनतम १५ लाख घर परिवारमा प्रत्यक्ष भेटघाट, संवाद र पार्टीको सन्देश प्रवाह गर्नेछन् ।  

यसैगरी २०८४ मा मतदाता बन्ने १० लाख युवाहरूमाझ पार्टीको स्थानीय युवा नेतृत्वले विद्यालय, कलेज, समुदाय आधारित संवाद, भेटघाट कार्यक्रम गरी पार्टी सन्देश र प्रभाव विस्तार गर्नेछन् । कार्ययोजना अन्तर्गत पार्टी परिचालन हुँदा स्थानीय घर दैलो भेटघाट जन संवाद कार्यक्रमबाट ६० लाख मतदातामाझ पार्टी पङ्क्ति पुग्ने एमालेको बुझाई छ  ।

अभियान सञ्चालन प्रक्रिया

अभियान प्रदेश, जिल्ला,  निर्वाचन क्षेत्र समन्वय कमिटी, पालिका र वडा तहबाट कार्यान्वयनमा ल्याउने एमालेले जनाएको छ । अभियान घोषणाको पहिलो १० दिनभित्र सबै प्रदेश कमिटीले प्रदेश कमिटीका सदस्यहरूलाई तोकिएको पालिका, जनसंगठन तथा जिम्मेवारीको स्पष्ट कार्यादेश, परिणाममा आधारित कार्यसम्पादन– सूचक सहित प्रदेशस्तरीय अभियान कार्यतायलिका निर्माण गरी कार्यान्वयन निर्देशन गर्नेछन् । त्यसैगरी दोस्रो १० दिनभित्र जिल्ला कमिटीले जिल्ला तहबाट तोकिएको वडा÷शाखा, जनसंगठन तथा जिम्मेवारीको स्पष्ट कार्यादेश, परिणाममा आधारित कार्यसम्पादन–सूचक सहित जिल्लास्तरीय अभियान कार्यतालिका निर्माण गरी कार्यान्वयन निर्देशन गर्नेछन् ।

तेस्रो १० दिनको समयमा सबै पालिकास्तरका कमिटीले पालिका/इलाका तहबाट टोल/प्रारम्भिक कमिटी, जनसंगठन, जनप्रतिनिधि, निर्वाचनका उपविजेता उम्मेदवारहरू समेतलाई समावेश गरी कार्यटोली बनाइ स्पष्ट कार्यादेश, परिणाममा आधारित कार्यसम्पादन –सूचक सहित पालिका÷इलाका स्तरीय अभियान कार्यतायलिका निर्माण गरी कार्यान्वयन गर्नेछन् । अभियान अवधी समापन भएपछि पनि सम्बन्धित वडा कमिटीले निरन्तर टोल–बस्तिस्तरका संगठनात्मक, राजनीतिक गतिविधि, घर दैलो र सङ्गठन व्यवस्थापन, सञ्चार अभियान तथा प्रशिक्षण कार्यक्रमहरूलाई अझ सुदृढ बनाउँदै निरन्तरता दिनेछन् ।          

नेतृत्व पङ्क्तिका लागि कार्यादेश

एमालेको अभियानमा सम्बन्धित भूगोल, गैर–भौगोलिक क्षेत्र र सम्बन्धित जनसङ्गठनका लागि तोकिनुभएका जिम्मेवार नेता कार्यकता नै अभियन्ताको भूमिकामा रहनेछन् । वडामा बाहिरबाट कुनै प्रतिनिधि नपठाएपनि सम्बन्धित प्रदेश पार्टी कमिटीका इन्चार्जको मुख्य कमान्ड रहनेछ । जिल्ला इन्चार्जको संयोजनमा  निर्वाचन क्षेत्रका इन्चार्ज पार्टी केन्द्रीय कमिटीका नेताहरूले अभियानको समग्र नेतृत्व गर्नेछन् ।

प्रदेश कमिटीका पदाधिकारीहरूले योजना बमोजिम प्रदेशभरी अभियान चले/नचलेको अनुगमन तथा निर्देशन गर्नेछन् ।

अभियानको अवधि

२०८१ माघ देखि चैतसम्म सञ्चालन गरिने वडा–केन्द्रित पार्टी निर्माण अभियानको औपचारिक आरम्भ माघ १ गते गर्ने र पार्टी स्थापन दिवस वैशाख ९ गते विशेष कार्यक्रमकासाथ अभियान समापन हुने एमालेले जनाएको छ । २०८२ वैशाख ५ गतेसम्म वडा कमिटीले तीन महिने अभियानको आफ्नो प्रतिवेदन जिल्ला कमिटीमा पठाइसक्ने छन् भने जिल्ला कमिटीले समग्र समीक्षा प्रतिवेदन वैशाख १५ भित्र प्रदेश कमिटीमा पठाइसक्नेछन् । प्रदेश कमिटीले वैशाख ३० गतेसम्म समीक्षा सहितको प्रतिवेदन केन्द्रीय सचिवालयमा पठाउने सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप