अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते

काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा १३० जना घाइते भएका हुन् ।
भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । त्यस्तै रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ । यता काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन् । उनको अस्पतालमा उपचार जारी रहेको छ ।
त्यसै गरी, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको मन्त्रालयको भनाई छ । उपचारपछि स्वास्थ्य अवस्था सामान्य भई उनीहरू डिस्चार्ज भइसकेका छन् ।
पिपल्स डेली अनलाइनले बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’