बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई बृहत्तर यौनिकता शिक्षा

अनुभव र अनुभूतिका मेरा दुई वर्ष

सोमबार, २२ पुस २०८१, १८ : २९
सोमबार, २२ पुस २०८१

म एक दृष्टिसम्बन्धी अपाङ्गता भएको व्यक्ति, आफूलाई युवा अपाङ्गताकर्मी भन्न रुचाउँछु । कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगु हुँदै काठमाडौँमा आएर मेरो विद्यालय शिक्षा सम्पन्न भयो । नेपाल सरकारले सञ्चालन गर्ने समाहित शिक्षा अन्तर्गत कक्षा १२ सम्मको शिक्षा आर्जन गरिसकेको छु । 

समाहित शिक्षामा अपाङ्गता भएका विद्यार्थी र अन्यलाई एकसाथ राखेर शिक्षा दिने गरिन्छ । काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिकास्थित पृथ्वीनारायण माविबाट मेरो स्कुले शिक्षा पूरा भएको हो । यहाँ रहँदा–बस्दा मजस्ता अन्य दृष्टिविहीन साथीसँग मेरो मित्रता भयो ।

सुरुवातमा मलाई अपाङ्गता आन्दोलन र यससँग जोडिएका सवालबारे त्यति जानकारी थिएन । आफू अपाङ्गता भएको व्यक्ति भए पनि मैले अपाङ्गतालाई राम्रोसँग बुझिसकेको थिइनँ । छात्रवासको सीमित घेरा र आफू अन्तर्मुखी स्वभावको भएको हुनाले मैले यो अभियान बुझ्न ढिला गरेँ जस्तो लाग्छ ।

जब मैले नेत्रहीन युवा सङ्घ नेपालबारे सुनेँ र त्यसमा आबद्ध भएँ, तब मैले कहिल्यै पछाडि फर्किनुपरेन । सन् २०१२ मा दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाद्वारा स्थापित यो संस्था नेपालका सातै प्रदेशमा सङ्गठित छ । नेपालका १० जिल्लामा शाखा विस्तार गरेको यस संस्थामा हाल करिब नौ सयभन्दा बढी दृष्टिसम्बन्धी अपाङ्गता भएका युवा आबद्ध छन् । अपाङ्गता भएका युवाको यौन तथा प्रजनन् स्वास्थ्यमा पहुँच, समावेशी शिक्षा, स्वरोजगार, नागरिक संलग्नता र राजनीतिक सहभागिताजस्ता अपाङ्गतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा यस संस्थाले निरन्तर कार्य गर्दै आइराखेको छ । अपाङ्गताभित्रको विविधतालाई केन्द्रबिन्दुमा राखी काम गर्नु यस संस्थाको मुख्य ध्येय हो । 

सन् २०२२ को अन्त्यतिर यस संस्थामा कार्यरत व्यक्तिहरुसँग मेरो परिचय भयो । उहाँहरू सबैले मलाई अपाङ्गता आन्दोलन र यससँग जोडिएका अन्य विविध पक्षमा जानकारी गराउनुभयो र संलग्न हुन प्रेरित पनि गर्नुभयो । त्यसै समयदेखि नै मेरो सिक्ने र यस अभियानमा काम गर्ने जगको बीजारोपण भएको हो ।

यौन तथा प्रजनन स्वास्थ्यबारे कक्षाहरू सञ्चालन गर्दा मैले सुरुमा विद्यार्थीमा केही अप्ठेरो र लाज महसुस गरेको अनुभूति गरेँ । जब मैले छलफल र प्रश्नोत्तरका निम्ति  खुला र सम्मानजनक वातावरण सिर्जना गर्न सक्षम भएँ, तब उनीहरूले आफूभित्रको लाज र अप्ठेरोपनलाई त्यागेर यौन तथा प्रजनन स्वास्थ्यसँग सरोकार राख्ने विषयमा विभिन्न प्रश्न सोध्न र अन्तरक्रिया गर्न थाले ।

सन् २०२३ देखि यस संस्थाले एउटा परियोजनामा काम गर्ने सुनौलो मौका पायो । नेदरल्यान्ड सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहायता प्राप्त गर्ने यस परियोजनाको नाम हो, ‘राइट हेअर राइट नाउ’ । विश्वका १० भन्दा बढी देशमा हाल यो परियोजना सञ्चालित छ । नेपालमा भने ६ वटा फरक उद्देश्य र क्षेत्रमा क्रियाशील संस्थाहरूको साझा गठबन्धनमा रहेर यस परियोजनाले आफ्ना गतिविधि अघि बढाइरहेको छ । २९ वर्षमुनिका युवाले स्थापना गरेको युवा संस्थाले नेपालमा यस परियोजनालाई नेतृत्व गरिरहेको छ । 
युवा र नेत्रहीन युवा सङ्घ नेपालसहित अन्य चारवटा संस्थाहरू यस परियोजनाको साझेदारका रूपमा फरक क्षेत्र र विधामा आफ्ना काम गर्दै आइरहेका छन् । तीन वर्षे अवधि रहेको यो परियोजना यसै वर्ष सकिँदै छ ।

सन् २०२३ को सुरुवातदेखि हाम्रो संस्थामा यो परियोजनाको कार्य प्रारम्भ भयो । अपाङ्गता भएका युवाको यौन तथा प्रजनन स्वास्थ्यमा पहुँच विस्तार गर्नु र बृहत्तर यौनिकता शिक्षाबारे जनचेतना अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य थियो । यसै परियोजनामा मैले ‘युवा च्याम्पियन’का रूपमा काम गर्ने अवसर पाएँ । 

‘युवा च्याम्पियन’ भनेको यस परियोजनामा आबद्ध हुने मजस्ता अन्य युवा साथीलाई विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्न दिइएको जिम्मेवारी हो । सुरुमा मजस्ता नवसिकारु र अन्य अवसरबाट वञ्चित युवा साथीलाई लक्षित गरेर आवेदन माग गरियो । आवेदनहरू प्राप्त भइसकेपछि अपाङ्गताको प्रकार र लैङ्गिक अनुपातलाई दृष्टिगत गर्दै म लगायत अन्य १४ साथीलाई तालिमका निम्ति छनोट गरियो । दृष्टिसम्बन्धी अपाङ्गता, शारीरिक अपाङ्गता, बहिरा अपाङ्गता भएका युवा र अटिजम एवं बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावक यस छनोटमा परेका थिए । 

सर्वप्रथम हामीलाई बृहत्तर यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यका विविध विषयमा पाँच दिवसीय तालिममा सहभागी गराइयो । त्यति मात्र नभएर वकालत र यसका लागि आवश्यक पर्ने सीपहरूमा पनि हामीलाई अभिमुखीकरण गराइएको थियो । अपाङ्गता समावेशी विकास र सचेतीकरण जस्ता विषय पनि हामीले सिक्ने मौका प्राप्त गरेका थियौँ । यस तालिमको मुख्य उद्देश्य भनेकै हामीलाई प्रशिक्षकका रूपमा विकास गरी माथि उल्लिखित विषयमा जनचेतना फैलाउन र तालिमका विभिन्न सत्र सहजीकरण गर्न समुदाय र विद्यालयमा परिचालित गर्नु थियो ।

यौन तथा  प्रजनन स्वास्थ्य मानव विकासको अभिन्न पक्ष भए पनि समाजले अझै यसलाई कलङ्क र छाडा विषयवस्तुका रूपमा चित्रित गर्ने गरेको छ । यस्ता कुरा खुलस्तसँग गर्न समाजले पूर्ण रूपमा निषेध गरेको छ । परिणामतः युवा र किशोर–किशोरी कैयौँ प्रजनन समस्या र हिंसाको मारमा पर्नुपरेको छ । बालविवाह लगायत अन्य थुप्रै गलत मूल्य–मान्यताका कारण थप यौन जटिलता र हैरानीहरू सामना गरिरहनुपरेको छ । अपाङ्गता भएका व्यक्तिले त झन् धेरै यस्ता समस्या सामना गर्नुपर्छ । जसको लेखाजोखा गरी साध्यै छैन । पहुँचयुक्त सेवा र भौतिक पूर्वाधारको कमी, अपाङ्गता भएकै आधारमा गरिने विभेद, व्यक्तिगत आवश्यकता पूर्ति गर्ने सहायक सामग्रीमा पहुँचको कमी र कानुनी एवं नीतिगत अस्पष्टताका कारण अपाङ्गता भएका व्यक्तिले धेरै प्रजनन् स्वास्थ्य र सेवासम्बन्धी अथाह समस्यासँग पौँठेजोरी खेल्नुपर्ने अवस्था विद्यमान छ । यसका साथै अपाङ्गता भएका व्यक्तिले दिनानुदिन सामना गर्ने भौतिक अवरोध, सूचना तथा सञ्चारजन्य अवरोध, व्यवहारजन्य अवरोध र संस्थागत अवरोधका कारण थप कठिनाइ र जटिलताको सामना गर्नुपर्छ ।

मेरो विद्यार्थी जीवनको अनुभवबारे कुरा गर्नुपर्दा, किशोरावस्था र प्रजनन स्वास्थ्यको पाठ्यक्रमलाई अन्य विषयको तुलनामा कम महत्त्व दिइएको थियो । शिक्षकहरूले यस विषयको गहिराइमा पुगेर पढाउनु हुन्नथ्यो र यो विषयलाई महत्त्वहीन ठानेर छिटो सकाउन मात्र खोज्नुहुन्थ्यो । यो केवल मेरो अनुभव मात्र होइन, देशभरिका कैयौँ विद्यार्थीको जीवनसँग मेल खाने प्रसङ्ग हो । हामीमध्ये धेरैका लागि यौनिकता र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान साथीहरूसँगको अनौपचारिक छलफलको विषयवस्तु बन्थ्यो, जसमा धेरैजसो भ्रम र आधा सत्यहरू समावेश हुन्थे । सामाजिकीकरणको प्राथमिक निकायका रूपमा कहलिएको विद्यालयमा त यस्तो अवस्थासँग जुध्नुपर्छ भने हामीले सिक्ने र ज्ञान बटुल्ने कुरा परिकल्पनाको सिमानाभन्दा बाहिरै रहने भइहाल्यो । 

जब म ‘युवा च्याम्पियन’का रूपमा काम गर्न थालेँ, तब यस्ता समस्या र लाज अनि अप्ठेरा हराउन थाले । मैले खुलेर यौनबारे कुरा गर्न थालेँ र यसबारे आफ्नो समुदायमा जनचेतना पनि फैलाउन थालेँ । 

यौनको कुरा गर्न वञ्चित गर्ने हाम्रो समाजसामु निडर र खुलस्त भएर यस विषयमा चेतनाको संवाहक भएर अघि बढ्ने मौका मलाई प्राप्त भयो । यो दुई वर्षको अवधिमा मैले करिब दुई सयभन्दा बढी अपाङ्गता भएका विद्यार्थी र युवा साथीलाई तालिममार्फत यौन तथा प्रजनन स्वास्थ्य र यसका विविध आयामबारे सिक्ने र सिकाउने अवसर प्राप्त गरेँ । विद्यालयमा अध्ययनरत भाइबहिनीलाई आफूले भोग्नुपरेको जस्तो समस्या भोग्नुनपरोस् र यस विषयमा पर्याप्त जानकारी होस् भनेर मैले विशेष शिक्षा सञ्चालन गर्ने विद्यालयमा गएर यस दौरान करिब ३० भन्दा बढी तालिमका सत्रहरू सहजीकरण गरिसकेको छु । त्यति मात्र नभएर आफ्नो समुदायमा पनि यस्ता थुप्रै सत्र चलाइसकेको छु । 

यौन तथा प्रजनन स्वास्थ्यबारे कक्षाहरू सञ्चालन गर्दा मैले सुरुमा विद्यार्थीमा केही अप्ठेरो र लाज महसुस गरेको अनुभूति गरेँ । जब मैले छलफल र प्रश्नोत्तरका निम्ति  खुला र सम्मानजनक वातावरण सिर्जना गर्न सक्षम भएँ, तब उनीहरूले आफूभित्रको लाज र अप्ठेरोपनलाई त्यागेर यौन तथा प्रजनन स्वास्थ्यसँग सरोकार राख्ने विषयमा विभिन्न प्रश्न सोध्न र अन्तक्र्रिया गर्न थाले । मूलतः उनीहरूको जिज्ञासा जीवन उपयोगी सीप, लैङ्गिक भूमिका, लिङ्ग र लैङ्गिकताबिचको फरक, एलजीबीटीआईक्यूका मुद्दा, गर्भनिरोधका उपाय र अन्य विषयसम्म फैलिएको थियो । यथार्थपरक जानकारी प्राप्त गर्ने उनीहरूको चाहना र जिज्ञासा देखेर मलाई आफ्नो कार्यमा थप उत्प्रेरित भएर अघि बढ्न हौसला मिल्यो ।

विषयवस्तुको थप स्पष्टताका लागि संस्थाले दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई डेमो सामग्रीका रूपमा स्पर्शीय सामग्रीको व्यवस्था गरेको थियो । फलस्वरूप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले विभिन्न प्रजनन अङ्गको स्पर्श गर्ने मौका पाए । जहाँजहाँ हामीले यस्ता सत्र सञ्चालन गर्‍यौँ, युवा र विद्यार्थीबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पायौँ, यस्तो सिकाइ अवसरप्रति उनीहरूले हामीलाई कृतज्ञता प्रकट गरे । यस अनुभवले समग्र यौन तथा प्रजनन स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राख्न धेरै आवश्यक रहेको ठहरिन्छ ।

दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले विभिन्न प्रजनन अङ्गको स्पर्श गर्ने मौका पाए । जहाँजहाँ हामीले यस्ता सत्र सञ्चालन गर्‍यौँ, युवा र विद्यार्थीबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पायौँ, यस्तो सिकाइ अवसरप्रति उनीहरूले हामीलाई कृतज्ञता प्रकट गरे ।

यो अवसरले मलाई आफ्नो व्यक्तित्व विकास गर्न र धेरै विषयमा जानकार लिन मौका प्रदान गर्‍यो । भिडमा गएर बोल्ने, आफ्ना कुरा प्रस्टसँग राख्ने, वकालत गर्ने, सामूहिक कार्य गर्ने र अन्य थुप्रै संस्थागत कार्यसम्पादन गर्ने जीवन उपयोगी सीप सिक्ने मौका प्रदान गर्‍यो ।

यी दुई वर्षमा मैले धेरै कार्यशाला र गोष्ठीमा भाग लिने मौका पाएँ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सेमिनार र गोष्ठीहरूमा खुला छलफल र बहस गर्ने अवसर पनि जुर्‍यो । कुनै दस्ताबेज निर्माण गर्दा र नीतिमा काम गर्दा अपाङ्गताका धेरै मुद्दा तथा समस्यालाई केन्द्रबिन्दुमा राखेर गर्न सरोकारवाला पक्षलाई सल्लाह–सुझाव पनि दिइयो । अन्तर्राष्ट्रिय व्यक्तित्व, गैरसरकारी र सरकारी सङ्घ–संस्थाका प्रतिनिधिहरू, सरकारको उच्च ओहोदामा रहेर काम गर्ने व्यक्ति र नीति–निर्माता एवं विभिन्न मन्त्रालयका माननीय मन्त्रीज्यूहरूसँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्ने मौका पनि पाइयो । 

अन्त्यमा, पछिल्ला दुई वर्ष मेरो जीवनको महत्त्वपूर्ण यात्रा बन्यो । नेत्रहीन युवा सङ्घ नेपाल र ‘आरएचआएन’सँगको संलग्नताले मलाई अपाङ्गता अधिकार, यौन तथा प्रजनन स्वास्थ्य र समावेशी समाजको महत्त्व बुझ्नमा मद्दत गर्‍यो । मैले सिकेका कुरा र अनुभवले मलाई अझ बढी सक्रिय र समाज परिवर्तनका लागि काम गर्न प्रेरित गरेको छ । 
यस यात्राले मलाई मेरो उद्देश्यप्रति अझ दृढ र समर्पित बनाएको छ र म भविष्यमा सबैलाई समान अधिकार र अवसर दिलाउने अभियानमा लाग्नेछु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन रोकाया
मदन रोकाया
लेखकबाट थप