पाकिस्तान र दक्षिण अफ्रिकाबिचको तेस्रो टेस्टमा बनेका यी रोचक कीर्तिमान !
काठमाडौँ । दक्षिण अफ्रिका र पाकिस्तानबिचको दुई टेस्टको शृङ्खला सकिएको छ । शृङ्खलामा घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानलाई २–० ले हरायो । केप टाउनमा खेलिएको दोस्रो टेस्टको चौथो दिन सोमबार दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरले हरायो ।
त्यसअघि सेन्चुरियनमा खेलिएको पहिलो टेस्टमा पनि दक्षिण अफ्रिकाले पाकिस्तानलाई दुई विकेटले पराजित गरेको थियो । टेस्ट शृंखलाअघि खेलिएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा भने पाकिस्तानले दक्षिण अफ्रिकालाई ३–० ले हराएको थियो ।
त्यसअघि, खेलिएको तीनवटा खेलको टी–२०अन्तर्राष्ट्रिय शृङ्खलामा दक्षिण अफ्रिका २–० ले विजयी भएको थियो । दक्षिण अफ्रिका र पाकिस्तानबिचको तेस्रो टेस्टमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो पालीमा ६ सय १५ रनको विशाल योगफल तयार पारेको थियो ।
पाकिस्तानी टोली आफ्नो पहिलो पालीमा एक सय ९४ रनमा समेटिएको थियो । ‘फलो अन’ मा परेको पाकिस्तानी टोलीले दोस्रो पालीमा भने चार सय ७८ रन बनाएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले ५८ रनको विजयलक्ष्य पाएको थियो ।
दक्षिण अफ्रिकाले त्यो विजयलक्ष्य ७.१ ओभरमै कुनै पनि विकेट नगुमाई पुरा गरेको थियो । दक्षिण अफ्रिका र पाकिस्तानबिचको तेस्रो टेस्टमा केही रमाइला कीर्तिमान पनि बनेका छन् । उक्त टेस्टमा बनेका कीर्तिमानको विषयमा यहाँ उल्लेख गरिएको छ ।
दक्षिण अफ्रिकाको लगातार सातौँ जित
तेस्रो टेस्टमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले हरायो । दक्षिण अफ्रिकाले टेस्ट क्रिकेटमा हासिल गरेको यो लगातार सातौँ जित हो । दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटको इतिहासमा यो दोस्रो ठुलो लगातार जित हो । यसअघि, सन् २००२–०३ सिजनमा दक्षिण अफ्रिकाले लगातार नौ टेस्टमा जित हासिल गरेको थियो । त्यतिबेला पनि दक्षिण अफ्रिकाले घरेलु मैदानमा पाकिस्तानविरुद्ध दुईवटा टेस्टको शृङ्खला खेलेको थियो ।
दक्षिण अफ्रिकामा पाकिस्तानको लगातार नवौँ हार
पाकिस्तानी टोलीका लागि भने यो शृङ्खला पनि निराशाजनक रह्यो । दक्षिण अफ्रिकाको घरेलु मैदानमा पाकिस्तानले टेस्ट क्रिकेटमा भोगेको यो लगातार नवौँ हार हो । दक्षिण अफ्रिकी भूमिमा यसअघि कुनै पनि टोलीले लगातार नौवटा टेस्टमा हार भोगेको थिएन । यसअघि, बंगलादेशले दक्षिण अफ्रिकी भूमिमा लगातार आठ टेस्टमा हार भोगेको थियो ।
चार सयभन्दा बढी रनको अग्रता र जनवरी संयोग
तेस्रो टेस्टमा दक्षिण अफ्रिकाले पहिलो पालीमा ६ सय १५ रन बनाएको थियो । जवाफमा पाकिस्तानी टोली आफ्नो पहिलो पालीमा एक सय ९४ रन बनाउँदै अलआउट भएको थियो । यसरी पहिलो पालीमा दक्षिण अफ्रिकाले चार सय २१ रनको अग्रता हासिल गरेको थियो ।
टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि टोलीले पहिलो पालीमा चार सयभन्दा बढी रनको अग्रता लिएको यो केवल तेस्रो पटक हो । यसअघि, सन् १९५८ मा वेस्ट इन्डिजविरुद्ध पाकिस्तानले पहिलो पालीमा चार सय ७३ रनको अग्रता लिएको थियो ।
यसका अतिरिक्त, सन् २००२ मा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले पहिलो पालीमा चार सय रनको अग्रता हासिल गरेको थियो । संयोगले, यी तीनवटै टेस्ट जनवरी महिनामै खेलिएको थियो र तीनवटै अवसरमा जवाफी ब्याटिङ गर्ने टोली ‘फलो अन’ मा परेका थिए ।
दोस्रो पालीमा पाकिस्तानको कीर्तिमानी स्कोर
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा पाकिस्तानी टोली ‘फलो अन’ मा परेको थियो । पहिलो पालीमा पाकिस्तानी टोली चार सय २१ रनले पछाडि थियो । त्यसपछि दोस्रो पालीमा पाकिस्तानी ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेका थिए ।
दोस्रो पालीमा पाकिस्तानी टोलीले चार सय ७८ रन बनाएको थियो । टेस्ट क्रिकेटको इतिहासमा ‘फलो अन’ मा परेपछि पाकिस्तानी टोलीले दोस्रो पालीमा बनाएको यो नै सर्वाधिक रन हो । यसअघि, टेस्ट क्रिकेटको इतिहासमा पाकिस्तानी टोलीले ‘फलो अन’ मा परेपछि दोस्रो पालीमा यति धेरै रन बनाउन सकेको थिएन ।
पाकिस्तानी टोली, दक्षिण अफ्रिका र ‘फलो अन’
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा पाकिस्तानी टोली ‘फलो अन’ मा परेको थियो । पहिलो पालीमा पाकिस्तानी टोली चार सय २१ रनले पछाडि थियो । टेस्ट क्रिकेटको इतिहासमा हालसम्म पाकिस्तानी टोली १० पटक ‘फलो अन’ मा परेको छ । त्यसमध्ये चारपटक पाकिस्तानी टोली दक्षिण अफ्रिकाविरुद्ध नै ‘फलो अन’ मा परेको छ ।
दुबै टोलीले बनाएको कुल स्कोर
दक्षिण अफ्रिका र पाकिस्तानबिचको तेस्रो टेस्टमा दुबै टोलीले मिलेर कुल एक हजार तीन सय ४८ रन बनाए । दक्षिण अफ्रिकाको घरेलु मैदानमा सन् २०१६ पछि कुनै पनि टेस्टमा बनेको यो नै सर्वाधिक कुल स्कोर हो ।
शान मसुदको १४५ रन
तेस्रो टेस्टको दोस्रो पालीमा पाकिस्तानी टोलीका कप्तान शान मसुदले एक सय ४५ रन बनाए । उनले दुई सय ५१ बलको सामना गरी १७ चौका पनि हिर्काए । दक्षिण अफ्रिकाको घरेलु मैदानमा खेलिएको टेस्ट क्रिकेटमा कुनै पनि पाकिस्तानी ब्याट्सम्यानले बनाएको यो नै उच्च स्कोर हो । यसअघि, सन् १९९८ मा जोहानेशबर्गमा खेलिएको टेस्टमा पाकिस्तानी टोलीका ब्याट्सम्यान अजहर महमुदले एक सय ३६ रन बनाएका थिए ।
कागिसो राबडाले नचाहेको अर्धशतक
दक्षिण अफ्रिकी बलर कागिसो राबडाले तेस्रो टेस्टमा पनि केही ‘नो बल’ फाले । उनले जारी सिजनको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपमा फालेको ‘नो बल’ को सँख्या ५४ पुगेको छ । यही टेस्टमा उनले ५०औँ ‘नो बल’ पनि फालेका हुन् । जारी विश्व टेस्ट च्याम्पियनसिपमा राबडापछि सबैभन्दा बढी ‘नो बल’ फाल्ने बलर अल्जारी जोसेफ हुन् । उनले हालसम्म ३४ वटा ‘नो बल’ फालेका छन् ।
१०० भन्दा बढी रन दिने तीन बलर
पाकिस्तानविरुद्धको तेस्रो टेस्टको दोस्रो पालीमा तीनजना दक्षिण अफ्रिकी बलरले एक सयभन्दा बढी रन खर्चिए । २१औँ शताब्दीमा घरेलु मैदानमा खेलिएको टेस्टमा तीनजना दक्षिण अफ्रिकी बलरले एउटै पालीमा एक सयभन्दा बढी रन खर्चिएको यो केवल चौथो पटक हो । तेस्रो टेस्टको दोस्रो पालीमा कागिसो राबडा, मार्को यान्सेन र केशव महाराजले एक सयभन्दा बढी रन खर्चिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ‘टुरिजम कन्केल्भ’ हुँदै
-
लघुवित्तको वित्तीय विवरण अब एनएफआरएस प्रणालीबाट
-
अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलनको मिति तय, प्रचण्डलाई निम्ता
-
मुख्य सेयरधनीलाई लघुवित्त संस्थाको सीईओ र कर्मचारी बन्न कडाइ
-
मुस्ताङको रूपान्तरणलाई झल्काउने पानारोमा फोटो प्रदर्शनी (तस्बिरहरु)
-
८० अर्बको निक्षेप उपकरण आज बोलकबोल