राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा
_MVv9DqkNa6.jpg)
काठमाडौँ । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण माघ १२ गते हुने भएको छ । प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनले राइट टु प्रोटिन हाफ म्याराथन हुन लागेको हो ।
हाफ म्याराथनमा महिला/पुरुषको हाफ म्याराथन, आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने जानकारी दिएको छ ।
राइट टु प्रोटिन म्याराथनमा करिब आठ हजार सङ्ख्यामा सहभागिता रहने आयोजकले जनाएको छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुङ्गिनेछ । सहभागिता र पुरस्कार राशिका हिसाबमा यस प्रतिस्पर्धा नेपालकै सबभन्दा ठुलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक डा.शितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए ।
पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् । पत्रकार सम्मेलनमा पनि उपस्थित धाविका सन्तोषीले खेल क्षेत्रसँग सम्बन्ध नभएको संस्थाले आयोजना गरेको म्याराथन उत्कृष्टमध्ये एक रहेको बताइन् । यस पल्ट पनि आफू खेल्ने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् । धाविका सन्तोषीले यस प्रोटिन म्याराथनले खेलाडीहरूलाई आकर्षित गरिरहेको बताइन् ।
आफूले अध्ययन गरिरहेको विषय डाइट एन्ड न्युट्रिसन रहेको र यस विषयमा आयोजकले सन्देश पनि दिइरहेकाले खेलाडीका लागि यो म्याराथन विशेष रहेको सन्तोषीको भनाइ छ । खेलाडीले पाउनुपर्ने पुरस्कार ढिला पाउने गरे पनि यस म्याराथन आयोजकले लगत्तै पुरस्कार दिने गरेको उनको भनाइ छ ।
आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौँले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । महिलामा पाँच किलोमिटरतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ । चौथोले १० हजार र पाँचौँले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।
विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियरतर्फ महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक संयोजक श्रेष्ठले जानकारी दिए । यस प्रतियोगिताका लागि नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब पाँच सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट