बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शेख हसिनासहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

सोमबार, २२ पुस २०८१, १८ : २६
सोमबार, २२ पुस २०८१

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना पक्राउ पर्ने भएकी छन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले शेख हसिनासहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

यसमा शेख हसिनाका पूर्वरक्षा सल्लाहकार मेजर जनरल रिटायर्ड तारिक अहमद सिद्दीकी र पूर्वप्रहरी महानिरीक्षक बेनजीर अहमद पनि सामेल छन् । वारेन्टहरू हत्या र जर्बजस्ती बेपत्ताको आरोपसँग सम्बन्धित दुईवटा मुद्दाहरूका हुन् ।

फेब्रुअरी १२ सम्म पेस गर्न आदेश

हसिनासहित ११ जनालाई पक्राउ गर्न अभियोजन पक्षले दायर गरेको दुई याचिकामा फैसला सुनाउने क्रममा आईसीटीका न्यायाधीश एमडी गुलाम मुर्तुजा मजुमदारको संयोजकत्वको  न्यायाधिकरणले यस्तो आदेश दिएको हो । बंगलादेशी मिडिया डेली स्टारमा छापिएको समाचारका अनुसार न्यायाधिकरणले शेख हसिनासहित १० जनालाई फेब्रुअरी १२ सम्ममा गिरफ्तार गरी पेस गर्न आदेश दिएको छ । ७७ वर्षीया शेख हसिना ५ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । जुलाई–अगस्टमा विद्यार्थी आन्दोलनका क्रममा हत्या गराएको आरोप हसिनामाथि लागेको छ । उनीविरुद्ध बंगलादेशमा पनि २२५ मुद्दा दायर भएका छन् ।

हसिनालाई सुपुर्दगी गर्न बंगलादेशले गरेको थियो अनुरोध

यसअघि भारतले पनि यस विषयमा बयान जारी गरेको थियो । शेख हसिनाको सुपुर्दगीका लागि बंगलादेशले भारतलाई अनुरोध गरेको भारतको विदेश मन्त्रालयले गत शुक्रबार बताएको थियो । अघिल्लो अक्टोबरमा, आईसीटीले हसिना र पूर्वमन्त्री र अधिकारीहरूसहित अवामी लिगका अन्य ४५ शीर्ष नेताहरू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । यी वारेन्टहरू जुलाई–अगस्टमा भएका विद्रोहका क्रममा भएका अपराधहरूको सम्बन्धमा पनि जारी गरिएको थियो । शेख हसिना र उनको पार्टीका धेरै सदस्यहरू विरुद्ध आईसीटीमा मानवता विरुद्धको अपराध र नरसंहारको ६० भन्दा बढी उजुरी परेका थिए ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण बंगलादेशको घरेलु युद्ध अपराध हेर्ने न्यायाधिकरण हो । बंगलादेश मुक्ति युद्धमा पाकिस्तानी सेना र तिनका सहयोगीहरूले १९७१ मा गरेको नरसंहारको अनुसन्धान र अभियोजन गर्न सन् २००९ मा यसको स्थापना भएको थियो ।

पक्राउ पर्लिन हसिना ?

यसपटक पनि हसिनालाई पक्राउ गर्न सकिएन भने उनले थुप्रै कानुनी कारबाही भोग्नुपर्ने हुनसक्नेछ । उनले जरिवाना तिर्नु पर्ने वा उनी पक्राउ नै पर्न सक्ने सम्भावना पनि छ । यसलाई अदालतको अवहेलना पनि मानिनेछ । न्यायाधिकरणले कानुन प्रवर्तन एजेन्सीहरूलाई कारबाही गर्न आदेश दिन सक्छ र अभियुक्तको सम्पत्ति जफत गर्ने र यात्रा प्रतिबन्ध लगाउने जस्ता कदमहरू चाल्न सक्छ ।

शेख हसिनाविरुद्ध पहिले नै यस्तो पक्राउ पुर्जी जारी भइसकेको छ । त्यसपछि बंगलादेश सरकारले शेख हसिनाको सुपुर्दगीका लागि भारतलाई राजपत्र पठाएको थियो । जसपछि अब आईसीटीले फेरि यो पक्राउ पुर्जी जारी गरेको छ । यसबारे भारतको आधिकारिक बयान भने आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप