बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसलः अनुशासनको डन्डा

‘केपी ओलीले माधव नेपालमाथि नै कैँची चलाए’

मङ्गलबार, २३ पुस २०८१, १० : २६
मङ्गलबार, २३ पुस २०८१

राधाकृष्ण मैनाली लामो समय कम्युनिस्ट राजनीति गरेका नेता हुन् । उनी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । मैनाली माले, एमाले हुँदै कुनै बेला राजावादी र माओवादीसमेत बने । पार्टी बनाउन योगदान गरेका नेता नै पाखा लाग्ने क्रम किन बढ्यो भनेर रातोपाटीका फणीन्द्र नेपालले नेता मैनालीलाई प्रश्न गरेका छन् । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंशः– 

माले हुँदै एमाले बनाउन योगदान गरेका नेताहरू धममाधम पाखा लाग्ने र लगाउने क्रम जारी छ । त्यो क्रम सीपी मैनाली, आरके मैनाली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम हँुदै डा. भीम रावलसम्म आइपुगेको छ । नेताहरू किन यसरी पाखा लाग्ने क्रम बढेको होला ? 

अहिलेको एमाले पञ्चायतकालमा माले थियो । झापा आन्दोलन हुँदै २०४६ सालसम्म आउँदासम्म मालेकै लिडरसिप थियो । पञ्चायतकालमा मालेका महासचिव सीपी भएकाले उनको नाम अलि बढी बाहिर आउँथ्यो । पछि राजनीतिक रूपमा पनि सीपीको कुरामा अरू असहमत हुने र अन्तर्विरोध हुन थाल्यो । खासगरी सीपीले राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्तावलाई आंशिक रूपमा समर्थन गर्नुपर्छ भनेर पार्टीमा मत ल्याए । 

शान्ति क्षेत्रका दुई पाटा छन् । एक, साम्राज्यवादविरोधी । त्यो भनेको विदेशीले हामीलाई गर्ने हस्तक्षेप हो । त्यसमा राजाको हैसियतले विरोध गर्नुपर्छ । हामीले अर्काको देशमा हस्तक्षेप गर्ने वातावरण पनि दिनुहुँदैन भन्ने सीपीको भनाइ थियो । यससँगै बाह्य हस्तक्षेपको विरोध गर्ने शैली हुनुपर्छ भन्नेमा सीपी थिए । यसको समर्थन गर्नुपर्छ तर राजाको निरंकुशताको विरोध गर्नुपर्छ भन्ने सीपीको थ्योरी थियो । 

राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्ताव १ सय २१ देशले मानेका थिए । तर, भारतले मानेको थिएन । समय क्रममा भारतको त्यो चिन्तन माले हँुदै एमालेमा पनि बिस्तारै घुस्यो । त्यस बेला माधव नेपाल, जीवराज आश्रितहरू सीपीएममार्फत इन्डियन लाइन लिएर पार्टीभित्र घुसे । उनीहरू शान्ति क्षेत्र प्रस्तावलाई क्रिटिकल समर्थन गर्ने सीपीको लाइनप्रति विरोधमा उठे । विरोध बढ्दै जाँदा पछि सीपीलाई बलजफ्ती पार्टीबाटै हटाइयो भन्ने तर्कहरू आए । 

२०४६ मा मदन भण्डारी आए । पार्टी नेतृत्वमा आएपछि उनले नयाँ सिस्टम लागू गरे । त्यो भनेको सबैका कुरा सुन्ने र सामूहिक नेतृत्व स्थापित गर्ने नाममा सीपी समेतलाई पोलिटब्युरोमा ल्याएर सँगाल्ने प्रयास गर्दागर्दै दासढुंगा घटना भयो । मदन बिते । दासढुंगा घटनामा मदनको निधनपछि पार्टीको नेतृत्व माधव नेपालले लिए । 

  • माधवकुमार नेपाल नै पार्टी छाडेर हिँड्नुपर्यो । किन होला ? 

माधव नेपालले सुरुबाटै सीपीको लाइनको विरोध गर्दै इन्डियन चिन्तनबाट पार्टी सञ्चालन गर्न थाले । त्यस क्रममा माधवले कसरी हुन्छ एमालेमा आफ्नो वर्चस्व कायम गर्ने क्रममा राष्ट्रिय सोच राख्ने र आफूसँग असहमत वा भनेको नमान्ने मान्छेहरूलाई पार्टीबाट निकाल्न प्रक्रिया थाले । 

केपी शर्मा ओलीको समेत मद्दत लिएर सीपी र मलाई निकाले । महाकाली सन्धिको बेलासम्म आउँदा एमालेलाई बाह्य शक्तिबाट प्रभावित शक्ति हो भन्ने पुष्टि गर्दै पानीमा हामी ठगिने र भारतलाई फाइदा हुने कुरालाई माधवले मान्यता दिएर स्थापित गरे । 

अलिकति नयाँ कुरा बोल्न खोज्यो भने भीम रावल र विन्दा पाण्डे बन्ने डर छ । त्यो डरले कार्यकर्तामा उत्साह पनि छैन । र, बोल्दा पनि बोल्दैनन् । जसले गर्दा कम्युनिस्ट आन्दोलनमाथिको ठूलो संकट थपिँदै गएको छ ।

त्यो क्रममा राष्ट्रिय सोच राख्ने वामदेव गौतम, सीपी, मलगायत नेतालाई पार्टीबाट थप लखेट्ने काम भयो । पछि सीपी नफर्के पनि वामदेव र म एमालेमा फर्किए पनि टिक्नै दिएनन् । जसले वामदेव र मेरो अहिले यो दुर्गति छ ।  

  • के त्यो बेलादेखि नै एमालेमा राष्ट्रवादी र बाह्य शक्ति पक्षधरबिच लडाइँ थियो ? 

भारतीय हित र चिन्तनलाई सहयोग गर्ने माधव शैलीमा नलाग्नेलाई हटाउने नीति थियो उनको । त्यही भएर हामीलाई हटाइयो । त्यस बेला माधवले केपी शर्मा ओली मेरो पकेटको मान्छे हो र मैले भनेको मान्छन् भनेर उनलाई उठाए । हामीलाई लखेटे । त्यो बुझेपछि ओलीले चतुर्याइँ गरे । उनले माधवको पकेटमा पसेर ओलीले माधवमाथि नै कैँची चलाए । 

त्यसो गर्दा वामदेव, झलनाथहरूलाई हटाउँदै जाँदा ओलीको गुट बलियो हुँदै गयो । किनभने, महाकाली सन्धिपछि ओलीको आर्थिक स्रोत पनि बढ्यो । पार्टीमा ओहदा पनि बढ्दै गयो । त्यसरी पार्टीमा ओली शक्तिशाली बन्दै–बन्दै गएपछि माधवलाई नै हुत्याउन लागिपरे । 

त्यस क्रममा माधवले पार्टीभित्र जति निरंकुशता लादेका थिए ओलीेले त्योभन्दा बढी निरंकुशता सुरु गरे । त्यसमा ओलीको एउटै स्वार्थ जीवनकालभरि आफू पार्टी अध्यक्ष भइरहने हो । माधवको पालामा उनी धेरैजसो इन्डियाको भर पर्ने गर्थे । तर, आफू नेतृत्वमा आएपछि उनी जहाँबाट धेरै फाइदा हुन्छ त्यतैतिर लाग्न थाले । भारत, चीन, अमेरिका जताबाट बढी आफूलाई फाइदा हुन्छ त्यतै लाग्न थाले ओली । 

त्यस क्रममा देश र पार्टीको फाइदाभन्दा पनि निजी फाइदामा ओली लाग्दै गए । निरंकुशता पनि बढाउँदै लगे । त्यही भएर माले–कालका संस्थापकमध्ये अहिले ईश्वर पोखरेल, मुकुन्द न्यौपाने र अमृत बोहोराबाहेक अरू कोही छैनन् । माधव, वामदेव, झलनाथ कोही पनि छैनन् । म र सीपीलाई त पहिल्यै हटाइहालेका थिए । 

अहिले भएका पुराना साथीहरूलाई पनि ओलीेले भूमिकाविहीन बनाएर एकछत्र राज गरेका छन् । पछिल्लो कालखण्डमा भीम रावल पनि हटाइए । रावलले गरेको भनेको पार्टी सदस्यको हैसियतमा महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका हुन् । त्यो कुनै ठूलो अपराध थिएन । तर, ओलीलाई त्यो चित्त बुझेन । म उठेपछि निर्विरोध नै हुनुपर्छ र म सबैभन्दा ठूलो नेता हुँ भन्ने घमण्ड ओलीमा भयो । 

अध्यक्षमा उठेबापत रावलले दुई वर्षसम्म पनि पार्टीको जिम्मेवारी पाएनन् । अन्तमा निकालियो । यो भनेको पार्टीभित्र निरंकुशता बढेको प्रमाण हो । यसले एमालेलाई झन् ठूलो संकटमा पार्दै आएको छ । माले–कालमा माधवबाट बढ्दै गएको निरंकुशता ओली–कालमा आउँदा झन् चर्को भएर बढ्न पुगेको देखिन्छ । 

  • के नेताहरू पाखा लाग्नु र लगाइनुमा विचारभन्दा पनि निजी स्वार्थले बढी काम गरेको हो ? 

सुरु–सुरुमा विचारको अन्तर्विरोध थोरै भए पनि देखिन्थ्यो । तर, पछिल्लो कालमा विचारको अन्तर्विरोध छैन । नेपालको कम्युनिस्ट पार्टीको इतिहासमा सानो हुँदासम्म राष्ट्रवादी हुन्छ । जब अलि ठूलो भएर र सत्तामा पुगेपछि विदेशी चलखेलको पञ्जामा पर्ने गरेको छ । त्यसपछि विदेशपरस्त शक्ति बन्न पुग्ने गरेको देखिन्छ । 

दासढुंगासम्म आइपुग्दा मालेबाट बनेको एमाले राष्ट्रवादी नै थियो । सुधारको पक्षमै थियो । तर, पछि गएर त्यो सुधारको कुरा पनि छोड्यो र संसदीय पाटोमा गयो । यसरी पुँजी आर्जन गर्ने सत्ता र दलाल पुँजीवादको सेवक बन्यो एमाले । निजी स्वार्थमा गएपछि बलियो बन्न पैसा कमाउनुपर्छ । पैसा कमाउनुपरेपछि राष्ट्रिय स्वार्थ छाडेर निजी स्वार्थमा केन्द्रित हुन पुग्यो । 

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूमाथि चलाएको कारबाही पनि के निजी स्वार्थ नै हो ?

निजी स्वार्थको चिन्तन हो । त्यहाँ बस्ने हो । त्यहाँबाट कमाइ गर्ने हो । फेरि चुनाव जित्ने हो । चुनावदेखि चुनावसम्म जाने र देश विकासको बारेमा चासो नराख्ने चिन्तन ओलीको हो । 

  • एमालेले त आफूलाई जनवादी केन्द्रीयताको अभ्यास गर्ने पार्टी भन्छ । त्यो अभ्यासको कमी हो कि ? 

जनवादी केन्द्रीयताको अभ्यास छैन । जनवादी केन्द्रीयताको कुरा गर्दा चिनियाँ कम्युनिस्ट पार्टीको स्वरूप एउटा छ । त्यहाँ एकमना शासन पद्धति छ । कम्युनिस्ट पार्टीको मात्र शासन पद्धति छ । नेपालमा २०१७ सालअघि के थियो ? थाहा छैन । 

तर, झापा विद्रोह गरेकै नेतृत्वसँग असन्तोष भएर हो । त्यस बेला पूर्वमा रहेको मनमोहन र भरतमोहन अधिकारीहरूको पार्टीमा सहमति भएन । विद्रोह गर्यौँ हामीले । सबैलाई मिलाएर लैजानुपर्ने जनवादी शैली अथवा प्रतिस्पर्धात्मक रूपमा विचारका लागि नै मालेको गठन भयो । 

अहिले ओलीको पालामा जो महासचिव वा अध्यक्ष हुन्छ उसले भनेको सबैले मान्नुपर्ने भयो । नमाने जो मान्दैन ऊ कारबाहीमा पर्छ । 

  • ओलीले पार्टी चलाउँदा स्टालिन शैली अपनाउन थाले पनि भन्न थालिएको छ । के यही अवस्था हो ?

स्टालिनको शैली पनि पकडेका छैनन् । स्टालिनले त पार्टीभित्र निरंकुशपना राख्दा–राख्दै पनि देश विकासमा भूमिका खेलेका हुन् । सोभियत संघ बचाउने काम गरेका छन् स्टालिनले । 

ओलीले कम्युनिस्ट पार्टी बचाउने काम पनि गरेनन् । डेमोक्रेटिक फोर्सलाई टिकाउने काम पनि गरेनन् । सिस्टम टिकाउने र जनताको हित गर्ने काम पनि गरेनन् । उनले गरेको काम भनेको निरंकुश भएर आफू सत्तामा टिकिरहने काम मात्र गरे । 

त्यसकारण ओलीको स्टालिन शैलीभन्दा स्टालिनको बेइज्जत हुन्छ । स्टालिनले आफूले खाने र देशको बारेमा नसोच्ने काम गरेनन् । पार्टी भित्रको जनवादमा कमजोर भएर पनि देशका निम्ति योजनाहरू बनाए । फासीवादबाट बचाउने काम गरे । 

