के तपाईं ‘अल्फा जेन’को शिक्षक हो ?
मेरो छोराकी एक शिक्षिकाले केही समयअघि मलाई भनेकी थिइन्, ‘हजुरको बाबुले धेरै प्रश्न गरेर हैरान पार्छ । मलाई त कति प्रश्नको उत्तर नै आउँदैन । कस्तो लाज मर्नु बनाउँछ कक्षामा ।’
उनीसँगै भएकी अर्की शिक्षिकाले थपिन्, ‘अँ भन्या, कति धेरै कुरा थाहा भएको हो के, कक्षा २ मा पढ्नेलाई पनि ! अचम्म पार्छ ।’
अहिले बाबुले कक्षा ३ मा पढ्छ । उसका प्रश्नको जवाफ दिन मलाई पनि गाह्रो हुन्छ, जबकि दुई दशकदेखि मैले विश्वविद्यालय तहमा अध्यापन गर्छु ।
उसका कतिपय प्रश्नको जवाफ दिन कहिलेकाहीँ मैले एआई (कृत्रिम बौद्धिकता)को प्रयोग गर्छु तर कतिपय जवाफ दिन एआई पनि सक्दैन ।
सत्य यो हो कि मेरो छोरो ‘अल्फा जेनेरेसन’भित्र पर्छ । उसका शिक्षक ‘जेनेरेसन एक्स’ (सन् १९६०–१९८० को बिचमा जन्मेको समूह) का छन्, म त झन् वाई जेनेरेसन (सन् १९८०–१९९० को बिचमा जन्मेको समूह)को ।
‘बेबी बुमर’ (सन् १९४६–१९६४ को बिचमा जन्मेको समूह) भन्दा अगाडिका जन्मेकाले सुत्नुअघि विभिन्न लोककथा, धार्मिक वा पौराणिक कथा, भूतका कथा सुनेर हुर्केको हुन्थ्यो । सीमित धार्मिक ग्रन्थका कहानी र श्रीस्वस्थानी कथालाई ज्ञानको अद्भुत स्रोत मानेर हुर्केको मेरो पुस्ता ।
उनीहरू त ‘मार्स’ (मंगल ग्रह)मा जानका लागि ६ महिना सुत्ने ट्रेनिङ गर्नुपर्ने कुरा गर्छन् । चाइनाले समुद्रमुनि लामो ट्रेन बनाएको कुरा गर्छन् । एउटै बोटामा सुन्तला, कागती, भोगटे, जुनार, निबुवा फलाउन सकिने कुरा गर्छन् । आफूले रोबलक्सजस्तै गेम एप बनाएर करोडौँ कमाउने कुरा गर्न सक्छन् । यीसम्बन्धी नै प्रश्न घर–परिवार र शिक्षकसँग गर्न सक्छन् ।
मपछिको अर्को पुस्ता ‘जेनेरेसन जेड’ (सन् १९९०–२०१० को बिचमा जन्मेको समूह)ले हुर्कंदै गर्दा डिजिटल संसारमा छिर्न पाए । संसारभरका संगीत, फेसन, फिल्म, खाना, संस्कृति चाखेका ग्लोबल पुस्तामा पर्छन् यी । उनीहरू सामाजिक सञ्जालको बढी प्रयोगकर्ता भएकाले संसारभर सजिलै सञ्जाल बनाउन सक्ने वा कुनै भूगोल बाधक नबनेको पुस्ता । जसले स्कुल जान थालेसँगै मोबाइल देखे, जसलाई हामी भिजुअलमा बानी परेको पुस्ता पनि भन्छौँ । उनीहरूले आफूलाई गुगल सर्चमा बानी पारेका छन् । गुगलमा सामग्री खोज्ने र युट्युबमा भिडियो धेरै हेर्ने बानीमा भुलेका छन् ।
अब कुरो आउँछ, कक्षा २–३ मा पढ्ने केटाकेटीले किन धेरै प्रश्न गर्छन् ? उत्तर दिन किन गाह्रो हुन्छ ? यी केटाकेटी सामान्यतः जेनेरेसन वाईका छोराछोरी हुन्, जो आइप्याड, फोन, ल्यापटप आदिसँग हुर्कंदै आए । यो पुस्ता एक अप्रत्याशित विश्वव्यापी प्रयोगको अंश हो, जहाँ स्क्रिन तिनीहरूको सानो उमेरदेखि नै साथी छ । घरदेखि स्कुलसम्म उनीहरुलाई भुलाउनका लागि ‘प्यासिफायर’का रूपमा स्क्रिन देखाइन्छ । यतिसम्म कि खुवाउँदा र दिसा–पिसाब गराउँदा समेत उनीहरुलाई बाबुआमाले स्क्रिनमै बानी पारेका छन् ।
यही भयंकर स्क्रिन पुस्ता (खासगरी सन् २०१० यता जन्मेका, जसलाई जेनेरेसन अल्फा भनिन्छ)लाई हामी हुर्काइरहेका छौँ, पढाइरहेका छौँ, सिकाइरहेका छौँ तर के हामी यी पुस्ताका विशेषता र आवश्यकतामा परिचित छौँ त ? परिचित छौँ भने उनीहरूको सिक्ने स्वभाव र शैलीलाई सहजीकरण गरिरहेका छौँ ?
यी प्रश्न गम्भीर छन् । स्क्रिन र प्रविधिको वृद्धि सँगै ‘जेनेरेसन अल्फा’को स्कुलिङको सुरुका दिनमा कोभिड महामारी आयो र कतिपयले अनलाइन कक्षा लिए । घरभित्रको नित्य कर्मदेखि विद्यालयको सिकाइमा स्क्रिनको ठुलो प्रभाव परेको ‘जेनेरेसन अल्फा’लाई सिकाउन हामीले के गर्न सक्छौँ ? यसतर्फ ध्यान दिन जरुरी छ ।
यो पुस्ताले कुनै पनि प्रश्नको उत्तर सहजै र तत्कालै खोज्छन्, किनकि उनीहरूलाई एआईमा सर्च गरेपछि, गुगलमा खोजेपछि जे पनि पाइन्छ भन्ने बुझाइ छ । त्यसैले उनीहरू आफैँ सिकाइका स्रोत हुन् । शिक्षकबाट पनि सोही अपेक्षा गरेर प्रश्न गर्छन् । त्यसैले शिक्षकले बालबालिकाबिच सामूहिक रूपमा अन्तरक्रिया गराएर सिकाउन जरुरी छ ।
यो पुस्ताको अर्को मुख्य विशेषता भनेको उनीहरूले काम गर्ने तरिका पनि हो, जसमा उनीहरू सबैलाई समान देख्छन्, भेदभाव गर्दैनन् । यद्यपि उनीहरूसँग बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय साथीहरू एकै कक्षामा हुन्छन् । अर्को महत्त्वपूर्ण पक्ष भनेको तिनीहरू डिजिटल प्रविधि प्रयोगमा स्वतन्त्र बन्दै छन् । ‘जेन अल्फा’लाई ‘डिजिटल नेटिभ जेनेरेसन’का रुपमा पनि चिनिन्छ, जसले आमाको काखदेखि नै डिजिटल डिभाइसबाट संवाद गर्छन्् । उनीहरू नयाँ प्रविधि प्रयोग गर्नमा अनुभवी हुन्छन् । त्यसैले उनीहरूले धेरै शब्द र भाषिका इन्टरनेटबाट सिकेका हुन्छन् । इन्टरनेट ‘स्ल्याङ’ (अनौपचारिक शब्द), मिम्स (उट्पट्याङ भाव दिने) आदिजस्ता नयाँ शब्दावलीसँग उनीहरु अभ्यस्त हुन्छन् ।
‘जेन अल्फा’को अर्को पाटो हो, हाइपर कनेक्सन । उनीहरूलाई लाग्छ, आफूले हेरेको फिल्म धेरैले हेर्छन्, आफूले खेलेको खेल अरुले पनि खेलेका हुन्छन् भन्ने । कुन एपमा कस्तो कुरो सिक्न पाइन्छ, कुन प्लेटफर्ममा कस्ता जानकारी छन्, कुन गेम कसरी खेल्न मिल्छ, कुन एप कसरी इन्स्टल गर्न सकिन्छ, त्यसले कसरी काम गर्छ भन्ने उनीहरू तुरुन्तै सिक्न सक्छन् । नयाँ गेम पनि छिटै खेल्न सक्छन् । त्यसैले उनीहरू बिग गेमर्स हुन् । उनीहरू स्वभावले नयाँ कुरा पत्ता लगाउन, बनाउन र सिक्न तत्पर रहन्छन् ।
