बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट

भारत–पाकिस्तान तनाव सेलाउन नपाउँदै इङ्ल्यान्ड–अफगानिस्तानबिच विवाद सुरु

मङ्गलबार, २३ पुस २०८१, १३ : ४२
मङ्गलबार, २३ पुस २०८१

काठमाडौँ । आगामी महिना आयोजना हुने भनिएको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा आयोजक पाकिस्तान र चिर प्रतिद्वन्द्वी भारतबिचको लडाइँ साम्य हुन नपाउँदै अफगानिस्तान र इङ्गल्यान्डबिच अर्को विवाद सुरु भएको छ । 

एकदिवसीय क्रिकेटमा विश्वकपपछिको दोस्रो ठुलो प्रतियोगिता च्याम्पियन्स ट्रफीको नवौँ संस्करण आगामी फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । उक्त प्रतियोगितामा इङ्ल्यान्ड र अफगानिस्तान एउटै समूहमा परेका छन् ।

समूह ‘बी’ मा रहेका इङ्ल्यान्ड र अफगानिस्तानबिच फेब्रुअरी २६ तारिखमा खेल हुने कार्यक्रम रहेको छ । तर, बेलायतका राजनीतिज्ञहरूले च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डको टोलीले अफगानिस्तानसँग खेल्न नहुने धारणा राख्दै आएका छन् । 

अफगानिस्तानको तालिबान सरकारले महिलाहरूमाथि विभेद गरेको भन्दै बेलायतका राजनीतिज्ञहरु आफ्नो टोलीले अफगानिस्तानसँग च्याम्पियन्स ट्रफी नखेलोस् भन्ने चाहन्छन् । 

इङ्ल्यान्डको टोलीले अफगानिस्तानविरुद्धको खेल बहिष्कार गरे अन्तर्राष्ट्रिय रूपमा त्यसको फरक सन्देश जाने बेलायती राजनीतिज्ञहरूको बुझाइ छ । त्यसैले उनीहरूले इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डलाई पनि च्याम्पियन्स ट्रफीमा अफगानिस्तानविरुद्धको खेल बहिष्कार गर्न दवाव दिँदै आएका छन् ।   

आफ्नै देशका राज्ञनीतिज्ञहरुको दबाबले इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड पनि अन्योलमा परेको छ । अफगानिस्तानको तालिबान सरकारले महिला अधिकारमाथि व्यापक आक्रमण गरेको भन्दै बेलायतसँगै अन्य राष्ट्रहरूले पनि त्यसको विरोध गर्दै आएका छन् । 

च्याम्पियन्स ट्रफीमा अफगानिस्तानविरुद्धको खेल बहिष्कार गर्न सुझाव दिँदै इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डलाई बेलायती राजनीतिज्ञहरुले पठाएको पत्रमा लेवर पार्टीकी सांसद टोनिया एन्टोनियाजीले पनि हस्ताक्षर गरेकी छन् । 

उक्त पत्रमा निगेल फारेज, जेरेमी कोर्बिन, लर्ड किन्नकलगायतले पनि हस्ताक्षर गरेका छन् । पत्रमा एक सय ६० जनाभन्दा बढी राजनीतिज्ञले हस्ताक्षर गरेको बताइएको छ । सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा महिला खेलाडीहरू पनि प्रभावित हुँदै आएका छन् । अफगानिस्तानका थुप्रै महिला खेलाडीले सुरक्षाको कारण देश पनि छाडेका छन् ।

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका प्रमुख कार्यकारी रिचर्ड गोल्डले आफूहरू समस्याको समाधान खोज्न प्रयासरत रहेको बताएका छन् । उनले यसमा सरकारको भूमिका महत्त्वपूर्ण साबित हुने धारणा पनि व्यक्त गरेका छन् । 

प्रमुख कार्यकारी रिचर्डले आफूहरू पनि अफगानिस्तानमा महिला तथा बालबालिकाहरूको अधिकारको पक्षमा रहेको समेत बताएका छन् । उनले अफगानिस्तानविरुद्धको द्विपक्षीय शृङ्खलाहरूमा इङ्ल्यान्ड क्रिकेट बोर्डको भूमिका अझ बढी निर्णायक हुने पनि बताएका छन् ।

यसअघि, च्याम्पियन्स ट्रफीको विषयलाई लिएर भारत र पाकिस्तानबिच ठुलै विवाद भएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि विवाद सुरु भएको थियो । 

लामो समयको विवादपछि ‘हाइब्रिड मोडल’ का आधारमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समाधान खोजेको थियो । उक्त मोडलअन्तर्गत भारतले च्याम्पियन्स ट्रफीको आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नेछ ।

यसका अतिरिक्त, आगामी तीन वर्षसम्म आईसीसीले भारतमा आयोजना गर्ने प्रतियोगिता अन्तर्गतका खेलहरू पाकिस्तानले पनि ‘न्यूट्रल भेन्यू’ मै खेल्ने छ । भारत र पाकिस्तानबिचको विवाद सेलाउन नपाउँदै च्याम्पियन्स ट्रफीलाई लिएर इङ्ल्यान्ड र अफगानिस्तानबिच अर्को तनाव सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप