बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
केन्द्रीय कमिटी बैठक

पासाङको राजनीतिक सक्रियतामाथि माओवादी बैठकमै उठ्यो प्रश्नै प्रश्न

सोमबार, २२ पुस २०८१, २२ : ५८
सोमबार, २२ पुस २०८१

काठमाडौँ । मर्यदाक्रमको हिसाबले देशकै दोस्रो पदमा पुगेका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ ९ वर्षपछि फेरि सक्रिय राजनीतिमा फर्किन लागेका छन् । २०७५ सालमा सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार उनी अहिले पनि पाँचौँ स्थानमा छन् । यद्यपि झन्डै दुई महिनादेखि उनी पूर्व पार्टी नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् ।

धुम्बाराहीमा आइतबारदेखि जारी माओवादीको केन्द्रीय समितिको बैठकमा पासाङ सहभागी भएका छन् । राज्यको सम्मानित तहमा पुगेका उनी फेरी पार्टीको सक्रिय राजनीतिमा आउन नहुने माओवादीभित्र र बाहिर बलियो मत छ । तर आलोचना र सुझावलाई लत्याउँदै आएका छन् । कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा सहभागी भएको देखिन्छ । पासाङलाई माओवादीका अध्यक्ष प्रचण्डले उपाध्यक्ष बनाउने आश्वासन दिएको बुझिएको छ । यद्यपि उनको पदबारे पार्टीभित्र कुनै निर्णय नभएको उपमहासचिव हरिबोल गजुरेलले बताए ।

‘पासाङजीलाई आमन्त्रित सदस्यको रूपमा बैठकमा प्रचण्डले बोलाउनु भएको हो । उहाँको जिम्मेवारी विषयमा प्रस्ताव आएको छ तर निर्णय भएको छैन’, रातोपार्टीसँग गजुरेलले भने, ‘उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने विषयमा भित्र बाहिर बहस भइरहेका छन् । सबै विषय हेरेर पछि निर्णय हुन्छ । अहिले जिम्मेवारी दिने पार्टीले निर्णय गरेको छैन ।’

केन्द्रीय समिति बैठकमा पनि समर्थन र विरोधमा मत आएको गजुरेलले स्वीकारे । पासाङ मात्र होइन पूर्वप्रदेश प्रमुख अमिक शेरचन र तिलक परियारलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनको भनाइ छ । उनका अनुसार केहीबाट राज्यको सम्मानित पदमा पुगेको व्यक्ति फेरि पार्टी राजनीतिमा फर्किन नहुने मत आएका छन् ।

केहीले सक्रिय राजनीतिमा आउने वा नआउने उनको स्वविवेकको विषय भएकाले पार्टीमा फर्किँदा राम्रै हुने मत राखेका छन् । पूर्वमन्त्री समेत रहेका नेता सुदन किरातीले पासाङ राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश नगएको बताए । सोमबार माओवादी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले सम्मानीयलाई पार्टीले अझ सम्मानीय बनाउनुपर्ने मत राखेका थिए ।

‘सम्माननीय उपराष्ट्रपतिज्यू राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश गएको छैन । पार्टीले सम्मानीयलाई अझ सम्मानीय बनाउन सक्नुपर्छ । आलोचनाभन्दा अझ माथि राखौँ बरु पाठशाला बनाऊँ । हामीबाट नै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडा गरौँ’, बैठकमा उनले भनेका थिए ।

केन्द्रीय सदस्य हिमाल शर्माले राज्यको सम्मानित पदमा पुगेका व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किनुभन्दा सम्मानित भएर बस्नु उपयुक्त हुने सुझाव आएको बताए । पार्टीको नीति निर्माण तह तथा पदाधिकारीमा युवाहरूलाई प्राथमिकता दिनुपर्नेमा धेरैको मत रहेको शर्माले जानकारी दिए । माओवादी पूर्व जनमुक्ति सेनाका डेपुटी कमान्डर रहेका उनी उपराष्ट्रपतिमा निर्वाचन हुनु पहिले माओवादीका स्थायी समिति सदस्य थिए ।

पासाङ २०७२ देखि २०७९ सालसम्म उपराष्ट्रपति थिए । उनी मात्र होइन प्रथम महिला राष्ट्रपति भएकी विद्यादेवी भण्डारी समेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चाले राजनीतिक वृत्त तातिएको छ । नेकपा एमालेकी पूर्व उपाध्यक्ष रहेकी भण्डारी २०७२ सालमा राष्ट्रपति निर्वाचित भएकी थिइन् । पासाङसँगै उनी पनि २०७९ को निर्वाचनपछि बाहिरिएकी थिइन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपतिहरू समाजका नायक भएर बस्नुपर्ने सुझाव दिएका थिए । यद्यपि पूर्व राष्ट्रपति वा उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउन पाउने वा नपाउने भन्नेमा संविधानमा केही उल्लेख छैन । यस विषयमा संविधान, नियम, कानुनभन्दा पनि नैतिक विषय भएको धेरैको मत रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप