१० बजे १० समाचार : सार्वजनिक यातायातको भाडा बढ्यो, रवि लामिछाने पक्षका वकिलले इजलासमा पेस गरे भिडियो
आज २०८१ पुस २२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सार्वजनिक यातायातको भाडा बढ्यो, रवि लामिछाने पक्षका वकिलले इजलासमा पेस गरे भिडियो, एमाले बैठकमा गुटबन्दीबारे चर्चा, माओवादी बैठकमा ८० नेताले राखे आफ्नो धारणा, कांग्रेस (बीपी)का संस्थापक सभापतिसहित १२ जना नेपाली कांग्रेसका प्रवेश, सुदूरपश्चिमका चार दर्जन नेता–कार्यकर्ताले त्यागे एमाले, पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् ? लगायत छन् ।
१. सार्वजनिक यातायातको भाडा बढ्यो
सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि भएको यातायात व्यवस्था विभागले जनाएको हो ।
२. रवि लामिछाने पक्षका वकिलले इजलासमा पेस गरे भिडियो
सहकारीको रकम हिनामिनासहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा झेलिरहेका रास्वपा सभापति रवि लामिछाने पक्षका वकिलले कास्की जिल्ला अदालतमा भिडियो पेस गरेका छन् । रवि निर्दोष रहेको र राजनीतिक पूर्वाग्रहका आधारमा उनलाई पक्राउ गरिएको जिकिर गर्दै उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आईजीवी वसन्त कुँवरले संसदीय समितिमा दिएको अभिव्यक्तिको भिडियो पेस गरेका हुन् ।
३. एमाले बैठकमा गुटबन्दीबारे चर्चा
नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार पनि जारी रह्यो । आइतबार सुरु भएको बैठकमा सोमबार पनि केन्द्रीय सदस्यले आफ्ना धारणा राखे । यसक्रममा कतिपयले पार्टीभित्र गुटबन्दी बढेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
४. माओवादी बैठकमा ८० नेताले राखे आफ्नो धारणा
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक अन्तर्गत सोमबार दोस्रो दिन ८० जना नेताले आफ्नो धारणा राखेका छन् । उनीहरूमध्ये धेरैजसोले पार्टी सच्चिनुपर्ने, युवाको सहभागिता बढाउनुपर्ने, संगठन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
५. कांग्रेस (बीपी)का संस्थापक सभापतिसहित १२ जना नेपाली कांग्रेसका प्रवेश
नेपाली कांग्रेस (बीपी)का संस्थापक सभापति हरिबोल भट्टराईसहित संस्थापक महामन्त्री पुष्पराज पराजुली, वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल लगायत १२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराएका हुन् ।
६. सुदूरपश्चिमका चार दर्जन नेता–कार्यकर्ताले त्यागे एमाले
नेकपा एमालेमा पटकपटक अपमानित भएर बस्नुपरेको भन्दै कैलालीका करिब चार दर्जन पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
७. पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् ?
पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको विषय बेलाबखत चर्चामा आउने गरेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ–
८. विरासत बोकेका तीन कांग्रेस नेता नेतृत्वका लागि कस्सिए
विरासत बोकेका नेपाली कांग्रेसका तीन नेता १५ औँ महाधिवेशन केन्द्रित संवादमा जुटेका छन । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र शशांक कोइराला, गणेशमानसिंह पुत्र प्रकाशमान सिंह तथा महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबिच एकपछि अर्को ‘लञ्च मिटिङ’ हुन थालेको हो ।
९. राज्य व्यवस्था समितिमा चर्काचर्की
प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था समितिको सोमबार बसेको बैठकमा सभापति रामहरि खतिवडा र सांसदहरूबिच चर्काचर्की परेको छ । सभापति खतिवडाले सांसदहरू बोलिरहेको समयमा बिचमै रोकेपछि नोकझोकको अवस्था उत्पन्न भएको हो ।
१०. कुलमान घिसिङलाई सरकारले फेरि सोध्यो स्पष्टीकरण
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षको लागि दरखास्त आह्वान
-
सडक विभागका सब इन्जिनियर बर्खास्त
-
साना किसानको १४ प्रतिशत बोनस सेयर पारित
-
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
-
भ्यालेन्सिया कोपा डेल रे’को अन्तिम १६ मा
-
हिरोका लागि प्रस्ताव आउँदा जितुले भने– ‘मलाई हिरो सुहाउँदैन, नजिस्क्याउनु न’