बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भाडादर समायोजन

२५ किलोमिटरभन्दा बढीको रुटमा बढ्यो सार्वजनिक सवारीको भाडादर, कुन रुटको कति ?

सोमबार, २२ पुस २०८१, १९ : २०
सोमबार, २२ पुस २०८१

काठमाडौँ । सरकारले १५ महिनापछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ ।

यातायात व्यवस्था विभागले सोमबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेको जानकारी दिएको हो । विभागका अनुसार २५ किलोमिटरभन्दा बढी दूरी भएका रुटको भाडादर वृद्धि भएको छ । यसैगरी दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ  ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.०५ प्रतिशतले वृद्धि गरिएको छ ।

डिलक्सले २० प्रतिशत बढी भाडा लिन पाउने

यसैगरी डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने विभागले जनाएको छ । यसमध्ये सुपर डिलक्सको सुविधा लिएका जुनसुकै यात्रुवाहक सवारी साधनले डिलक्सको भाडादरमा २० प्रतिशत थप गरी लिन सक्ने जनाइएको छ ।

तराईको लामो दूरी २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल सडकमा सञ्चालन हुने यात्रुवाहक बस र मिनिबसका लागि यसअघि प्रतिकिमि प्रतिव्यक्ति २.८४ रुपैयाँ कायम गरिएकामा अहिले २.९३ रुपैयाँ कायम गरिएको छ ।

२५ किलोमिटरदेखि २५० किलोमिटरसम्मको पक्की र ग्राभेल सडकमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि २.१ कायम गरिएकामा अब तीन रुपैयाँ कायम गरिएको छ । काठमाडौँ–पोखरा र पोखरा–नारायणघाट खण्डका लागि प्रतिव्यक्ति प्रतिकिलोमिटर ३.१४ रुपैयाँ रहेकामा अब ३.२४ कायम गरिएको छ ।

मालवाहक सवारीका हकमा तराई र पहाडतर्फ यसअघि क्रमशः ७.७२ र १४.६५ कायम गरिएकामा तराईमा ७.७२ र पहाडमा १४.७७ रुपैयाँले हुन आउने रकमलाई १० टनले हिसाब गरी भाडादर कायम गरिएको छ ।

विगतदेखि सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ र अन्य सूचकको अंश ६५ प्रतिशत पुग्दा सवारीको भाडादर निर्धारण हुँदै आएको छ ।

भाडा निर्धारणका विभिन्न १३ सूचकलाई आधार मानी २०७८ असार २७ गतेको मन्त्रीस्तरको सहमतिमा २०७८ असार २९ गते भाडादर समायोजन गरिएको थियो । त्यसपछि विभिन्न मितिमा इन्धनमा भएको ५ प्रतिशतको मूल्य घटी वा बढी हुँदा भाडादर समयोजन गरिँदै आएको थियो । पछिल्लो पटक २०८० साउन ३१ मा भाडादर समायोजन गरिएको थियो ।

त्यसयता पटक–पटक इन्धनको मूल्य घटबढ भयो । तर, भाडादर समायोजन हुन सकेको थिएन । गत असोजमा सरकार र यातायात व्यवसायीबिच भएको छलफलमा चाडपर्वपछि भाडादर समायोजन गर्ने सहमति भएको थियो । सोहीअनुसार सोमबार भाडादर समायोजन गरिएको यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातोपाटीलाई बताए ।

‘वर्षमा एकपटक चैत मसान्तमा भाडादर बढाउने तीन वर्षअघिको मन्त्रीस्तरीय निर्णय हो । तर, यो व्यवस्था लागू हुन सकेको थिएन,’ सिटौलाले भने, ‘२०८० चैतमा हुनुपर्ने भाडादर समायोजन अहिले भएको हो ।’ पुनः आगामी चैत मसान्तमा सार्वजनिक सवारीको भाडादर समायोजन हुने उनको भनाइ छ ।

विभागले यही पुस ११ गते भाडादर समायोजन गर्न मन्त्रीस्तरको निर्णयसमेत प्राप्त भएको जनाएको छ । साथै सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडादर कायम गरिएको हो ।

यातायात क्षेत्रका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायत मुख्य सूचकमा देखिएको मूल्यवृद्धिका आधारमा समायोजनका लागि मन्त्रीस्तरको निर्णय भएको विभागले जनाएको छ ।

यस्तो छ भारडादर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप