बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
सहकारी संकट

अम्बे कोशी सहकारी ‘समस्याग्रस्त’ घोषित, १३ हजार बचतकर्ताको ६१ करोड हिनामिना

मङ्गलबार, २३ पुस २०८१, १३ : ५७
मङ्गलबार, २३ पुस २०८१

विराटनगर । सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । 

मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको जानकारी दिँदै अन्य समस्यामा रहेका सहकारीको विषयमा पनि अध्ययन भइरहेको बताए । ‘पहिलो चरणमा हामीले अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरेका छौँ,’ उनले भने, ‘बाँकी समस्यामा रहेका सहकारीहरूलाई पनि क्रमशः घोषणा गरेर समस्या समाधानको पहल गर्छौँ ।’

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगर अहिले पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ भने पक्राउ परेका कतिपय अरू सञ्चालकहरू धरौटीमा रिहा भएका छन् । 

उक्त सहकारीको रकम अपचलनमा नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु कुमारी लिम्बू (अमृता सुब्बा) पनि संलग्न छिन् । सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको मुद्दा छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले विराट चोक, विराटनगर र दमकका १३ हजारभन्दा बढी सर्वसाधरणको ६१ करोड बढी बचत अपचलन गरेको कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए । 

कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । उक्त समिति गठन भएको पाँच दिनपछि अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त संस्था वा संघको रूपमा घोषणा गरिएकोमा त्यस्तो संस्था वा संघको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न व्यवस्थापन समिति गठन गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप