कारबाही पुनर्विचार हुँदैन, अराजकता स्वीकार्य छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथिको कारबाहीबारे तत्काल पुनर्विचार गर्न नसकिने बताएका छन् ।
अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ता अनुशासनबाट बाहिर गएपछि कारबाही गरेर अनुशासन कायम गर्नुपर्ने भन्दै सुध्रिएको खण्डमा सोच्न सकिने भएपनि तत्काल त्यसबारे पार्टीले नसोचेको बताए ।
नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाहीबारे केही केन्द्रीय सदस्यले गरेको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यहाँ केहीले नेताहरूमाथिको कारबाहीमाथि पुनः विचार गरौँ भनेको पनि सुनियो, तर त्यो होइन, पुनर्विचार हुँदैन’, अध्यक्ष ओलीले भने, ‘पार्टी नेतृत्व र नीतिका पक्षमा रहनुपर्छ । अनशनहीनता र अराजकता स्वीकार्य छैन ।’ एक केन्द्रीय सदस्यले भने, ‘विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको हकमा पनि त्यो लागु हुनसक्छ । रावलको त के कुरा भयो र !’