बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

स्वास्थ्य एआईको विषयमा छलफल गर्न ‘हाइकन’ सम्मेलन

मङ्गलबार, २३ पुस २०८१, १५ : ३८
मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५ काठमाडौँमा सुरु भएको छ । नेपाल र विकासशील देशहरूमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआई फर अल नेटवर्कले (हाइनेट) कन्फ्रेन्सको आयोजना गरेको हो ।

हाइनेट नेटवर्कको सञ्चालक समितिमा तीन चौथाइ सदस्यहरू विकासशील र विकासोन्मुख देशका रहने गर्छन् ।  सोही अनुरूप हाइनेटले विकासशील देशहरूले स्वास्थ्य सेवाको समस्या पहिचान गरी त्यसलाई स्वास्थ्य एआईको माध्यमबाट समाधान गर्ने उद्देश्य लिएर विस्तृत छलफल गर्न कन्फ्रेन्स आयोजना गरेको हो ।

नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरूमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतिर हाइनेट सुरु गरेको नेटवर्कका सञ्चालक समितिका संस्थापक सदस्य डा. किरणराज पाण्डे बताउँछन् । उनका अनुसार,  स्वास्थ्य सेवा वितरणमा महत्त्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुर्याउन स्वास्थ्य एआइले कसरी भूमिका खेल्छ भन्ने विषयमा कन्फ्रेन्समा छलफल हुनेछ ।

त्यसैगरी, नेपालजस्ता विकासशील देशहरूले सहकार्य गरेर स्वास्थ्यमा भएका आफ्ना समस्या पहिचान र स्वास्थ्य एआई विकास गर्न स्वामित्व लिन सहकार्य गर्ने विषय पनि कन्फ्रेन्स केन्द्रित रहनेछ । “हाइनेट नेटवर्कले स्वास्थ्य एआईमा विकासशील र विकाउन्मुख देशहरूले आफ्नो वैज्ञानिक एजेण्डा स्थापित गर्न र आफ्नो आवश्यकता निर्धारण गर्ने काममा  सहकार्य गर्नका निम्ति ज्ञान निर्माण, नीतिगत पहल र विज्ञान प्रविधि आदान प्रदान गर्ने काम गर्नेछ” डा. पाण्डेले भने ।

हाइनेटको संस्थापक सदस्य डा. विशेष खनाल विकासोन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिको उपभोक्ता मात्र नभइ उत्पादक पनि हुने सम्भावनाको प्रवर्द्धन गर्न यो नेटवर्कले काम गर्ने बताउँछन् । यो सम्मेलनमा विकास उन्मुख देशका स्वास्थ्य प्रणालीमा स्वास्थ्य एआई प्रविधिले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा पनि छलफल हुनेछ ।

नेटवर्कका सदस्य तथा युनिभर्सिटी अफ एभर्डिनका सहप्राध्यापक विनोद भट्टराई पछिल्लो समय विकसित देशहरूमा स्वास्थ्य क्षेत्रमा एआई को प्रयोग व्यापक भइरहेको बताउँछन् । यद्यपि, नेपाल र नेपालजस्ता स्वास्थ्य सेवाको सीमित स्रोत भएका स्थानमा रहेका बिरामीलाई एआई प्रविधिको लाभ नपाउने जोखिम पनि उस्तै रहेको उनको भनाइ छ ।

भट्टराईले हाइकनलाई संसारभरका अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी, यस क्षेत्रमा संलग्न व्यक्ती र बिरामीहरूलाई एआईको प्रयोग र अभ्यास गर्ने प्लेटफर्म बनाउने उद्देश्य राखेको बताए ।

कन्फ्रेन्समा स्वास्थ्य एआईको बारेमा छलफल र विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा विभिन्न देशका विज्ञहरूले स्वास्थ्य एआईलाई स्वास्थ्य प्रणालीमा कसरी संलग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसको सम्भावना, चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एण्ड एन्फोम्याट्रिक्स (नामी)को सहआयोजना रहेको कन्फ्रेन्स २ दिनसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप