जनार्दनको विषयमा प्रचण्डको ९ मिनेट : हिजोको तिक्तताको स्थिति अब अन्त्य हुन्छ !
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले यसअघि राखेको लिखित ‘मत’को विषय केन्द्रीय समिति बैठकमा राखेका छन् । शर्माको मतको सन्दर्भमा प्रचण्डले सोमबार करिब ९ मिनेट लामो आफ्नो धारणा राखेको बैठकमा सहभागी एक प्रदेश कमिटी अध्यक्षले रातोपाटीलाई जानकारी दिए ।
पार्टीको गत साउनमा बसेको स्थायी समिति बैठकमा शर्माले फरक मतका रूपमा आफ्नो लिखित प्रस्ताव राखेका थिए । ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा शर्माले ल्याएको लिखित प्रस्तावमा यही अवस्थाबाट पार्टी बन्न नसक्ने र नेतृत्वको विकल्प नै खोज्नुपर्ने मत अघि सारेका थिए । यस्तै पार्टीको चुनाव चिह्न समेत फेर्नुपर्ने तथा पार्टी निर्माणका सन्दर्भमा १६ बुँदे योजना समेत ल्याएका थिए । उनले मूल नेतृत्वले नै जनार्दनले पार्टी फुटाउन लागेको भनेर गलत प्रचार गरेको समेत उक्त मतमा उल्लेख गरेका थिए ।
शर्माको उक्त मतबारे यसअघि नै पार्टीले सञ्चालन गरेको परामर्श समितिका बैठकहरुमा व्यापक बहस भएका थिए भने अझसम्मै सोही विषयमा बहस हुन छाडेको छैन । जारी केन्द्रीय समिति बैठकमा पनि यो विषय उठ्ने भएएपछि प्रचण्डले सोमबारको बैठकको सुरुमै शर्माको मतसम्बन्धी विषय राखेको ती अध्यक्षको भनाइ छ ।
‘यो केन्द्रीय समिति बैठकलाई एउटा विजयको बैठकको रूपमा विकसित गर्न लागेका छौँ । मैले आइतबार प्रस्तावमा वाचन गर्दा भनेको कुराहरूलाई यहाँहरूले मनन गर्नुभएकै होला । प्रस्ताव यो पार्टीको एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा नै प्रेरित छ’, प्रचण्डले जनार्दनको प्रसङ्ग ल्याउनुअघि भने ।
त्यसपछि प्रचण्डले शर्माका साथै अर्का नेता हरिबोल गजुरेलको मतबारे बोल्न सुरु गरेका थिए । गजुरेलको मतका सन्दर्भमा उनले केन्द्रीय समिति बैठकमै चित्त बुझाइसकेको बताए । त्यसपछि जनार्दनको विषयमा जोड दिएर आफ्नो धारणा राखेको अर्का एक स्थायी समिति सदस्यले रातोपाटीलाई बताए । जबकि आइतबार प्रतिवेदन पेस गर्ने बेलामा भने शर्माको मतबारे प्रचण्डले एक शब्द पनि नबोलेको ती सदस्यको भनाइ छ ।
‘लिखित रूपमा सुझाव दिने कमरेडहरू धेरै हुनहुन्छ । तर यो मेरो मत हो भनेर केही फरक ढंगले मत अगाडि सार्नेमा जनार्दन शर्मा र हरिबोल गजुरेल दुई जनाले आफ्नो मतलाई सुझावको रूपमा मात्रै होइन, मतको रूपमा नै ग्रहण गरियोस् भनेर पेस गर्नुभएको थियो’, प्रचण्डले बैठकमा भने । सो मतलाई पार्टीले ग्रहण गरेमा सुझाव पनि हुन सक्ने र सम्बोधन नगरे भिन्न मतमा पनि जानसक्छ भन्ने भाव दुबै नेताको रहेको आफूले पाएको प्रचण्डको भनाइ थियो । तर, आफूले आएका ती दुबै मतलाई प्रतिवेदनमा अधिकतम सम्बोधन गरेको जिकिर प्रचण्डले बैठकमा गरेको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।
‘अहिले जुन प्रस्ताव प्रस्तुत गरिएको छ, त्यसमा कमरेड जनार्दन शर्मा प्रभाकरले राखेका विचार र मतलाई अधिकतम सम्बोधन गर्ने प्रयास गरिएको छ । गजुरेलका मत समेत भएपनि हिजो कमरेड गजुरेलले अहिले सकारात्मक भाव पैदा भइसकेकाले अब पुरानै कुरामा अडिनु पर्दैन भनेर आफैले भनिसक्नु भयो’, प्रचण्डको भनाइ थियो ।
त्यसकारण गजुरेलको समस्या पूर्ण समाधान भएपनि जनार्दन शर्माका कतिपय कुरा अझै पनि रहन सक्ने भएकाले आउने महाधिवेशनमा छलफल तथा बहस गरेर एउटा टुङ्गोमा पुग्न सकिने प्रचण्डको भनाइ थियो । ‘कमरेड जनार्दन शर्मालाई पार्टीले अहिले उहाँको मतलाई विचार र राजनीतिसँग सम्बन्धित र विधिसँग सम्बन्धित विषयहरू उत्पीडित वर्ग, समुदायको हक अधिकारसँग सम्बन्धित विषयहरू सम्बोधन भइनैसकेको हुनाले अब कमरेड जनार्दनले पनि पार्टीमा राम्रो एकताको वातावरण बनाएर र अन्य सबै कमरेडहरूले पनि यसलाई एकताको बैठक र विजयको बैठक बनाउनका निम्ति विशेष रूपले अनुरोध गर्न चाहन्छु’, बैठकमा प्रचण्डले भनेको विषय जानकारी गराउँदै ती सदस्यले भने ।
उनले बैठकमा अब यही विषय लम्ब्याएर जाने भन्दा पनि आफूलाई लागेको अन्य सुझावहरू राख्न समेत सदस्यहरूलाई आग्रह गरेका थिए । प्राप्त सुझावहरूलाई आफ्नो प्रस्ताव परिमार्जनको क्रममा अधिकतम सम्बोधन गरिने प्रचण्डको प्रतिबद्धता थियो । तर, प्रचण्डले यस्तो आग्रह गरेपनि शर्माको मतको विषयमा कैयन केन्द्रीय सदस्यहरूले धारणा राखेको नेताहरूको भनाइ छ ।
उसो त प्रचण्डले पार्टीबाट सञ्चालन भएको परामर्श बैठकमा पनि जनार्दनले उठाएको विषय नै केन्द्रित भएको बताएका थिए । विषय उठेपछि समाधानकै उद्देश्य राखेर यस विषयमा गम्भीर छलफल र बहस भएको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले अब जनार्दनले पनि चित्त बुझाएको हुनुपर्ने विश्वाससहित बैठकमा भने, ‘आजदेखि हिजोको तिक्तताको स्थिति अब अन्त्य हुन्छ भन्ने म विश्वास राख्छु । कमरेड जनार्दनले पनि विचार, राजनीति र पद्धतिसँग सम्बन्धित कुरालाई पार्टीले सम्बोधन गरिसकेपछि अब सकारात्मक वातावरण बनाउनका लागि योगदान पुर्याउनुहुन्छ भन्ने विश्वास छ ।’