भनिन्छ प्रविधिको प्रचुर प्रयोगले बालबालिकाको सिर्जनात्मकता र आलोचनात्मक सोच वा चेत मारेको छ, तर यो पंक्तिकार त्यसमा पूर्ण समर्थन राख्दैन । सिर्जनात्मकता र आलोचनात्मक सोचबारे बुझ्नुछ भने एक दिन भरि केही ‘जेन अल्फा’का बालबालिकासँग बसौँ त । उनीहरुको जस्तो विचार, सोच जानकारीको तह, अनुभव र सीप न हाम्रो पुस्ताका वयस्क शिक्षितसँग थियो न हामीभन्दा अघिल्लो र पछिल्लो पुस्तासँग छ ।
घरदेखि स्कुलसम्म उनीहरुलाई भुलाउनका लागि ‘प्यासिफायर’का रूपमा स्क्रिन देखाइन्छ । यतिसम्म कि खुवाउँदा र दिसा–पिसाब गराउँदा समेत उनीहरुलाई बाबुआमाले स्क्रिनमै बानी पारेका छन् ।
जेन अल्फाको बुझाइमा हामीले सुनेका जस्तो मिथ्या कथा कम हुन्छन् । भ्यागुताले पानी पार्ने, किचकन्याले तर्साउनेमा उनीहरुको ध्यान कम छ । उनीहरू त ‘मार्स’ (मंगल ग्रह)मा जानका लागि ६ महिना सुत्ने ट्रेनिङ गर्नुपर्ने कुरा गर्छन् । चाइनाले समुद्रमुनि लामो ट्रेन बनाएको कुरा गर्छन् । एउटै बोटामा सुन्तला, कागती, भोगटे, जुनार, निबुवा फलाउन सकिने कुरा गर्छन् । आफूले रोबलक्सजस्तै गेम एप बनाएर करोडौँ कमाउने कुरा गर्न सक्छन् । यीसम्बन्धी नै प्रश्न घर–परिवार र शिक्षकसँग गर्न सक्छन् ।
सायद यस्तै ज्ञानको प्रभावले होला मेरो छोराले मलाई एक दिन भन्यो— बाबा, के यो हामीले पढ्ने सबै किताबको गेम बनाउन सकिँदैन ?
मैले ‘किन र ?’ भनेर प्रतिप्रश्न गर्दा उसले भन्यो, ‘आजभोलि हामी सबैलाई गेम खेल्न मन पर्छ । अनि सबै पढ्ने कुराको गेम बनायो भने सबैले खेलेर पढ्न पाउँछन् नि त ! कसैलाई गाली नि गर्नुपर्दैन । कोही फेल पनि हुँदैनन् ।’
हेर्नुस् त, यो पुस्ताको कस्तो सोच छ । के हामी शिक्षकहरूले, शिक्षाका योजनाकारहरूले, अभिभावकहरूले त्यसरी सोच्न सकेका छौँ ? लाग्छ, हामीलाई त उनीहरू गेम खेलेर सकिए, स्क्रिन हेरेर बिग्रिए । अब यिनीहरूले के गरी खालान् ? के ज्ञान लेलान् ? सबै खत्तम हुने भए ।
के उनीहरूले प्रयोग गर्दै आएको प्रविधि सुधार्न र प्रविधिमार्फत नै चाहिने कुरा सिकाउन सकिन्छ भनेर हामीले सोचेका छौँ ? अवश्य ! हामी जेन अल्फाका शिक्षक, अभिभावक र शिक्षाका योजनाकारले यी पक्षमा घनीभूत रूपमा विचार गर्नुपर्छ ।
नयाँ पुस्ताका सोच, सीप, ज्ञान र तत्परतालाई उनीहरूको आवश्यकता र रुचि अनुसार ढाल्न सकेनौँ भने पछि गएर उनीहरु अवसर खोज्दै देश छाड्न बाध्य हुनेछन् । हामी थप रित्तिनेछौँ, सकिनेछौँ ।
(अधिकारी हाल कक्षा कोठामा एआईको प्रयोगसम्बन्धी विषयमा अनुसन्धानरत छन् ।)