बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
विवाद समाधान

खुम्बु क्षेत्रमा हेलिकोप्टर उडाउन नदिने निर्णयबाट पछि हट्यो सगरमाथा राष्ट्रिय निकुञ्ज

मङ्गलबार, २३ पुस २०८१, १३ : ४८
मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान गर्न रोक लगाउने निर्णयबाट सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पछि हटेको छ ।

 कार्यालयले सबै हेलिकोप्टर कम्पनीलाई पत्र लेख्दै उक्त सो क्षेत्रभित्र हेलिकोप्टर चलाउन अनुरोध हो । उक्त पत्रको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ । 

सोमबार कार्यालयले पठाएको पत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल, तालतलैया, तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकलाई सो स्थानको दृष्यावलोन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्दार गर्न, विकास निर्माणका सामाग्री, खाद्य सामाग्री तथा अन्य सामाग्री ढुवानी गर्न लगायत कार्यका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकोप्टर कम्पनीहरूलाई निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजश्व बुझाई प्रचलित कानुन अनुसार सुरक्षित तवरले हेलिकोप्टर उडान, अवतरण, ओभरिङ गर्न गराउन अनुरोध गरिएको छ ।

गत महिना सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी संघसंस्थाले पुस १७ गते (जनवरी १ तारिख) देखि उडान रोक लगाउने निर्णय गरेका थिए । सोही अनुसार हेलिकोप्टर कम्पनीहरूलाई पत्र पठाइएको थियो । 

हेलिकोप्टर कम्पनीहरुको उडान र सञ्चालनको अनुमति दिने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको भएको भन्दै हेलिकोप्टर सञ्चालक कम्पनीहरुले तयो निर्णय नमान्ने बताउँदै आएका थिए । तर, सुरक्षाको कारणले भन्दै उनीहरुले एक सातादेखि उडान गरेका छैनन् । त्यसैले यो अवधिमा त्यो क्षेत्रमा आकस्मिक बाहेक उडान हुन सकेको छैन । 

निकुञ्जले उडान सञ्चालन गर्न गरेको यो आग्रहलाई वायुसेवा सञ्चालकरुले स्वागत गरेका छन् । कैलाश हेलिकोप्टरका प्रबन्ध सञ्चालक प्रतापजंग पाण्डे बताउँछन् । तर, तत्कालै उडान सुरु गर्नेगरी सुरक्षा सुनिश्चितता अनुभुत गर्नसक्ने अवस्था अझै नरहेको उनको भनाइ छ । 

निकुञ्जले अनुमति दिए पनि स्थानीयहरु अझै पनि उडान गर्न नदिने भन्दै आएका छन् । त्यस्तै, स्थानीय सरकारको रुपमा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले समेत अहिलेसम्म त्यसबारे पुनर्विचार गर्ने निर्णय गरेको छैन । 

यसैबीच जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आगामी माघ ११ गतेका सो क्षेत्रमा उडान गर्ने  हेलिकोप्टर कम्पनी तथा खुम्बु पासाङल्हामु गाउँपालिकालाई समन्वय बैठकका लागि बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप