एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्छन् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन् ।
पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताए ।
बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उनले स्पष्ट गरे ।
अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एकै दिन सुरु भएर एकै दिन सकिएको माओवादी केन्द्र र एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको उल्लेख गर्दै आफ्नो पार्टीले अरूलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताए । ।
उनले दुवै पार्टीका बैठकबाट जनताले माओवादी र एमालेबिच को सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा छ ? को आन्तरिक लोकतन्त्रको पक्षमा र को निरंकुश रहेछ भन्ने राम्रोसित तुलना गर्ने अवसर पाएको बताए । 'एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको सुरुवात गर्यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौँ', अध्यक्ष प्रचण्डले भने,'यी दुई पार्टीका बैठकबाट एमालेलाई बुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।'
अध्यक्ष प्रचण्डले अब अभियानमार्फत व्यापकरुपमा जनताको बीचमा गएर महाधिवेशनमा जाने बताए । उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई उनले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्यविभाजन गर्दा उनको पनि गरिने बताए ।