धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार केही वर्षदेखि लगातार धान बाली हुने क्षेत्रफल घट्दै गएको छ । तर धानको उत्पादन भने बढ्दो क्रममा छ ।
पछिल्लो पाँच वर्षमा धान बाली हुने क्षेत्रफल ५२ हजार हेक्टर घटेको छ । तर उत्पादन भने ३ लाख मेट्रिक टनले बढेको छ ।
चालु आर्थिक वर्ष (२०८१/०८२) मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान कृषि मन्त्रालयले सार्वजनिक गरेको छ । यो उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी हो ।
धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन बढेको मन्त्रालयको दाबी छ । वर्षे र चैते दुवै गरी चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यो क्षेत्रफल गत आर्थिक वर्षको तुलनामा १.२८ प्रतिशतले कम हो ।
यसरी धान बालीको क्षेत्रफल घट्नु तर उत्पादन बढ्नुमा विविध कारण रहेको विज्ञ बताउँछन् । धान बालीको क्षेत्रफल घटे पनि उत्पादन बढ्नुमा सक्रिय मनसुन, रासायनिक मलको उपलब्धता, उन्नत तथा विकासे जातको प्रयोग लगायत कारण रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. मतिना जोशी वैद्य बताउँछिन् ।
‘मलको उपलब्धता, उन्नत तथा विकासे जातको प्रयोग, कृषिमा यान्त्रीकरण जस्ता कारणले धानको उत्पादकत्व बढ्छ,’ उनले भनिन्, ‘उत्पादकत्व बढे उत्पादन स्वतः बढी भइहाल्छ ।’
पछिल्लो समय व्यावसायिक रूपमा धान खेती गर्ने किसान पनि बढेका छन् । उनीहरूले विभिन्न तालिम, अनुभव तथा पढाइ गरेका कारण पनि थोरै क्षेत्रफलमा कसरी धेरै फलाउने भन्ने बुझेका छन् । यसमा थप रोप्ने बेलादेखि भित्र्याउने बेलासम्म यान्त्रीकरणको प्रयोग पनि बढेको छ ।
कृषि वैज्ञानिक रामबहादुर केसीका अनुसार धान बालीका लागि समयमा रोप्ने, गोड्ने, मल, सिँचाइ समयमै आवश्यक हुन्छ । पछिल्लो समय किसानले यी कुराहरू बुझ्दै गएको पाइन्छ । ‘यसका साथै धानबालीमा प्रयोग भएका प्रविधि तथा यन्त्रले गर्दा पनि उत्पादकत्व बढेको हो,’ केसीले भने ।
- धान बालीको पाँच वर्षे तथ्याङ्क
- यो वर्ष सबैभन्दा बढी उत्पादकत्व
धानको उत्पादन बढी हुँदाको वर्षमा समग्र आर्थिक वृद्धिदरमै ठुलो सहयोग पुग्ने गरेको छ । नेपालको समग्र कृषि उत्पादनमा धानको मात्रै योगदान करिब १३ प्रतिशत छ । कृषि मन्त्रालयका अनुसार धानको उत्पादकत्व यो वर्ष सबैभन्दा बढी भएको छ । हाल नेपालमा धानको औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टरमा पुगेको छ । यो उत्पादकत्व हालसम्मको उच्च विन्दु रहेको मन्त्रालयको भनाइ छ । नेपालमा पाँच वर्षअघि आर्थिक वर्ष २०७७/०७८ मा धानको उत्पादकत्व ३.८२ मेट्रिक टन प्रतिहेक्टर थियो ।
धानको उत्पादकत्व आर्थिक वर्ष २०७८/०७९ मा ३.४७ मेट्रिक टन प्रतिहेक्टर थियो । यस्तै, २०७९/०८० मा ३.७९ मेट्रिक टन प्रतिहेक्टर, आर्थिक वर्ष २०८०/०८१ मा ३.९८ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा चालु आर्थिक वर्षमा बढेर ४.१९ पुगेको मन्त्रालयले जनाएको छ ।
- कहाँ कति फल्यो धान ?
प्रदेशगत रूपमा कोशी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कुल धान उत्पादनमा वृद्धि भएको छ । कोशी प्रदेशमा यो वर्ष १४ लाख ६६ हजार मेट्रिक टन धान फलेको छ । गत वर्ष त्यहाँ १४ लाख ३५ हजार मेट्रिक टन धान फलेको थियो । गत वर्षको तुलनामा यो वर्ष कोशीमा २.१६ प्रतिशतले धानको उत्पादन वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ ।
यस्तै मधेस प्रदेशमा १०.७ प्रतिशतले धानको उत्पादन वृद्धि भएको छ । गत वर्ष १३ लाख ३७ हजार धान फलेकोमा यो १४ लाख ८० हजार मेट्रिक टन धान फलेको छ । लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।
अन्य प्रदेशमा भने उत्पादन घटेको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यका अनुसार बागमती प्रदेशमा असोजको दोस्रो साता आएको बाढीका कारण धान उत्पादनमा कमी आएको हो । मन्त्रालयका अनुसार यो वर्ष रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमी रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको देखाएको छ ।
- प्रदेशगत उत्पादन विवरण: