‘अहिलेको एमाले नेतृत्व लिन मात्र तयार छ, दिन छैन’
एमाले निर्माण र गठन गर्न लागिपरेका वा लामो योगदान दिएका नेता कालान्तरमा कोही आफैँ निस्किएका छन् । कोही पार्टीबाट निकालिएका पनि छन् । सामान्यतः एमाले पार्टी निर्माणमा लागेका सीपी मैनाली, आरके मैनाली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल र घनश्याम भुसाललगायत नेता एमालेबाट पाखा लाग्नुमा अलग–अलग कारण र घटना छन् । सबै एउटै कारणबाट अलगथलग भएका छैनन् । होइनन् ।
सीपी मैनाली विचारका हिसाबले बहुदलीय जनवादसँग सहमत हुनु हुन्थेन । त्यसको प्रमाण हो, पाँचौँ महाधिवेशनमा उहाँले अघि सारेको फरक विचार । परिमार्जित नौलो जनवाद सीपीले अघि सारेको विचार थियोे । तर, यो विचार एमालेमा अल्पमतमा परेको थियो ।
वामदेव गौतमले २०५४ सालमा पार्टी विभाजन गर्नुभयो । त्यसमा मैनाली पनि गौतमसँगै मालेमा लाग्नुभयो । तर, पछि वामदेव गौतमहरू एमालेमा फर्कनुभयो । सीपी एमालेमा फर्कनुभएन । उहाँ अहिले पनि मालेको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण सीपी एमालेबाट निकालिनुभएको होइन । वैचारिक रूपमा सहमत नभएर आफैँ अलग हुनुभएको हो ।
सीपी, वामदेव, माधव, झलनाथ अहिले एमालेमा नभए पनि उहाँहरू सबैलाई एउटै डालोमा राखेर फरक कित्तामा गएको भनेर हेरियो भने अर्थको अनर्थ हुन्छ । राधाकृष्ण (आरके) मैनालीको पृष्ठभूमि पनि फरक नै छ । उहाँ पनि कुनै बेला एमालेका केही कुरामा असहमत हुनुभएको हो । केही कुराहरूमा उहाँको आफ्नै डामाडोल प्रवृत्तिले कहिले यता त कहिले कता हुन पुग्नुभयो । त्यसै क्रममा राजाको कदमपछि देवी ओझासहित आरके राजातिरै लाग्नुभयो । यस हिसाबले हेर्दा आरके र ओझामा वैचारिक विचलन आएको हो भन्दा फरक पर्दैन ।
एमालेमा प्रश्न गर्दा हाम्रो आन्तरिक मामिला हो तिमीहरूलाई के सरोकार भन्नेजस्ता भाष्य सुनिन्छ । यो सकारात्मक हुँदै होइन ।
२०७४ को निर्वाचनपछि एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो । तर, त्यो नेकपा पनि सग्लो रहन सकेन । एमाले–माओवादी अलग–अलग भए । जब केपी शर्मा ओली दोस्रो पटक सत्तामा आउनुभयो, त्यसपछि हिजोको एमाले आज रहन सकेन । माधव नेपाल, झलनाथ खनाललगायत एमाले निर्माणमा योगदान दिएका नेता बाहिरिन बाध्य हुनुभयो । त्यो क्रममा उहाँहरू वैचारिक विमतिका बाबजुद सँगै रहने अवस्था आएन ।
वैचारिक विमति राख्नेलाई पेलेर बाहिर निकाल्ने ओलीको व्यवहार भीम रावलसम्म पुग्दा प्रकट नै भयो । ओली आफैँ पनि हरेकजसो महाधिवेशनमा चुनाव लड्नुभएको हो । उहाँले त्यसरी चुनाव लड्दा गुटकै नेतृत्व गर्नुभयो । तर, चुनाव लडेको भनेर उहाँलाई पार्टीबाट कसैले निकालेनन् । यसरी उहाँ सधैँ पार्टीको एउटा गुटको नेताका रूपमा रहिरहनुभएको पृष्ठभूमि ताजै छ ।
पछिल्लो कालखण्डमा (नवौँ महाधिवेशन)मार्फत जब केपी ओली पार्टी अध्यक्ष बन्नुभयो तब एमालेमा एकाधिकारवाद चल्न थाल्यो । पार्टी नेतृत्वसँग राय बझाउने पार्टीमा रहेका सिनियर नेताहरूलाई सम्मान हुन छाड्यो । उहाँहरूका कुरा सुनेर पार्टी संगठनलाई अघि बढाउने भूमिका देखिएन । सिनियर नेताहरूमा रहेको पार्टी र सरकार सञ्चालनको अनुभव पार्टीको सम्पत्ति बनाउन सक्नुपथ्र्यो । तर, ओलीले त्यो सम्पत्ति जोगाउन सक्नुभएन ।
बरु त्यो सम्पत्तिलाई ओलीले आफू नेतृत्वको अवरोधका रूपमा ठान्नुभयो । जसले गर्दा कहिले एउटालाई उचाल्ने त कहिले अर्कोलाई उचाल्ने काममा ओलीको ध्यान गयो । उदाहरणकै लागि नेकपा–कालमा उहाँले कहिले माधव नेपाल त कहिले झलनाथ खनाललाई वरिष्ठ नेता बनाउने काम गर्नुभयो । यो भनेको उचाल्ने र पछार्ने काम नै हो । यो प्रवृत्तिले गर्दा एमालेमा भएका सिनियर नेताहरू अन्ततः बस्न सक्ने अवस्था रहेन । नरहेपछि माधव, झलनाथहरू विद्रोह गर्न बाध्य भएर २०७८ सालमा अलग हुनुभयो ।
त्यसअघि नै झन्डै दुईतिहाइ बहुमतको सरकार चलाउने अवसर पनि ओलीले पाउनुभएको हो । तर, सरकार सञ्चालनका क्रममा पनि उहाँले फराकिलो छाती देखाउन सक्नुभएन ।
पछिल्लो अवस्था हेर्दा एमाले अगाडि बढेर जानेभन्दा पनि क्रमशः क्षयीकरणको दिशातिर जान्छ कि भन्ने आशंका बढ्न थालेको छ । कुनै पनि पार्टी भनेको सार्वजनिक संस्था हो । त्यो संस्थाले जनतासँगै भोट मागेर आफूलाई ठूलो बनाउने हो भने त्यो पार्टीको बारेमा बोल्ने अधिकार पार्टी भित्रकालाई त दिइएन नै । बाहिरकाले बोल्दा पनि हाम्रो आन्तरिक मामिला तिमीहरूलाई के सरोकार भन्न थालियो ।
राजनीतिक पार्टी कुनै प्राइभेट कम्पनी होइन । सार्वजनिक संस्था हो भन्ने अनुभूति नै नेतृत्वमा हुन सकेन । प्राइभेट कम्पनीले आफ्नो व्यापार गर्छ । नाफा–घाटा जे हुन्छ त्यो गर्छ । तर, सार्वजनिक संस्था जो प्रत्यक्ष रूपमा जनताको भोटले निर्वाचित भएर हैसियत बनाउने हो भने मतदाता र नागरिकलाई त्यसका बारेमा आफ्नो मत राख्ने र गरेको गलत कुराको अख्तियारी गर्ने अधिकार पार्टी कार्यकर्ता र नागरिक समेतलाई हुन्छ ।
जब केपी शर्मा ओली दोस्रो पटक सत्तामा आउनुभयो, त्यसपछि हिजोको एमाले आज रहन सकेन ।
एमालेमा प्रश्न गर्दा हाम्रो आन्तरिक मामिला हो तिमीहरूलाई के सरोकार भन्नेजस्ता भाष्य सुनिन्छ । यो सकारात्मक हँुदै होइन । अहिले पनि सम्हालिएर जाँदा जनतामाझ वामपन्थी एजेन्डा लोकप्रिय नै छ । तर, त्यो एजेन्डालाई पुँजीकृत गरी अगाडि बढ्नुपर्ने मामिलामा सबभन्दा ठूलो वामपन्थी पार्टीको हैसियतमा रहेको अहिलेको एमाले नेतृत्वले सोचेकै देखिँदैन । नेतृत्व त्यो सोच्न पनि चाहँदैन ।
फराकिलो छाती बनाएर जाँदा कहीँ न कहीँ सम्झौता गर्नुपर्ने पनि हुन सक्छ । कहीँ न कहीँ अर्काको कुरा पनि सुन्नुपर्छ । त्यसो गर्दा ‘गिभ एन्ड टेक’ हुनुपर्छ । तर, अहिलेको एमाले नेतृत्व ‘टेक’ अर्थात् लिन तयार छ ‘गिभ’ अर्थात् दिन तयार छैन भन्ने देखिन्छ ।
एउटा पार्टी चल्ने/नचल्ने वा चलाउने/नचलाउने भनेको विचार र नेतृत्वमा बढी भर पर्छ । अझै पनि केहीबाहेक एमालेका अधिकांश कार्यकर्ता अनुशासित नै छन् । विचार, नेतृत्व, विधि र पद्धतिको अनुशरण गर्नुपर्छ भन्ने कायकर्ता धेरै छन् । त्यसकारण नेतृत्वको नीति, उसको कार्यक्रम र उसको सोच कस्तो छ भन्ने उसले चलाएको पार्टीबाट पनि सबैले देख्न सकिने कुरा हुने भएकाले सोही अनुसारको व्यवहार देखाउन सक्नुपर्छ ।
एउटा संस्थाको सोच स्थापित विधि र प्रक्रिया अनुसारको हुनुपर्छ । राजनीतिक पार्टीमा आफ्नो मत राख्ने ठाउँ पार्टीमा भयो भने नेता–कार्यकर्ता बाहिर बोल्दैनन् । मत राख्ने ठाउँ दिइएन वा पाएनन् भने गाह्रो भएर बाहिर बोल्न सक्छन् । एमालेमा अहिले भएको यही मात्र हो ।
कम्युनिस्ट पार्टी चल्ने भनेको अन्ततः विचारकै आधारमा हो । पार्टीले विचारअनुसार कार्यक्रम बनाउने हो । त्यही विचार र कार्यक्रममा विश्वास गर्नेहरूको संगठन बनाएर देशको विकास र जनताको समृद्धि खोज्ने हो । जब कि पार्टी भनेको विचारविहीन मोर्चा बन्नै सक्दैन ।
(प्रा.पोखरेलसँगको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८० अर्बको निक्षेप उपकरण आज बोलकबोल
-
बलिउड अभिनेत्री पूनम ढिल्लोंको घरमा चोरी, एक जना पक्राउ
-
पुलिसका गुलसनले पाँच विकेट लिएपछि १२९ रनमै समेटियो मधेश, मयानको अर्धशतक
-
राप्रपामा ‘कार्ड पोलिटिक्स’, लिङ्देनसँग मिल्न कमल थापाको जोडबल
-
कलाकार घनश्याम गौतम अस्पताल भर्ना
-
अर्थतन्त्र सुदृढ गर्न सरकार नीति र संरचना सुधारमा केन्द्रित : अर्थमन्त्री पौडेल