बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

‘कन्दरा लाइभ इन् यूके’ ले ३२ वर्षको सपना पूरा भएको छ : गायक विवेक श्रेष्ठ

सोमबार, २२ पुस २०८१, २१ : २०
सोमबार, २२ पुस २०८१

-नरेन्द्र बस्नेत 

लन्डन । लन्डनको विश्व प्रतिष्ठित भेन्यू  ‘इण्डिगो एट द ओटु’ मा शनिवार हजारौँको सङ्ख्यामा नेपालीहरू तँछाडमछाड गरिरहेको दृश्य देखिन्थ्यो । सामान्यतया विदेशी कार्यक्रमको आयोजना गरिने ‘इण्डिगो एट द ओटुमा पोखरेली ब्यान्ड कन्दराले एक ऐतिहासिक कन्सर्ट ‘कन्दरा लाइभ इन् युके’ को आयोजना गरेको थियो ।

आफ्नो ब्यान्ड स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मामाघर इन्टरटेन्मेन्टले आयोजना गरेको उक्त कार्यक्रममा बेलायतका इंग्ल्याण्ड, वेल्स, स्कटल्यान्डबाट मात्र नभएर  युरोपबाट समेत नेपाली दर्शकहरू आएका थिए ।
‘पहिला घरदेश अनि परदेश’ अभियान अन्तर्गत कन्दराले लन्डनबाट परदेशको पहिलो कार्यक्रमको सुरुवात गरेको हो । सोहि कन्सर्टमा पछिल्ला पुस्ताका युवाको ढुकढुक बन्न सफल गायक स्वप्न सुमनले पनि आफ्नो ब्यान्ड द आस्टर्सका साथ जोडदार प्रस्तुति दिएर दर्शकहरूलाई मनोरञ्जन दिलाए ।

दुई हजार ८ सय दर्शक क्षमता रहेको उक्त भेन्यू खचाखच भरिएको थियो । नेपालदेखि आएका आफ्नै ब्यान्डको  साथमा गायक विवेक श्रेष्ठले नयाँ पुराना गरी झन्डै डेढ दर्जन गीतहरू प्रस्तुत गर्दा दर्शकले कैयौँ पटक वान्स मोर भन्दै चिच्याए ।

kandara2

डेढ दशक बेलायत बसेर मातृभूमि नेपाल फर्किएका गायक श्रेष्ठ  करिब ६ वर्षपछि उक्त कन्सर्टका लागि बेलायत आएका हुन् । बेलायत बस्दा उक्त भेन्यू ओटुमा आफ्नो ब्यान्डसहित कार्यक्रम गर्ने एउटा सपना देखका थिए, जुन सपना यसपटक पूरा भएको उनले बताए । उक्त भेन्यूमा जस्टिन बिबर, इड सिरनलगायतका विश्व चर्चित  कलाकारहरूले प्रस्तुति दिँदै आएका छन् भने ६ जनवरीमा  किस अफ लाइफले फर्स्ट वर्ल्ड टुर ‘किस रोड इन युरोप’ को आयोजना गरेको छ ।

जिन्दगी यो उत्सव हो वरदान ईश्वरको बोलको गीतबाट सुरु गरेर गायक श्रेष्ठले बिदेसिएर गइन् उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, बिदेसिनु लेखियो कर्मैमा हङकङ पोखरा, तिमी हाँसे हासिदिउंला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेकभरी फुलैफुलको वासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा हिउँ, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्लतल्ल भेट भाको दिन जस्ता गीत सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाए ।  नेपाली जहाँ जहाँ रहे पनि नेपालको माया कहिले पनि भुल्न नहुने भन्दै गायक गोपाल योन्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ बोलको गीत सुनाएर उनले दर्शकहरूलाई नेपाल फर्किन साङ्गीतिक अनुरोध गरे ।

kandara3

पहिला घरदेश अनि परदेश’ अभियान अन्तर्गत बेलायतको कार्यक्रम अत्यन्त सफल भयो, यसले परदेशमा गरिने भावी कार्यक्रमलाई थप चुनौती थपिएको गायक श्रेष्ठको धारणा छ । ओटु जस्ता विश्व प्रतिष्ठित भेन्यूमा कन्सर्ट गर्ने हरेकको चाहना र सपना हुन्छ, ३२ वर्षको साङ्गीतिक यात्रामा त्यो सपना पूरा भएको छ उनले भने । यद्यपि  यो कार्यक्रम केवल कन्सर्ट मात्र नभएर अस्तित्वको सवाल रहेको उनले बताए । 

स्वप्न सुमन (सुमन थापा) ले पनि विभिन्न खालका गीत गएर विशेषगरी पछिल्लो पुस्ताका युवाहरुलाई आनन्दित पारे । सुरुको एक घण्टा अवधिमा उपहार, क्रमशः, वाचा भयो, के सारहो राम्री भाको, जे छौ तिमी, आकाशैमा नौ लाखे तारा जस्ता गीत गाएर माहोल तताएका थिए । उनी पनि आफ्नो ब्यान्डका टोलीसहित बेलायत आएका हुन् ।

kandara4

कन्दरा र गायक स्वप्न सुमनको कन्सर्टपछि  ‘स्टुडियो ३३८’ मा राती ११ देखि बिहान ५ बजेसम्म ‘भान्जा भान्जी आफ्टर पार्टी’को आयोजना गरिएको थियो । कार्यक्रमको टाइटल स्पोन्सर व्यवसायी राज पाण्डेको राष्ट्रिय पोशाकघर युके थियो भने मिडिया पार्टनरमा नेपालीलिंक र भिडियो र फोटोग्राफीमा के के फिल्मस् एण्ड मिडिया थियो ।

इभेन्टलाई अन्य कयौँ कम्पनीले समेत प्रायोजन गरेका थिए । आङदोर्जे शेर्पा र सृजना गुरुङले कार्यक्रमको होस्ट गरेका थिए । विभिन्न क्षेत्रका १० युवाहरूद्वारा सञ्चालित मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले ‘इभेन्ट फर अल जेनेरेसन’ केन्द्रित उक्त कार्यक्रम भव्य रुपमा सफल भएको र भावी दिनमा यस्ता कार्यक्रम गर्ने हौसला मिलेको बताउँदै सबै क्षेत्रबाट सहयोग पुर्याउनेहरुप्रति आभार व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप