बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गाेपालकृष्ण घिमिरेविरुद्धको अदालतकाे अवहेलना मुद्दामा सर्वोच्च अदालतले अडियाे र भिडियाेलगायत सामाग्री मगाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले सो आदेश दिएको हो ।
यसअघि अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जबाफ दिन आदेश गरेको थियो । उनलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्द प्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दसैँअघि दर्ता भएको थियो।
सोही प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले उनलाई सात दिनभित्र आफै वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो । सर्वोच्चको उक्त आदेश पछि उनले बारका तर्फबाट लिखित जवाफ पेस गरेका थिए ।
नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिका विषयलाई लिएर प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उपरजिस्ट्रार गोविन्द घिमिरेले उनलाई अवहेलनामा कारबाही गर्नुपर्ने प्रतिवेदन तयार पारेका थिए। बार अध्यक्षले गरेको टिप्पणीप्रति न्याय परिषद्ले समेत विज्ञप्ति जारी गरेर खेद प्रकट गरेको थियो।
बार अध्यक्षले अदालत, न्याय परिषद् र प्रधानन्यायाधीशविरुद्ध कुलसित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको परिषद्को विज्ञप्तिमा उल्लेख थियो। केही दिनमै उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित परिषद्ले सर्वोच्चमा २ न्यायाधीश मात्र सिफारिस गरेकोमा विरोध गर्दै बार अध्यक्षले एक कार्यक्रममा भाषण गरेका थिए।
नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरीयतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ। उक्त नियमावली नसच्याई कुनै पनि अदालतमा न्यायाधीश नियुक्ति गर्न नपाइने बारको माग छ। बारको विरोधकै बिचमा असोज ११ गते सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले त्यसमाथि प्रश्न उठाएका थिए ।
नियमावलीको उक्त व्यवस्था गैरसंवैधानिक भएको भन्दै उनले प्रधानन्यायाधीशलाई पनि गैरसंवैधानिक काम गरेको आरोप लगाएर विभिन्न सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?