ओलीमा त त्यो कुनै भूमिका रहेन । ओलीले इन्डियासँग टसल गरे । सम्बन्ध सुधार्ने काम पनि गरेनन् । चीनसँग मिल्न खोजे । त्यसमा पनि सफल भएनन् । अमेरिकी प्रोजेक्ट ल्याउँदिनँ भने । तर, पछि एमसीसी ल्याए । 

तीन–चारपटक नेतृत्वमा पुगेर जनताको काम गर्नेभन्दा पनि भ्युटावर बनाए । त्यो भ्युटावर ओलीले आफ्नो स्थायित्वका निम्ति बनाएको हो । आफ्नो निर्वाचन क्षेत्रमा समर्थकले ओली बा ! ओली बा ! भन्ने शैलीमा त्यो टावर बनाए पनि त्यसले त्यो क्षेत्र र जिल्लाको सेवा गर्दैन । भ्युटावर बनाउने पैसाले त्यही क्षेत्रमा अस्पताल बनाइदिएको भए त्यस क्षेत्रका बिरामीले उपचार पाउँथे । 

अरूको सेवा गर्नेभन्दा पनि निजी स्वार्थ, निजी काम र खेतीमा बढी केन्द्रित भएकाले अहिलेको एमाले नेतृत्व निरंकुश नेतृत्व हो । निरंकुश भएर बाँच्ने शैली हो । यसले कहाँ लैजान्छ भन्ने कुरा आफ्नो ठाउँमा होला । तर, देश पार्टीको हितार्थ मात्र होइन, कम्युनिस्ट आन्दोलनको पनि हुँदैन । 

  • एमालेको नाममा कम्युनिस्ट नै छ । तर, यसरी कम्युनिस्टको मूल्य–मान्यता नै बिर्सेर चल्ने हो भने यसको भविष्य के होला त ? 

इन्डियामा पनि हिजो मार्क्सवादी पार्टी धेरै बलियो थियो । तर, राम्ररी परिचालन नगर्दा र जनताको हित गर्न नसक्दा स्वाट्टै घटेर अहिले १० प्रतिशतमा पुगेको छ । 

नेपालमा रहेका तीनवटा पार्टी एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी एक भए भने पनि अलिकति हैसियत त बढ्ला । तर, त्यसले पनि देश रूपान्तरण गर्दैन । यी तीनवटै पार्टीका नेताको शैली स्वार्थी छ । तीनवटै पार्टीका नेताले दुवै खुट्टा नेपालमा टेकेका छैनन् । एउटा नेपालमा र अर्को बाहिर टेकेका छन् । त्यसकारण पनि यी मिल्दैनन् । मिलिहाले पनि देश विकास गर्दैनन् । 

यी तीनवटा अलग–अलग भए पनि कम्युनिस्ट आन्दोलनमा संकट पर्छ । एकै ठाउँमा गए भने पनि  उनीहरूले नछोडेसम्म कम्युनिस्ट आन्दोलनले नयाँ ऊर्जा पाउन सक्दैन । 

  • एमालेबाट किनारामा परेका/पारिएकाहरूले आफूलाई सत्य र निष्ठावान् राजनीतिज्ञका रूपमा चिनाउने प्रयत्न गरे पनि उनीहरूले पनि केही गर्न सकेको त देखिँदैन नि फेरि ? 

यो अहम् प्रश्न हो । जस्तोः सीपी मैनाली एमालेबाट अलग्गिए । उनी पनि खिइँदै गए । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको पनि त्यही दुर्गति छ । अहिले भीम रावल आएका छन् । उनको आकर्षण पनि एमाले फुटेर धेरै आउने देखिँदैन । पछि कार्यक्रमिक रूपसमेत ल्याउँदा के गर्छन् ? त्यो भन्न सकिँदैन । अहिलेसम्म एमालेबाट विद्रोह गरेर १० प्रतिशत जालाजस्तो देखिँदैन । यो हुनु भनेको देशमा निराशा हुनु हो । कार्यकर्तामा सैद्धान्तिक जागरण छैन । 

मदन भण्डारीका पालासम्म नेता–कार्यकर्तामा जोस थियो । उमंग थियो । नेताप्रतिको विकर्षण फ्याँक्न पहल हुन्थ्यो । अहिले सबै हरायो । अलिकति नयाँ कुरा बोल्न खोज्यो भने भीम रावल र विन्दा पाण्डे बन्ने डर छ । त्यो डरले कार्यकर्तामा उत्साह पनि छैन । र, बोल्दा पनि बोल्दैनन् । जसले गर्दा कम्युनिस्ट आन्दोलनमाथिको ठूलो संकट थपिँदै गएको छ । राजनीतिक जागरण र उत्साहमा ठूलो अविश्वास पैदा भएको छ यसले देशलाई राम्रो गर्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप